आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रोमानियाले यो वर्ष २० हजार नेपालीलाई रोजगारीका लागि लैजाने

बिहीबार, २५ माघ २०८०, १७ : ११
बिहीबार, २५ माघ २०८०

काठमाडौँ । रोमानियाले यो वर्ष २० हजार नेपालीलाई वैदेशिक रोजगारीका लागि लैजाने भएको छ । सन् २०२४ का लागि विभिन्न क्षेत्रमा काम गर्नका लागि २० हजार नेपाली माग गरेको हो । 

हाल ६ हजार जनालाई रोजगारीका लागि आएका मागपत्रहरू प्रमाणीकरण हुन सकेका छैनन् । ती मागपत्रहरू प्रमाणीकरण गरिएसँगै यो वर्षभित्रमा २० हजार श्रमिकलाई रोजगारका लागि माग गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजिव पोखरेलले बताए ।

‘रोमानियाले सन् २०२४ मा २० हजार नेपाली लैजान्छौ भनेको छ । त्यसमा ६ हजार डिमाण्ड प्रमाणीकरण हुन नसकेर पेण्डिङमा छ’ प्रवक्ता पोखरेलले भने । नेपालले रोमानिया सरकारसँग श्रम समझदारी गरेको थियो । श्रम समझदारी गरेसँगै संस्थागत रूपमा नै २० हजार श्रमिक लैजाने प्रस्ताव रोमानिया सरकारले  गरेको हो ।

रोमानियासँग कूटनीतिक सम्बन्ध कायम भएको ५५ वर्ष पछि श्रम समझदारी भएको थियो । यूरोपेली मुलुक, रोमानिया नेपाली श्रमिकहरुका लागि आकर्षित र सुरक्षित श्रम गन्तव्यको रुपमा रहँदै आएको छ ।

समझदारीपछि महिला श्रमिकहरुलाई समेत लक्षित गरी सुरक्षित वैदेशिक रोजगारी लगायतका विषयलाई समेत प्राथमिकतामा राखेर आपसी सहकार्य गर्ने चाहना रोमानियाले राखेको थियो ।  दोहोरो करार, आधारभूत अंग्रेजी भाषाको ज्ञान तथा व्यवसायिक सीपजस्ता विषयहरुमा आपसी समन्वय र सहकार्यबाट समाधान र व्यवस्थापन गर्ने समेत सहमति कायम भएको थियो ।

हाल रोमानियामा नेपाली श्रमिकहरू व्यक्तिगत श्रम स्वीकृति लिएर जाने गरेका छन् । एजेण्टहरूलाई लाखौं रूपैयाँ तिरेर उनीहरू वैदेशिक रोजगारीका लागि रोमानिया जान बाध्य हुँदै आएका छन् ।  उक्त समझादारीपछि संस्थागत रूपमा नेपाली श्रमिकहरूलाई लैजान रोमानियाले प्रस्ताव गरेको हो । रोमानियाबाट आएको मागपत्रहरू प्रमाणीकरण हुन नसकेको प्रवक्ता पोखरेलले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप