बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय
केन्द्रीय समिति बैठक

महासमितिमा पेस हुने प्रस्तावमाथि कांग्रेसमा छलफल, केन्द्रीय सदस्यको सुझाव समेटिने

बिहीबार, ०३ फागुन २०८०, २० : ४७
बिहीबार, ०३ फागुन २०८०

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदनबारे छलफल भएको छ । बिहीबारको केन्द्रीय समिति बैठकमा  महासमिति बैठकमा प्रस्तुत गर्न तयार गरिएका प्रतिवेदनहरु छलफलका लागि प्रस्तुत गरिएको थियो ।

बैठकमा उपसभापति पूर्णबहादुर खड्काले पार्टीको नीति, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीति र महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उपसभापति खड्काको नीति प्रस्तावमा राजनीतिक, आर्थिक, समाजिक र परराष्ट्र नीति समेटिएको छ । नीति प्रस्तावमा उक्त विषयका वर्तमान चुनौती र समधानका लागि पार्टीको प्रतिवद्धता पनि उल्लेख गरिएको छ ।

महामन्त्री थापाको सांगठिनक प्रस्तावमा पार्टीको वर्तमान अवस्था, सांगठनिक गतिविधि, नेता कार्यकर्ताको मनोविज्ञान, निर्वाचनमा गठबन्धन गर्ने नीति, मिसनमा प्रस्टता, जिम्मेवारी र जवाफदेही, १५ औं महाधिवेशनको कार्यतालिका लगायतका विषय समेटिएको छ ।

यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव समकालीन समाज, युवामा छाएको निराशा, आक्रोश र त्यसको समाधानको उपायमाथि केन्द्रित छ ।

उक्त तीनवटा प्रस्तावमाथि छलफल सुरु भएको पार्टीका सूचना सञ्चार तथा प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बताए । बैठकमा देशको पछिल्लो आर्थिक अवस्थाको बारेमा अर्थमन्त्री एवम् पार्टीका प्रवक्त प्रकाशशरण महतले जानकारी गराएका थिए भने स्वास्थमन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य मन्त्रालयले गरेका कामबारे जानकारी गराएका थिए । केन्द्रीय समितिको अर्को बैठक शुक्रबार विहान ९ बजेबाट बस्ने विश्वकर्माले बताए ।

उनका अनुसार भोलिको बैठकमा पार्टीका केन्द्रीय सदस्यले नीति, सांगठनिक र समसामयिक राजनीतिक प्रस्तावमाथि सुझाव दिने छन् । शनिबार बस्ने केन्द्रीय समिति बैठकले केन्द्रीय सदस्यको सुझावलाई समेट्ने गरी तीनवटै प्रस्ताव महासमिति बैठकका लागि अनुमोदन गर्ने उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप