शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

इन्टर मियामीलाई एप्पल टिभीको सुझाव, ‘मेस्सीजस्तै अरु खेलाडी पनि भित्र्याऊ’

शुक्रबार, ११ फागुन २०८०, १२ : २३
शुक्रबार, ११ फागुन २०८०

काठमाडौँ । विश्व चर्चित एप्पल टिभीका वरिष्ठ उपाध्यक्ष एडी क्युले अर्जेन्टिनी स्टार लियोनल मेस्सीजस्तै प्रभावशाली खेलाडीहरू भित्र्याउन इन्टर मियामीलाई सुझाव दिएका छन् । एप्पल टिभीले पछिल्लो समय इन्टर मियामीसँग सहकार्य गर्दै आएको छ ।

अमेरिकी ब्यवसायीक लिग फुटबल मेजर लिग सकर (एमएलएस) को नयाँ सिजन सुरु भएलगत्तै एडी क्युले इन्टर मियामीलाई यस्तो सुझाव दिएका हुन् । एमएलएसको उद्घाटन खेल इन्टर मियामी र रियल साल्ट लेकबिच खेलिएको थियो ।

उक्त खेलमा इन्टर मियामीले रियल साल्ट लेकलाई २–० गोलले हराएको थियो । पहिलो खेलमा गोल नगरे पनि मेस्सीको प्रदर्शन उत्कृष्ट थियो । इन्टर मियामीका लागि रोबर्ट टेलर र डिएगो गोमेजले एक–एक गोल गरेका थिए ।

गोमेजलाई गोलका लागि मेस्सी र लुइस स्वारेजले सहयोग गरेका थिए । मेस्सीको खेलबाट निकै प्रभावित भएका एडी क्युले बढीभन्दा बढी दर्शक आकर्षित गर्न मेस्सीजस्तै प्रभावशाली खेलाडीको आवश्यकता रहेको बताए ।

‘इन्टर मियामीमा लियोनल मेस्सीजस्तै थप प्रभावशाली खेलाडीको आवश्यकता छ । मेस्सी आबद्ध भएपछि इन्टर मियामीमात्र होइन समग्र एमएलएस नै विश्वव्यापी रूपमा चर्चित बनेको छ । उनको खेलले ठुलो सङ्ख्यामा दर्शकलाई पनि मैदानमा तानेको छ । मेरो विचारमा इन्टर मियामीले मेस्सीजस्तै थप केही खेलाडी भित्राउनु आवश्यक छ,’ सञ्चारकर्मीसँगको कुराकानीमा एडी क्युले भनेका छन् ।

उनले एमएलएसका अन्य क्लबहरूलाई पनि मेस्सीजस्तै खेलाडी भित्राउन सुझाव दिएका छन् । गत समरमा इन्टर मियामीमा आबद्ध भएयता मेस्सीले क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनले इन्टर मियामीलाई लिग्स कपको उपाधि पनि चुमाएका छन् ।

सन् २०१८ मा स्थापना भएको क्लब इन्टर मियामीले जितेको यो पहिलो उपाधि पनि हो । मेस्सीले बार्सिलोनाका आफ्ना पूर्व सहकर्मी लुइस स्वारेजलाई इन्टर मियामीमा भित्राउन पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

इन्टर मियामीले एमएलएसमा आफ्नो दोस्रो खेल आइतबार साँझ लस एन्जल्स ग्यालेक्सीसँग खेल्ने कार्यक्रम रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप