सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ समीकरण

सुदूरपश्चिमको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको दाबी

सोमबार, २१ फागुन २०८०, ११ : ०५
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । कांग्रेस नेतृत्वको गठबन्धन तोडिएर एमालेसहित बनेको नयाँ गठबन्धनको बैठकमा सहभागी भएर नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरी बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकबाट बाहिरिँदै उनले आजै सानो मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका हुन् । 

तर, आज मन्त्रिपरिषद् पुनर्गठन हुँदा नागरिक उन्मुक्ति पार्टी भने सहभागी हुने सम्भावना नरहेको बताए । उनले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आफ्नो पार्टीको दाबी रहेको पनि उनले बताए ।

उनले भने, ‘नयाँ गठबन्धन जोडिने प्रयत्न हुँदैछ । कुनकुन दललाई गठबन्धनमा सामेल गराउने भन्ने विषयमा एक्लाएक्लै बोलाएर छलफल गर्ने प्रक्रिया जारी छ ।’ 

अध्यक्ष चौधरीले केन्द्रमा आफ्नो मन्त्री नै रहेको र केही प्रदेशहरूमा पनि पकड राम्रो रहेको उल्लेख गर्दै पार्टीको बैठक बसेर निर्णय सार्वजनिक गर्ने बताए । तर, उनले सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टी निर्णायक भएकैले पनि नयाँ बन्ने गठबन्धनमा नाउपाको महत्त्व रहने बताए । 

नयाँ बन्ने सत्ता समिकरणमा सहभागी हुने बताएका चौधरीले आफ्ना माग र मुद्दालाई सम्बोधन गराएर मात्र कदम अगाडि बढाउने जानकारी दिए ।  ‘अहिले जोडिने नयाँ सत्ता गठबन्धनप्रति हामी सकारात्मक छौँ । विगतमा हामीले पटक पटक धेरै कुराबाट धोका खाएका छौँ,धेरै कुराहरूमा हामीलाई समावेश गरिएको छैन । तर, अबको गठबन्धनमा हामी सामेल हुँदा आफ्ना धेरै माग मुद्दालाई सम्बोधन गराएर मात्र जान्छौँ’ चौधरीले भने ।

जनतामा अस्थिर राजनीतिका कारण चरम निराशा पैदा भएको उल्लेख गरेका उनले नयाँ बन्ने सरकार जनता र विकासमुखी हुनुपर्नेमा जोड दिए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप