सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रलाई निरुत्साहित हुन नदिनु मेरो जिम्मा हो : अर्थमन्त्री

शुक्रबार, २५ फागुन २०८०, ११ : ३९
शुक्रबार, २५ फागुन २०८०

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुन (अनन्त) ले निजी क्षेत्रको मनोबल गिर्न नदिने प्रतिबद्धता जनाएका छन् । बधाई तथा कार्यकाल सफलताको कामना गर्न आएको नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार सिंहदरबारमा कुरा गर्दै मन्त्री पुनले उच्च मनोबलका साथ ढुक्क भएर लगानी गर्न व्यवसायीहरूलाई आग्रह गरे । 

अर्थतन्त्रका विद्यमान समस्या समाधानका लागि निजी क्षेत्र, सरकार र आम जनताबिच सहकार्य जरुरी रहेकामा जोड दिँदै उनले नीतिगत र व्यवहारिक सहजीकरणका लागि सरकार तत्पर रहेको प्रतिबद्धता समेत जनाए । 

धितोपत्र बजार, घरजग्गा कारोबार तथा सहकारीमा आएका समस्याका कारण निजी क्षेत्रका लगानीकर्ताको मनोबल गिरेको  उल्लेख गर्दै पुनले समस्या समाधानका लागि सरकारका तर्फबाट कुनै कसर बाँकी नराखिने विश्वास दिलाए । अर्थतन्त्रमा परेको दबाबको कारक आन्तरिक र बाह्य दुवै रहेको मन्त्री पुनको स्पष्टोक्ति थियो । 

२०७२ को महाभूकम्प र कोरोना महामारीपछि तङ्ग्रिँदै गरेको अर्थतन्त्र रुस–युक्रेन र इजरायल–हमास युद्धका कारण फेरि दबाबमा परेको चर्चा पुनले गरे ।

‘उद्योगी–व्यवसायी र समग्र निजी क्षेत्रलाई निरुत्साहित हुन दिन्न । यो मेरो जिम्मेवारी हो’ पुनले भने, ‘सरकारले निजी क्षेत्रको मनोबल उच्च बनाउने गरी नीतिगत व्यवस्था र व्यवहारिक सहजीकरण गर्छ । सरकार, निजी क्षेत्र र आम जनताको हातेमालोमा अर्थतन्त्रका समस्या समाधान भएर जान्छ भन्ने आत्मविश्वासका साथ १२ वर्षपछि दोस्रो पटक मन्त्रालयमा आएको छु ।’

पुनले कानुनको पूर्ण पालना गरेर व्यवसाय गर्न निजी क्षेत्रलाई अपिल गर्दै गल्ती नगर्ने कोही पनि सरकार र नियामक निकायसँग तर्सिनुपर्ने स्पष्ट गरे । तर, नियामक निकायले पनि सहजीकरण गर्नुपर्नेमा अनावश्यक समस्या सिर्जना गर्न नहुने उनको भनाइ थियो । एउटा सेक्टरका कसैले गल्ती गर्दैमा सो क्षेत्रका सबैलाई उत्तिकै दोषी देख्ने प्रवृत्ति समाजमा देखा पर्न थालेको चर्चा गर्दै पुनले सबै मिलेर त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए । 

‘एउटा राजनीतिज्ञले गल्ती गर्दा राजनीतिमा लागेका सबै खराब, एउटा व्यवसायीले गल्ती गर्दा व्यवसायी जति सबै खराब, सुरक्षा निकायको एउटा व्यक्तिले गल्ती गर्दा सिङ्गो सुरक्षा संयन्त्र नै खराब भन्ने जस्तो प्रवृत्ति समाजमा देखिन थालेको छ’, पुनले भने, ‘आफूमाथि सार्वजनिक रूपमा उठेका प्रश्नको जवाफ सबैले दिनुपर्छ । तर, कुनै एक जनाले गल्ती गर्दा पूरै सेक्टर नै गलत भन्ने प्रवृत्तिलाई सबै मिलेर निरुत्साहित गर्नुपर्छ ।’ 

‘पहिला सुन्न, अनि थुन्न’ भन्ने उद्योगी–व्यवसायीका मागमा आफ्नो समर्थन रहेको मन्त्री पुनले स्पष्ट गरे ।  राज्य नागरिकको अभिभावक भएकाले सबै नागरिकले आफू, परिवार र निजी सम्पत्तिको सुरक्षाको प्रत्याभूति गर्न पाउनुपर्नेमा आफू अडिग रहेको पनि पुनले बताए । राज्य जनताको अभिभावक भएकाले एउटा सेक्टरमा कसैले गल्ती गर्दैमा त्यस सेक्टरका सबैलाई ठिक पार्छु भनेर तर्साउन नमिल्ने उनको तर्क थियो ।

नेतृत्वको परीक्षण सङ्कटकै बेला हुने भन्दै उनले चुनौती सामना गर्न तत्पर भएरै अप्ठ्यारो समयमा आफूले मन्त्रालयको नेतृत्व सम्हालेको पनि बताए । 

पहिलोपटक सन् २००८ को विश्व आर्थिक मन्दीको प्रभाव कायमै रहेका बेला २०११ म आफू मन्त्री भएको र त्यतिखेरको आर्थिक संकट समाधानका लागि गरेका प्रयासहरूको अनुभवका आधारमा अर्थतन्त्रका विद्यमान संकट पार लगाउन सक्षम हुने विश्वास निजी क्षेत्रलाई उनले दिलाए ।

फरक प्रसङ्गमा पुनले राजनीतिक रूपले प्रधानमन्त्रीको कुर्सी कम्तीमा एक वर्षका लागि सुरक्षित भए पनि जनतामा आशा जगाउन र सुशासनको अभियानलाई निरन्तरता दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जोखिम मोलेर गठबन्धन परिवर्तन परेको उनको भनाइ थियो ।

‘पुरानो गठबन्धन कायम राख्दा पनि प्रधानमन्त्री कम्तीमा एक वर्षका लागि सुरक्षित हुनुहुन्थ्यो । कसैले पनि उहाँको कुर्सी हल्लाउन सक्ने अवस्था थिएन’, पुनले भने, ‘नतिजा आउने गरी आम जनतामा आशा जगाउनुपर्ने भएका कारण गठबन्धनमा परिवर्तन गरिएको हो । सरकार पक्कै पनि यसलाई अवसरका रूपमा बदल्न सफल हुनेछ’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप