मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

इमरान खानको दल विरोध प्रदर्शनको तयारीमा व्यस्त

गठबन्धन सरकार बनाउने तयारीमा नवाज शरिफ
आइतबार, २८ माघ २०८०, १६ : ५६
आइतबार, २८ माघ २०८०

इस्लामावाद । पाकिस्तानमा बिहीबार भएको निर्वाचनको नतिजा आइतबार आएको छ । कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि संसद् त्रिशंकु भएको छ । नतिजा सार्वजनिक गर्न ढिलाइ भइरहँदा कयौँ दलहरूले चुनावमा धाँधलीको अरोप लगाइरहेका छन् । यस्तोमा पूर्व प्रधानमन्त्री तथा चर्चित क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई)ले विरोध प्रदर्शनको तयारी गरिरहेको छ भने नवाज शरिफ गठबन्धनको सरकार बनाउने तयारीमा छन् ।

देशले भोगिरहेको चुनौती सम्बोधनका लागि शरिफले सबै दललाई मिलेर सरकार बनाउन अनुरोध गरेका थिए । उनको यो अभिव्यक्तिलाई पाकिस्तानी सेनाले पनि सभर्थन गरिरहेको छ । धोकाधडीको उजुरी परेपछि एउटा सिटमा नतिजा रोक्का भएको छ । बाँकी सबै ठाउँको नतिजा आइसकेको भइसकेको छ । इमरान खानको दल पीटीआई समर्थित उमेदवारहरुले राष्ट्रिय सभाका ९३ सिटमा जितेका छन् । ७४ सिटमा जित हात पारेको शरिफको दल पीएमएल–एन संसदको सबैभन्दा ठूलो दल बनेको छ । बिलवाल भुट्टोको दल पीपीपी र मटहिदा क्वामी मूभमेन्ट पाकिस्तान (एमक्यूए–पी)ले क्रमशः ५४ र १७ सिटमा जित हात पारकोे छ । अन्य साना दलले १२ सिटमा जितेका छन् ।

पीएमएल–एनले गठबन्धनको सरकार बनाउने तयारी गरिरहेको छ । शरिफले आफ्ना भाई शहबाज शरिफलाई पीपीपी र एमक्यूएमका वरिष्ठ नेताहरुसँग छलफलको जिम्मा दिएका थिए । आइतबार बिहानैदेखि शरिफको घरमा यी दुई दलका नेताहरुको चहलपहल देखिएको छ । आइतबार घन्टौं सम्मको छलफलपछि पीएमएल–एन र एमक्यूएमले आगामी सरकार मिलेर बनाउनेबारे सैद्धान्तिक सहमतिमा पुगेको शरिफको पार्टीले जारी गरेको विज्ञप्तिमा बताइएको छ ।  

आफूहरूले देश र जनताको हितमा मिलेर काम गर्ने विज्ञप्तिमा भनिएको छ । दुई दलबिच आधारभूत बिन्दुमा सहमति भएको बताइएको छ । यो बैठकमा एमक्यूएमका खलिद मकबूल सिद्दिकी, फारुक सत्तार, कमरान तेसोरी र मुस्तफा कमाल पनि सहभागी भएका थिए ।

इमरान खानको पार्टीले पनि सरकार गठन गर्ने दाबी गरिरहेको छ । तर पीएमएल वा पीपीपीसँग सहकार्य नगरी पीटीआईले सरकार बनाउन नसक्ने विश्लेषकहरूले बताइरहेका छन् । पीटीआई सम्बद्ध उमेदवारहरुसँग निर्वाचन भएको तीनदिभित्र पीटीआईमा आबद्ध हुने विकल्प छ । तर पार्टीले अन्तर पार्टी निर्वाचनमार्फत निर्वाचन  आयोगबाट चुनाव चिह्न फिर्ता लिनु पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप