सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौँमा डकैती गरेको आरोपमा ६ जना पक्राउ

सी–माला र मुगासहित डेढ करोडको डकैती
आइतबार, १३ फागुन २०८०, २० : २१
आइतबार, १३ फागुन २०८०

काठमाडौँ । काठमाडौँ उपत्यकामा डकैतीमा संलग्न आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भएका सोनाम थापा तामाङ, रसुवा घर भएका टाँसी तामाङ, महोत्तरी घर भएका अनन्तराज घिमिरे, भारतीय नागरिकहरू आमोल बालु फुके, देवासिस सावन्त र कार्तिक पाइका छन् ।

 आरोपीहरूले काठमाडौँको टोखा नगरपालिका–१ स्थित झोरबाट करिब १ करोड ५२ लाख बराबरको धनमाल डकैती गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्र सिंह राठौरले रातोपाटीलाई बताए ।

 माघ २५ मा उनीहरूले रसुवा र सिन्धुपाल्चोक घर भएका दुई जनाको साथबाट नगद, १८ तोला सुन, सी–माला, मुगामाला जडित सुनको घवा, आईफोन र मोटरसाइकल समेत लुटेर भागेका हुन् । चारवटा मोटरसाइकलमा आएको समूहले हतियार देखाएर ‘कराए ज्यान जान्छ’ भन्ने धम्की दिएर लुटेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी डिल बहादुर मल्ल नेतृत्वको टोलीले आरोपीहरूलाई रसुवा र काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो । प्रहरीले डकैती गरेको सुन र १९ लाख ५० हजार नगद बरामद गरेको छ ।

 आरोपीहरूमध्ये अनन्त राज घिमिरे, आमोल बालु फुके र देवासिस सावन्तले डाँका गरेर ल्याएको सुन खरिद गरेका हुन । कार्तिक पाईकाले डाँका गरेको सुन बेच्न सहयोग गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप