बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

१९ देशका सैनिक सम्मिलित ‘अभ्यास शान्ति प्रयास’ सुरु

मङ्गलबार, ०८ फागुन २०८०, १८ : १२
मङ्गलबार, ०८ फागुन २०८०

काठमाडौँ । शान्ति स्थापना सम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण सुरु भएको छ । मंगलबार जङ्गी अड्डा अगाडीको खेल मैदानमा आयोजित एक विशेष समारोहका बिच प्रधानमन्त्री पुष्पकमल दाहालले पानसमा बत्ती बालेर शुभारम्भ गरेका हुन् । 

अभ्यास आगामी फागुन २१ गतेसम्म श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन हुनेछ । अभ्यास शान्ति प्रयास-४ संयुक्त राज्य अमेरिकी सरकारको ग्लोब पिस अपरेसन ईनिसिएटिभ (जीपीओआई) को सहयोगमा नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा आयोजना हुन लागेको हो । 

3-001

नेपाल समेत १९ देशका ११२५ जनाको सहभागिता रहने अभ्यासको समुद्घाटनसँगै समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहभागी राष्ट्रहरूलाई अभ्यासमा सहभागिताको लागि धन्यवाद व्यक्त गर्दै संयुक्त राष्ट्रसंघका शान्ति स्थापना प्रयासहरूमा देखाएको समर्पण र प्रतिबद्धताको प्रशंसा गरे । उनले संयुक्त राष्ट्रसंघलाई शान्ति सैनिक र प्रहरी उपलब्ध गराउने देशहरूमा नेपाल अहिले शीर्ष स्थानमा रहेको र आवश्यक परेमा १० हजारसम्म फौज उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए । 

प्रधान सेनापति प्रभुराम शर्माले नेपालले सन् २००२, सन् २०१३ र सन् २०१७ मा यस अभ्यासका तीन वटा संस्करणहरू सञ्चालन गरिसकेको बताए । उनले संयुक्त राष्ट्रसंघको कार्यादेश अनुरूप विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रहरूमा शान्ति स्थापनार्थ खटिँदा शान्ति सैनिकहरूबिच एक आपसमा पारस्परिक सम्बन्ध तथा व्यावसायिकता अभिवृद्धि अभ्यास फलदायी हुने विश्वास व्यक्त गरे ।

अभ्यासमा बङ्गलादेश, फिँजी, घाना, इन्डोनेसिया, मलेसिया, मङ्गोलिया, नेपाल, श्रीलङ्का, थाइल्यान्ड, उरुग्वे, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, भियतनामका सैनिकहरू सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप