संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले लिनुपर्छ : उपसभापति खड्का
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने धारणा राखेका छन् ।
ललितपुरको गोदावरीमा पार्टीको महासमिति बैठकको समापन समारोहमा उनले कांग्रेसले अन्य राजनीतिक दललाई विश्वासमा लिएर संविधान जारी गरेको स्मरण गर्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने समय आएको बताए । संविधान जारी गर्ने बेला विभिन्न राजनीतिक दलहरूसँग गरेको प्रतिबद्धता बमोजिम संविधानलाई समयानुसार परिवर्तनशील दस्तावेजकारुपमा ग्रहण गरी संविधान संशोधनको नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो ।
“संविधान जारी गर्ने बेला सर्वसम्मति हुन नसकेको सत्य हो । संविधानमा सबैका सबै कुरा समेटिएका छैनन् । कतिपय क्षेत्र, वर्ग र समुदायका अधिकारका विषय छुटेका पनि छन्, कतिपय असन्तुष्टिहरू छन्”, उनले भने, “संविधान जारी भई कार्यान्वयनमा आएको आठ वर्ष बितेको छ । अब संविधान कार्यान्वयनका समीक्षा गर्दै आवश्यक संशोधनका लागि कांग्रेसले वातावरण बनाउनु आवश्यक छ ।” उनले अन्य राजनीतिक दललाई विश्वासमा लिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउन पहल लिनुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका खड्काले कांग्रेसका तर्फबाट वर्तमान मन्त्रिमण्डलमा सहभागी नौ मन्त्रीले पार्टीले शिर झुकाउनु पर्ने गलत काम नगरेको उल्लेख गरे । कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरिरहेका उनले सरकारमा रहेका नेताहरूले जनतालाई सेवा गरिरहेको बताए ।
“सभापतिज्यूले मलाई विश्वास गरेर मेरो नेतृत्वमा नौ जना साथीलाई सरकारमा पठाउनुभएको छ । आजका दिनसम्म हामीले जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ”, उनले भने, “म गर्वका साथ भन्नसक्छु हामीले जनता र पार्टीको शिर झुकाउनुपर्ने खालका कुनै पनि काम गरेका छैनौँ ।”
वर्तमान सरकार सुशासन स्थापनाका लागि प्रयासरत रहेको भन्दै उनले महासमिति बैठकमा मन्त्रीबारे प्राप्त टिप्पणी र सुझावलाई ध्यानमा राखेर अगाडि बढ्नेमा विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण