शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नगरसभा माग गर्दै राप्ती नगरपालिकामा तालाबन्दी

बुधबार, ०९ फागुन २०८०, २१ : २९
बुधबार, ०९ फागुन २०८०

चितवन । नगरसभा र कार्यपालिका बैठकको माग गर्दै चितवनको राप्ती नगरपालिकामा तालाबन्दी गरिएको छ । नगरसभा र र्कापालिका बैठकको माग गर्दै बुधबार नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले तालाबन्दी गरेका हुन् ।

उनीहरुले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । कार्यपालिका बैठक र हिउँदे नगरसभा नगरेका कारण तालाबन्दी गरिएको उनीहरुको आरोप छ । राप्ती नगरपालिका वडा नम्बर–४ का वडा अध्यक्ष केदार आचार्यका अनुसार जनप्रतिनिधिहरुले पटक पटक माग गर्दासमेत कार्यपालिका बैठक र नगरसभा नराखिएका कारण बाध्य भएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको हो । नगरपालिकाका मेयर शमशेर लामाले एकलौटी ढंगबाट काम कारबाही सञ्चालन गरिरहेको उनको आरोप छ ।

कार्यपालिका सदस्य र नगरसभाका सदस्यले मेयर लामालाई नगरसभा राख्न पटकपटक गरेको अनुरोधलाई अटेर गरी आफ्नै ढंगबाट अघि बढेकाले तालाबन्दी गरिएको उनको भनाई छ । मेयर लामा तानाशाही शैलीमा अघि बढेको उनले बताए ।

‘मेयर गठबन्धनको भोटबाट निर्वाचित भएका मेयरले एकलौटी ढंगबाट अघि बढ्न खोजेपछि तालाबन्दी गरिएको हो । मेयरले तोक आदेशका भरमा नगरपालिका चलाउन खोजेको र वडाहरुको अधिकार क्षेत्रमा समेत हस्तक्षेप गरी विकास निर्माणको काममा समेत प्रभाव पर्ने गरिरहनुभएको छ । हामीले पटक पटक सुझाव दिँदा समेत उनले सुन्ने र सुधार गर्ने तर्फ सोच्नुभएन’ उनले भने ।

मेयर लामाको कार्यशैली प्रति अधिकांश जनप्रतिनिधिको असन्तुष्टी रहेको उनको भनाई छ । ७१ जना जनप्रतिनिधि मध्ये ६५ जनाको उपस्थितीमा तालाबन्दी गरिएको उनले बताए । मेयर लामाले भने कार्यपालिकामा बहुमतको दम्भ देखाएका कारण बैठक नबोलाएको वडा अध्यक्ष आचार्यले बताए । पटक पटक अल्टिमेटम दिँदा पनि मेयर लामाले बेवास्ता गरेका कारण तालाबन्दी गरेर आन्दोलनमा उत्रनु परेको वडा अध्यक्ष आचार्यको भनाई छ ।

यता कांग्रेस र एमालेका जनप्रतिनिधिहरु आफूलाई असफल बनाउने प्रयत्नमा जुटेको मेयर लामाको आरोप छ । उनले कांग्रेस र एमालेका जनप्रतिनिधि मिलेर राजनीतिक प्रतिशोध साँधेको बताए । कांग्रेस–एमालेका जनप्रतिनिधिले अराजनीतिक गतिविधि बढाएको मेयर लामाको भनाई छ ।

मेयरको जिम्मेवारी र क्षेत्राधिकार मिच्ने, लेटरप्याडको दुरुपयोग गरेर उमेयरबाट काम गराउने तथा न्यायिक समितिमा खानीजन्य विषयको छलफल गराउने जस्ता गतिविधि भएको र त्यसलाई रोक्ने प्रयत्न गर्दा उहाँहरु एकजुट भएर आइलागेको उनले बताए ।

उनका अनुसार नगरका कामहरु नियमित भइरहेका छन् । कार्यपालिका बैठक र नगरसभा सञ्चालनको विषयमा वडा अध्यक्षहरुसँग बसेर सहमतिमा अघि बढ्ने प्रयासका विरुद्धमा अदालत सम्म जाने काम भएको उनले बताए । बैठक बोलाउँदा अदालत पुग्ने भएपछि कार्यपालिका बैठक र नगरसभाको औचित्य नरहेको उनको भनाई छ ।

‘मेयरले गरेन भन्ने देखाउन उहाँहरु एकजुट हुनुभएको छ । नगरपालिकाको नियमित कामहरु भएका छन् । विकास निर्माणको काम सहजै अघि बढेको छ । अन्य पालिका भन्दा राप्ती नगरपालिका विकास निर्माणको काममा सशक्त र बलियो बन्दै गएको र गत निर्वाचनमा राप्ती नगरपालिकामा एमालेको विरासत ढाल्न आफू सफल भएकाले त्यसको विरुद्धमा राजनीतिक प्रतिशोध साँध्ने काम भएको हो । कार्यपालिका र नगरसभाको विषयमा सहमति गरेर अघि बढ्न खोज्दा अदातल नै पुग्ने गतिविधि भएपछि त्यसको औचित्य देखिएन । त्यसैले नबोलाएको हो’ उनले भने ।

राप्तीमा विगत ८ महिनादेखि कार्यपालिका बैठक सञ्चालन हुन सकेको छैन भने नगरपालिकाको हिउँदे अधिवेशन समेत आह्वान गरिएको छैन । राप्तीमा मेयर लामा गठबन्धनको सहयोगमा एकीकृत समाजवादीबाट निर्वाचित भएका हुन् भने र उपप्रमुख नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । राप्तीमा २ जना वडा अध्यक्ष एकीकृत समाजवादीका रहेका छन् भने अन्य सबै कांग्रेस र एमालेका रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप