सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सभा

राष्ट्रिय सभा अध्यक्षमा सिटौलाको नामबाट प्रचण्ड ‘ब्याक’ नहुनेमा कांग्रेस विश्वस्त

बिहीबार, १७ फागुन २०८०, १९ : ५७
बिहीबार, १७ फागुन २०८०

काठमाडौँ । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस राष्ट्रिय सभा अध्यक्षमा कृष्णप्रसाद सिटौलालाई अगाडि बढाउने तयारीमा छ । फागुन २९ मा हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनका लागि सिटौलालाई गठबन्धनको साझा उम्मेदवार बनाउन कांग्रेसले तयारी थालेको हो ।

 कांग्रेसका शीर्ष नेताहरू आगामी केन्द्रीय समिति बैठक र राष्ट्रिय सभा अध्यक्षका विषयमा आन्तरिक छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार दिउँसो पाँच जना पदाधिकारीबिच छलफल भएको थियो । देउवासँगका छलफलमा उपसभापति र महामन्त्री सहभागी थिए । छलफलमा सभापति देउवा राष्ट्रिय सभाको अध्यक्ष कांग्रेसलाई दिन प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयार रहेकोमा ढुक्क देखिएका थिए ।

महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय सभा अध्यक्षका सन्दर्भमा पार्टीभित्र आन्तरिक छलफल सुरु भएको बताए । ‘पार्टी सभापति र हामीहरू छलफलमै छौँ । राष्ट्रिय सभा अध्यक्षको विषयले गठबन्धन नै तलमाथि हुने अवस्था छैन । राष्ट्रिय सभा निर्वाचनमा कोशी प्रदेशको परिणामले केही असर गरेको स्वाभाविक हो । गठबन्धनको एउटा उम्मेदवार हार्दै गर्दा गठबन्धनमा असन्तुष्टिको स्वर सुनिनु स्वाभाविक हो,’ उनी भन्छन् ।

उक्त विषय माओवादी केन्द्रभित्रको मात्र छलफल होइन नेपाली कांग्रेसको डकुमेन्टमा पनि उल्लेख गरिएको उनको भनाइ छ । ‘माओवादीको असन्तुष्टिलाई कांग्रेसको डकुमेन्टमा सम्बोधन गरेर संवादमार्फत अगाडि बढ्नुपर्ने भनेर हामीले भनेका छौँ,’ महामन्त्री शर्माले भने ।

महामन्त्री शर्माको समसामयिक राजनीतिक प्रतिवेदनमा कोशी प्रदेशमा ‘व्यक्तिगत स्तरमा बन्ने मनोगत धारणाको भड्काइले गठबन्धनमा प्रश्न उब्जिएको’ उल्लेख छ । माओवादीको असन्तुष्टि कांग्रेसभित्र पनि छलफल भइसकेको भन्दै अब संवादबाट समाधान खोज्नुपर्ने उनको भनाइ छ ।

राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवार दिने सत्तासीन माओवादी केन्द्रको स्थायी समिति बैठकको निर्णयलाई कांग्रेसले सामान्य ढंगले लिएको छ । गत माघ ११ को राष्ट्रिय सभा निर्वाचनअघि नै प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिटौलालाई अध्यक्ष बनाउने सहमति जनाएको कांग्रेस नेताहरूको दाबी छ ।

सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने विषय गठबन्धनको बैठकमा टिकट बाँडफाँटको समयमै टुङ्गिएको महामन्त्री गगन थापा बताउँछन् । ०७९ मा झापा— ३ मा प्रतिनिधिसभाको चुनाव हारेका सिटौलालाई राष्ट्रिय सभा अध्यक्षको रूपमा प्रस्तुत गरेर कांग्रेसले पार्टीभित्र अपवाद मानेर टिकट दिएको थियो । कांग्रेसबाट राष्ट्रिय सभामा १० जना उम्मेदवार बन्दा ०७९ मा निर्वाचन हारेर पनि टिकट पाउने सिटौलामा मात्र थिए ।

‘गठबन्धनको बैठकमा म पनि छु । राष्ट्रिय सभा अध्यक्षको विषय त्यही बेला टुङ्गिएको विषय हो । अध्यक्ष बन्ने भएपछि नै उहाँ चुनाव लड्न जानुभएको हो,’ उनी भन्छन्, ‘नत्र हामी प्रतिनिधिसभा हारेको मान्छेलाई राष्ट्रिय सभामा लड्न किन पटाउँथ्यौँ ? पार्टीले अपवाद मानेर टिकट दिएकै अध्यक्ष बन्ने भएर हो ।’



उनका अनुसार माओवादी र एकीकृत समाजवादी दुवैको तर्फबाट औपचारिक रूपमै कांग्रेस सिटौला राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार बन्दा व्यक्तित्वको कारणले  आफ्नो दाबी नरहने बताएका थिए ।  सिटौला बाहेकलाई कांग्रेसले अगाडि सार्दा माओवादीले आफ्नो दाबी रहने बताएको थियो  ।

नेता सिटौलाले पनि प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले ‘राष्ट्रिय सभाको नेतृत्व गरिदिनुस्’ भनेर राष्ट्रिय सभा निर्वाचनअघि उम्मेदवार बन्न प्रस्ताव राखेको बताउँछन् । राष्ट्रिय सभा सदस्यमा चुनाव लड्ने इच्छा नहुँदा पनि प्रचण्ड र देउवाको प्रस्तावपछि चुनावमा गएको सिटौला बताउँदै आएका छन् ।

माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले पनि सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने बचन प्रधानमन्त्री प्रचण्डले दिएको आफूहरूले सुनेको बताए । ‘सिटौलाजीलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने पार्टीको बैठकको निर्णय भएको छैन । तर, अध्यक्षजीले सहमति गरेको भन्ने हामीले पनि सुनेका छौँ ,’ उनले भने ।



पार्टीको स्थायी कमिटी बैठके राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको भन्दै अर्का निर्णय पनि स्थायी कमिटी बैठकबाट हुने पोखरेलको भनाइ छ ।  कांग्रेसका एक पदाधिकारीले सिटौलाको राष्ट्रपति बनाउन चाहेका प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष हुनबाट रोक्ने खेलामा नलाग्नेमा विश्वस्त छन् ।

‘राष्ट्रिय सभा अध्यक्ष सिटौलाजीलाई बनाउने सहमतिबाट प्रधानमन्त्रीजी ब्याक हुनुहुन्छ जस्तो लाग्दैन । उहाँ सिटौलालाई राष्ट्रपति नै बनाउन चाहनु हुन्थ्यो,’ ती पदाधिकारीले भने, ‘ त्यतिबेला सभापतिजी रामचन्द्र पौडेलको नामबाट ब्याक हुनु भएन । त्यसपछि प्रधानमन्त्रीजीले धेरै जोड गर्नुभएन । त्यसै अहिले सिटौलाजीलाई धोका दिनुहुन्न होला ।’

शान्ति प्रक्रियामा मध्यस्थकर्ताको भूमिका खेलेका सिटौलाप्रति माओवादी  प्रचण्डले सदाशयता रहेको देखिन्छ । २०७९ फागुन ९ मा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति देउवा वा कृष्णप्रसाद सिटौला मध्ये एकलाई राष्ट्रपतिमा अगाडि सार्न प्रस्ताव गरेका थिए । यी पृष्ठभूमिका आभारमा कांग्रेस नेताहरू माओवादीको संस्थागत निर्णय हुँदा पनि सिटौला राष्ट्रिय सभा अध्यक्ष हुनेमा विश्वस्त देखिन्छन् ।



माओवादी स्थायी कमिटीको बैठकको निर्णय नै गठबन्धनको अन्तिम निर्णय नभएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए । ‘माओवादी केन्द्रको स्थायी कमिटी बैठकको निर्णय गठबन्धनको अन्तिम निर्णय होइन । त्यो एक दलको निर्णय हो ,’ उनी भन्छन्, ‘अहिले नै कांग्रेसको उम्मेदवारलाई मान्ने निर्णय लिन उहाँहरूलाई पनि हतारो हुने भएकाले आफ्नो उम्मेदवार उठाउने कुरा गर्नुभएको होला ।’

अहिले माओवादी र कांग्रेसले एक्ला-एक्लै गरेको निर्णयले गठबन्धनमा प्रभाव  नपार्ने उनको भनाइ छ । कांग्रेसले पनि आफ्नो उम्मेदवार उठाउन प्रयत्न गर्ने र माओवादीले पनि गर्छ । तर, गठबन्धनको साझा उम्मेदवार नै हुन्छ  । राष्ट्रिय सभा अध्यक्षको विषयले गठबन्धनमा कुनै प्रभाव पार्दैन,’ विश्वकर्मा भन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप