शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधान सेनापतिसँग यूथ एक्सचेन्ज प्रोग्राममा सहभागीहरूको भेट

बिहीबार, २४ फागुन २०८०, २० : ३७
बिहीबार, २४ फागुन २०८०

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मासँग नेपाल भ्रमणमा रहेका भारत, पाकिस्तान र माल्दिभ्सका नेसनल क्याडेट कर्पस् (एनसीसी) का प्रतिनिधिमण्डलहरूले शिष्टाचार भेटघाट गरेका छन् । संयुक्त रूपमा भएको भेटघाटका अवसरमा भ्रमण दलका सदस्यहरूले यूथ एक्सचेन्ज प्रोग्रामका दौरान नेपाल भ्रमण गर्ने अवसर प्राप्त गरेकोमा आभार प्रकट गरेका थिए । 

महाशिवरात्रि एवं नेपाली सेना दिवसको अवसर पारेर आयोजित यूथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुन नेपाल आएका मुलुकहरूका साथै भुटान र श्रीलङ्काका एनसीसी क्याडेटहरू विभिन्न गतिविधिहरूमा सहभागी हुनेछन् ।  वि.सं.२०२६ सालबाट राष्ट्रिय सेवा दल, नेपाल विभिन्न देशहरूमा सञ्चालित यूथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुँदै आएको छ । 

यस्तै वि.सं.२०५६ सालबाट नेपालमै यूथ एक्सचेन्ज प्रोग्राम आयोजना गर्न थालिएको छ । यस कार्यक्रम अन्तर्गत नेपालबाट हालसम्म भारत, श्रीलङ्का, बङ्गलादेश, भुटान, मालदिभ्स, पाकिस्तान, सिंगापुर लगायतका देशहरूमा राष्ट्रिय सेवा दलका क्याडेट छात्र छात्राहरूले भ्रमण गरिसकेका छन् ।

यसपटक नेपाल भ्रमणमा आएका विभिन्न देशका क्याडेटहरूले काठमाडौँ उपत्यका लगायत नेपालको पर्यटकीय एवं धार्मिक स्थलहरूको भ्रमण गर्ने कार्यक्रम रहेको छ । जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा बलाधिकृत रथी श्री अशोकराज सिग्देल उपस्थित थिए । त्यसैगरी रथी, राष्ट्रिय सेवा दल, नेपालका कार्यकारी महानिर्देशक लगायत यूथ एक्सचेन्ज प्रोग्राममा सहभागी देशहरूका छात्र छात्राहरूको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप