शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदीप ज्ञवालीले भने– सत्ता गठबन्धन भत्काउने कांग्रेसको अनुचित प्रयास सफल हुँदैन

बुधबार, २३ फागुन २०८०, १७ : २५
बुधबार, २३ फागुन २०८०

काठमाडौँ । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धन भत्काउने नेपाली कांग्रेसको प्रयास सफल नहुने बताएका छन् ।  

उपमहासचिव ज्ञवालीले जसरी पनि सत्ता गठबन्धन बन्न नदिने कांग्रेसको प्रयास उचित नभएको पनि जिकिर गरे । सरकारबाट हट्न नपाउँदै जोजो बाटोमा भेटिन्छ, सबैलाई प्रधानमन्त्री प्रस्ताव गर्दै हिँड्ने काम कांग्रेसले गरिरहेको उल्लेख गर्दै उनले त्यो सत्ताबाट अप्रत्याशित रूपमा हट्नुपर्दा छटपटाहट मात्रै भएको बताए । 

बुधवार अपराह्न पार्टी मुख्यालय च्यासलमा न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै उपमहासचिव ज्ञवालीले कांग्रेस जिम्मेवार पार्टीको रूपमा भन्दा पनि प्रतिसोधको भावनाबाट चल्न खोजेको आरोप समेत लगाए । 

कांग्रेसले समानान्तर गठबन्धनको प्रयास गरिरहेका बेला उपमहासचिव ज्ञवालीले काँग्रेसलाई प्रतिपक्षमा रहेर सरकारको गतिविधिलाई ‘पर्ख र हेर’को नीति लिन पनि सुझाव दिए । उनले जनतामा छाएको निराशा र मुलुकको व्यवस्थामा आएको संकटलाई पार लगाउन पनि आफ्नो पार्टीले नयाँ गठबन्धनलाई पूरै कार्यकाल टिकाउन हरसम्भव प्रयास गर्ने पनि स्पष्ट पारे । अव यो विकल्प पनि कम भएको र प्रणाली समेत जोखिममा परेको कुरालाई ध्यानमा राखेर राजनीतिक दलहरूले पनि नयाँ सत्तारुढ गठबन्धनलाई टिकाउन काम गर्नेपर्ने उपमहासचिव ज्ञवालीको तर्क थियो ।

उनले भने, ‘हामी राजनीतिलाई सधैँभरि प्रयोगको एउटा मञ्च, देशलाई एउटा एक्सपेरिमेन्टको थलो बनाउन चाहँदैनौँ । मुलुकलाई चाहिएको स्थिरता हो । सरकारमा को रहन्छ, सरकारको नेतृत्वमा को रहन्छ, कुन पार्टीले कुन मन्त्रालय सम्हाल्छ ? साह्रै ठूलो कुरा होइन होला । यद्यपि नेतृत्वले कतातिर लैजाने भन्ने कुराले धेरै कुराहरु फरक पार्छ । तर, त्यो उद्देश्यसँग जोडिएन भने सरकारमा को छ, कसले नेतृत्व गरेको छ, कुन पोर्टपोलियो कसले सम्हालेको छ ? भन्ने कुराको खासै अर्थ हुँदो रहेनछ । अव नेपाली कांग्रेसमा एउटा छटपटी देखिन्छ । उहाँहरूमा एकखालको आवेग जस्तो कि सरकारबाट अप्रत्याशित रूपमा हट्नु परेपछि त्यो देखिन्छ । र यतिबेला नेपाली कांग्रेसका कतिपय मुभहरु चाहिँ प्रतिशोधबाट मुलुकको जिम्मेवारी पार्टीको हैसियतले होइन कि प्रतिसोधको भावनाबाट उहाँहरू चलेको हामी देख्छौं । अब संसदको अंक गणित यस्तो छ  कि अब जसरी पनि संयुक्त सरकार नै बन्ने हो । एउटा कुनै पार्टी विशेषको स्पष्ट बहुमत छैन । सय सिट पनि छैन सबभन्दा ठूलो पार्टी भन्नेको पनि । त्यसले गर्दांखेरी हामी विभिन्न शक्तिहरुसँग मिलेर अगाडि बढ्न बाध्य नै छौं । यो एउटा सिमाना हो । तर अस्ति सरकारबाट हट्ने र आज चाहिँ जोजो बाटोमा भेटिन्छ, सबैलाई प्रधानमन्त्री प्रस्ताव गर्दै जाने काँग्रेसको यो तरिका चाहिँ जिम्मेवार तरिका भएन । उहाँहरूले एक छिन वेट एण्ड वाच गर्नुपर्छ ।’

उपमहासचिव ज्ञवालीले गएको १४ महिना कांग्रेस प्रमुख दल रहेको गठबन्धन सरकारले मुलुकमा केही पनि गर्न नसकेको जिकिर गर्दै जनतामा छाएको निराशा र व्यवस्थामाथि आएको संकट समाधान हुने गरी सरकारको काम केन्द्रित हुने पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप