बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

खाद्य स्टोरबाट २० लाख चोरेर ठमेलको डान्सबारमा ‘मस्ती’

२२ वर्षीय लोकसिंह कैलालीबाट पक्राउ
बिहीबार, ०३ फागुन २०८०, २० : ३३
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । कालिमाटीस्थित अमन खाद्य स्टोरमा २७ माघमा मध्यराति चोरी भएको कुरा भोलिपल्ट स्टोर संचालकले थाहा पाए । त्यसपछि उनले प्रहरीमा उजुरी गरे ।

बाराको गढीमाई घर भएका ४७ वर्षीय मनोज कुमार गुप्ताले संचालन गरेको खाद्य स्टोरबाट २० लाख रुपैयाँ नगद चोरी भएको हो । चोरीमा संलग्न आरोपमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ घर भएका लोकसिंह ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

२२ वर्षका ठगुन्नाले राति १२ बजेतिर सटर फुटाएर चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । खाद्य स्टोरको चेनगेट खुला देखेपछि ठगुन्ना साँझ ९ बजेतिर भित्र छिरेका हुन् । तर, राति १२ बजेसम्म उनी प्यासेजमा लुकेर बसे । मध्यरातमा सटर फुटाएर चोरेपछि उनी ठमेलतिर लागेको अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्,‘चोरेपछि कुलेश्वरमा गएर ज्याकेट परिवर्तन गरे अनि, ठमेल लागेको सिसिटिभी फुजेटलमा देखिन्छ ।’  

ठमेलमा उनले डान्सबार, क्याफे र होटलमा गएर ‘मस्ती’ गरेका छन् । माघ २८ मा आरोपी कैलाली तिर हानिए । कैलालीको गोदावरी नगरपालिका–२ पहाड लाइनस्थित न्यू सत्कार होटल रेष्टुरेन्ट र लजको कोठा नम्बर १२० बाट उनलाई पक्राउ गरिएको एसएसपी खत्रीले पत्रकार सम्मेलन गरेर जानकारी दिए ।

चोरेपछि पठाओ चढेर ठमेलमा गएका उनले सो रकम डान्सबार, क्याफे र होटलमा खर्च गरेको भेटिएको छ । भोलिपल्ट बस चढेर आरोपी कैलाली गएका हुन् । अनुसन्धानमा संलग्न एकजना अधिकृत भन्छन्,‘पैसा भएपछि बिलासी जीवन, ग्याजेट, किनमेल र डान्सिङमा खर्च गरेको भेटिएको छ ।’

आरोपी पटके चोर हुन् । उनीविरुद्ध प्रहरीले यसअघि महाराजगञ्ज र पोखरामा पनि चोरी मुद्दा चलाएका अपराध रेकर्डमा देखिएको छ । चोरेको मध्ये १२ लाख ९६ हजार रकम प्रहरीले बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप