आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
कृषि

किसानले किन मन पराउँछन् हाइब्रिड जात ?

शनिबार, ०५ फागुन २०८०, ०९ : ४२
शनिबार, ०५ फागुन २०८०

काठमाडौँ । नेपालमा पछिल्लो समय कृषि बालीको बढी उत्पादन दिने बिउप्रति किसानको आकर्षण बढ्दो छ । स्थानीय तथा लोकल बिउको तुलनामा बढी उत्पादन दिने, छनौटको विकल्प धेरै हुने भएकाले हाइब्रिड जातको बिउप्रति किसानको आकर्षण बढेको हो ।

कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका–४ की किसान सन्जु चौधरीले स्थानीय बिउ नपाइने र बजारमा किनेको बिउले बढी उत्पादन दिने भएकाले हाइब्रिड जातको बिउ नै रोज्ने गरेको बताइन् । उनले गाउँघरमा विभिन्न संघसंस्थाले निःशुल्क बिउ दिने भएकाले स्थानीय जातको बिउ राख्न छोडेको सुनाइन् । ‘स्थानीय बिउ पाउनै छोड्यो, विभिन्न संघसंस्थाले विकासे जातका बिउ निःशुल्क दिने भएकाले स्थानीय जातको बिउ राख्न छाडियो,’ उनले भनिन्, ‘त्यस्ता बिउ एक वर्षमा लगाउने र अर्को वर्ष सोही बालीबाट बिउ राखे पनि नफल्ने हुनाले फेरि अर्को बिउ किन्नु पर्छ ।’

उनले हाइब्रिड जातको बिउ विभिन्न संघसंस्थामार्फत निःशुल्क पाइने भएकाले लोकल जात मासिएको सुनाइन् ।

किसानले बढी उत्पादन दिने बिउ खोज्ने गरे पनि स्थानीय जातमा हुने स्वाद हाइब्रिडमा नपाउने ललितपुरको महाङ्काल गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष विनोद चौलागाईंले सुनाए । ‘बढी उत्पादन दिने, छिटो उत्पादन हुने भएकाले विकासे जातप्रति किसानहरू आकर्षित पक्कै छन्, तर व्यावसायिक रूपमा राम्रो भए पनि खानाका लागि स्वादिलो हुँदैन र लामो समयसम्म त्यो बिउ प्रयोग हुँदैन,’ उनले भने, ‘कहिलेकाहीँ त्यस्ता बिउ प्रयोग गरेर उत्पादन नभएको पनि पाइएको छ ।’ त्यसैले स्थानीय जात लगाउनुपर्छ भन्ने चेत आउँदै गरेको  चौलागाईंले सुनाए ।

बालीको छनौट गर्न मिल्ने धेरै विकल्प हुने भएकाले किसानको रोजाइमा हाइब्रिड जात बढी परेको बिउ बिजन गुणस्तर नियन्त्रण केन्द्रकी बाली विकास अधिकृत रचना देवले बताइन् । उनका अनुसार हाइब्रिड बिउ बजारमा सजिलै पाउने, उत्पादन बढी हुने भएकाले किसानको आकर्षण बढेको उनले सुनाइन् । ‘धेरै थरीको हाइब्रिड बिउ लगाउन पाउने विकल्प छ, हाइब्रिड बिउ बजारमा छ्यापछ्याप्ती पाइन्छ, पहुँच सहज छ,’ उनले भनिन्, ‘सबै कुरा भएमा खेतीपातीको कुरा आउँछ, हाइब्रिड जातको उत्पादन पनि बढी हुन्छ, त्यसकारण किसानको आकर्षण हाइब्रिड बिउप्रति बढेको हो ।’

उनले स्थानीय जातको तुलनामा हाइब्रिड जातले बढी उत्पादन दिने उदाहरण दिँदै भनिन्, ‘जस्तो कि राम्रो खाले हाइब्रिड धानको उत्पादन ६ मेट्रिक टन प्रतिहेक्टर हुन्छ, तर रातो अनदि धान (स्थानीय जात) को उत्पादन ३.८४ मेट्रिक टन प्रतिहेक्टर छ ।’

हाइब्रिड जातको बिउ माग बढी भएकाले बाहिरबाट पनि आयात हुने गरेको छ । गत वर्ष सरकारी तथ्याङ्क अनुसार ५९ लाख ४६ हजार १६० किलो विभिन्न बालीको बिउ आयात भएको थियो । सो बिउ बराबर २ अर्ब ६४ करोड ४७  लाख रुपैयाँको बाहिरिएको थियो । ‘बाहिरबाट मकै, धान, घाँस र तरकारीको बिउ आयात हुन्छ,’ उनले भनिन्, ‘भारत, चीन, थाइल्याण्ड लगायत ठाउँबाट बिउ आयात हुने गरेको छ । ’

  • नेपालमा कहाँबाट आपूर्ति हुन्छ बिउ ?

नेपालमै विकास गरिने, बाहिरबाट आयात हुने र परम्परागत रूपमा खेती गर्दै आएका क्षेत्रबाट बिउको आपूर्ति हुँदै आएको छ । बाली विकास अधिकृत देवका अनुसार नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विभिन्न बालीको बिउ विकास गरी आपूर्ति हुँदै आएको छ । ‘नार्कले बालीको बिउ आफैँ विकास गर्दै आएको छ, बाहिरबाट पनि आयात गरिन्छ,’ उनले भनिन्, ‘हाम्रो परापूर्वकालबाट खेतीपाती गरिने स्थानीय जात पनि खेतीपातीको मुख्य स्रोत हो ।’

नेपालमा हालसम्म ७ सय ३७ वटा बिउ सूचीकृत भएको उनले बताइन् । ‘पछिल्लो पटक ८ वटा मकैको बिउ सूचीकृत गरिएसँगै नेपालमा विभिन्न बालीका ७ सय ३७ वटा बिउ सूचीकृत भएका छन्,’ उनले भनिन्, ‘सूचीकृत गरिएका बिउ हामीले विकास गरेको, आयातित र स्थानीय हुन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू
लेखकबाट थप