मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

कृषि क्षेत्रको विकासबाटै देशको समृद्धि सम्भव: कृषिमन्त्री

मङ्गलबार, ०१ फागुन २०८०, १३ : २६
मङ्गलबार, ०१ फागुन २०८०

हेटौँडा । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले देशको आर्थिक समृद्धि कृषि क्षेत्रको विकासबाटै सम्भव रहेको बताएका छन् । खान कै लागि काम गर्नुपर्ने अवस्था रहेकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले बताए ।

मंगलबार हेटौँडा उपमहानगरपालिकाको ५५ औँ स्थापना दिवसको एक समारोहलाई सम्बोधन गर्दै मन्त्री भुसालले देशका उद्योगधन्दा बन्द हुनुमा आर्थिक तथा प्रशासनिकसँगै अन्य थुप्रै कारणहरू रहेको बताए । उक्त कारणहरूका विषयमा समीक्षासँगै कृषि उद्यमशीलता विकासमा अग्रसर हुनुपर्ने उनको भनाइ छ ।

देशको आर्थिक समृद्धि कृषिबाटै सम्भव रहेको छ । कृषि उत्पादन वृद्धि गरेर देशको आर्थिक समृद्धिमा योगदान गर्न र खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ,’ उनले भने, ‘बेमौसमी खेतीसँगै मत्स्यपालनमा १२ महिना नै उत्पादन गर्ने योजनामा अघि बढ्नुपर्छ । कृषि क्षेत्रको विकासमा आधुनिक प्रविधिको प्रयोग गर्नुपर्छ ।’

उनका अनुसार ३ तहका सरकारको समन्वयमा कृषि क्षेत्रमा प्रभावकारी ढङ्गबाट काम गर्नु पर्छ । सबै सरकारको योजना कृषि उत्पादन बढाउने योजना कार्यान्वयन तर्फ अग्रसर हुनुपर्ने उनको भनाइ छ । सरकारले पशुपन्छी जन्य उत्पादन तथा मासु निर्यात गरेर आर्थिक उपार्जनमा कृषकहरूलाई जोडिने गरी पशुपालनमा ठोस योजना बनाएर अघि बढेको उनले बताए । देश विकास र आर्थिक समृद्धिको मुख्य आधार कृषि भएकाले चीनसँग पशुपन्छी जन्य उत्पादन तथा मासु निर्यात गर्ने गरी सम्झौता गर्ने तयारी गरेको उनले बताए । कृषि औद्योगिकीकरणका लागि कृषिजन्य उद्योगको स्थापना र विकासमा सरकारले योजना बनाउनु पर्नेमा उनले जोड दिए ।

विगतका वर्षहरूमा भन्दा यस वर्ष ३ प्रतिशत भन्दा बढी धान उत्पादन भएको उनले बताए । आयात भन्दा पनि उत्पादनमा ध्यान दिन सके देशको अर्थतन्त्र बलियो बन्ने उनले विश्वास व्यक्त गरे । प्रत्येक दिन खरिद गरे खाने खाद्यान्न मात्र स्वदेशमा नै उत्पादन गर्न सके देशको आर्थिक पक्ष बलियो हुने उनले बताए । मल, औजारिकरण, आधुनिकीकरण रूपमा कृषि क्षेत्रलाई अघि बढाउन तीन तहकै सरकारको सहकार्य अनिवार्य रहेको मन्त्री भुसालको भनाइ छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप