बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय
मन्त्रिपरिषद् पुनर्गठन

चौथो पटक मन्त्रीमण्डलमा वर्षमान पुनको ‘इन्ट्री’, पाए अर्थ मन्त्रालयको चाबी

बुधबार, २३ फागुन २०८०, १५ : १०
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता एवं सहमहासचिव वर्षमान पुन (अनन्त) ले चौथोपटक मन्त्रीमण्डमा  इन्ट्री मारेका छन् । यसअघि शान्ति तथा पुनर्निमार्ण मन्त्रालय, अर्थ मन्त्रालय र उर्जा, जलस्रोत एवं सिंचाई मन्त्रालयको नेतृत्व गरिसकेका पुनले चौथोपटक पुनः अर्थ मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएका हुन् । 

सोमबार नेपाली कांग्रेसको नेतृत्वको सत्ता गठबन्धन भाँडिएर नेकपा एमालेसहितको नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जसपा) को चार दलीय गठबन्धन बनेको हो । 

सोही गठबन्धनबाट मन्त्री तथा मन्त्रालय बाँडफाँडबाट सरकार नेतृत्वकर्ता माओवादीको कोटामा अर्थ मन्त्रालयसहित ५ वटा मन्त्रालय भागमा परेको छ । निकै रस्साकस्सीका बाबजुद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्थ मन्त्रालय आफ्नै पार्टीमा राख्न सफल भएका छन् । 

त्यसो त यसअघि कांग्रेससँगको सत्ता साझेदारीमा अर्थ मन्त्रालयको नेतृत्व अर्को पार्टीलाई दिँदा समस्या झेल्नुपरेको र गठबन्धन टुट्नुमा एउटा महत्त्वपूर्ण कारक यो पनि रहेको बताइएको छ । 

तथापि, एमालेसँग नयाँ सत्ता समीकरण बनेसँगै गृहसहित अर्थ मन्त्रालयमा दुवै पार्टीको दाबी रहेको थियो । गृह मन्त्रालयमा राजस्वमाले दाबी नछाडेपछि अर्थमा एमालेको दाबी रहेको थियो । 

यसअघि अर्थ मन्त्रालयको नेतृत्व सम्हालिसकेका एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई नै पुनः अर्थमा पठाउने तयारी एमालेको थियो । तर, यसअघि भोगेको समस्या अर्थ मन्त्रालय आफूसँगै राख्ने प्रधानमन्त्री प्रचण्डले अड्डी लिएपछि एमाले ब्याक हुन बाध्य भएको हो । 

यसको बदलामा एमालेले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा रघुविर महासेठलाई पठाउने भएको छ । महासेठले यसअघि नै सो मन्त्रालयको नेतृत्व गरिसकेका छन् । 

barshaman pun

मन्त्री पुनले कहिलेकहिले पाए अवसर ?

नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ मा भएको आम निर्वाचनबाट देशकै ठूलो दल बन्यो । कांग्रेसबाट राष्ट्रपति रामवरण यादव बने भने प्रधानमन्त्री प्रचण्ड बने । तर, राजनीतिक स्वार्थ नमिल्दा प्रधानमन्त्रीले राजीनामा दिए । त्यसपछि बनेको झलनाथ खनाल नेतृत्वको सरकारमा मन्त्री पुनले शान्ति तथा पुनर्निर्माण मन्त्रालयको नेतृत्व गर्ने अवसर पाए । तात्कालिन समयमा मन्त्री पुनले २०६७ फागुनदेखि २०६८ वैशाखसम्म जम्मा तीन महिनामात्र काम गर्न पाए ।

तर, लगत्तै झनाथ खनाल नेतृत्वको सरकार ढलेर पार्टीकै नेता बाबुराम भट्टराईको नेतृत्वमा सरकार गठन भयो । भट्टराई नेतृत्वको उक्त मन्त्रीमण्डलमा पुनले अर्थ मन्त्रालयको नेतृत्व गर्ने अवसर पाए । पुनले २०६८ भदौ १८ देखि २०७९ चैत १ गतेसम्म १९ महिना अर्थ मन्त्रालयको नेतृत्व गर्न पाएका थिए । 

सोही मन्त्रालयको नेतृत्व गर्ने अवसर फेरि एकपटक पुनलाई मिलेको छ ।

पछिल्लो पटक पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारको ऊर्जा, जलस्रोत एवम् सिँचाइ मन्त्रालयको नेतृत्व समेत गरिसकेका छन् । 

रोल्पा जिल्लाको जङ्कोट गाविस वडा नं. १ माडीचौरमा निम्न मध्यम वर्गीय मगर परिवारमा २०२८ जेठ १८ गते जन्मिएका पुनले औपचारिक शिक्षामा प्रथम श्रेणीमा आइएल पास गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप