बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

चौथो संस्करणको अभ्यास शान्ति प्रयास सम्पन्न

सोमबार, २१ फागुन २०८०, १८ : ४९
सोमबार, २१ फागुन २०८०

काठमाडौँ । पाँचखालको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सञ्चालित चौथो संस्करणको शान्ति स्थापना सम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयास-४ सोमबार समापन भएको छ । नेपाली सेना र संयुक्त राज्य अमेरिकी सेनाको सहकार्यमा आयोजित उक्त अभ्यास अमेरिकी सरकारको ग्लोबल पिस अपरेसन इनिसिएटिभको सहयोगमा सञ्चालन भएको थियो । 

समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रधान सेनापति प्रभुराम शर्माले अभ्यासमा सहभागीहरूले देखाएको उत्सुकता, समर्पण, लगनशीलता र परिश्रमले विश्व शान्ति स्थापना प्रयासमा सहभागी हुने संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरूका सैनिकहरू बिच आपसी सद्भाव, सहयोग र समन्वयमा वृद्धि भई शान्ति स्थापना कार्यमा निखार आउने विश्वास व्यक्त गरे । उनले द्वन्द्वग्रस्त मुलुकको जटिलता र विविध चुनौतीहरूको बाबजुद शान्ति सैनिकहरूको व्यावसायिकता, आपसी सम्बन्ध, पेसागत ज्ञान तथा मनोबल अभिवृद्धिमा यस अभ्यास सहयोगी हुने अपेक्षा गरिएको बताए ।

4

प्रधान सेनापतिले ठुलो महत्त्व राख्ने शान्ति स्थापना सम्बन्धी बहुराष्ट्रिय अभ्यास सफलता पूर्वक सञ्चालन गर्ने वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र सेन्टर अफ एक्सिलेन्सको रूपमा विकसित हुँदै गइरहेकोमा खुसी व्यक्त गरे । कार्यक्रममा अमेरिकी सेनाको प्रतिनिधित्व गर्दै मेजर जेनरल जेरे८ हेलविगले हालसम्म सञ्चालित सबै भन्दा ठुला शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय अभ्यासहरूमा पर्ने अभ्यास शान्ति प्रयास-४ वर्तमान विश्व परिवेशमा अति आवश्यक र सान्दर्भिक रहेको विचार व्यक्त गरे । 

गत फागुन ८ गतेबाट नेपाल सहित १८ राष्ट्रका ११२५ जना सैनिकहरूको सहभागितामा सञ्चालित अभ्यासमा शान्ति स्थापना मिसनमा शान्ति सैनिकले निर्वाह गर्नुपर्ने भूमिकामा आधारित गतिविधि समावेश गरिएका थिए ।  आज आयोजित समापन समारोहमा रक्षा सचिव किरणराज शर्मा, पूर्व प्रधान सेनापतिहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षकहरू, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, जनप्रतिनिधि, विभिन्न मिसनहरूमा फोर्स कमान्डर रहेका लगायत बहालवाला एवं अवकाश प्राप्त रथी तथा अधिकृत, विभिन्न कूटनीतिक नियोगमा कार्यरत सैनिक सहचारीहरू, अभ्यासमा सहभागी देशहरूका प्रतिनिधि  र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप