शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

क्यालिफोर्नियाको पहिलो मुक्तिनाथ मन्दिरमा शिवलिङ्गको प्राणप्रतिष्ठा

मङ्गलबार, २९ फागुन २०८०, ०७ : १०
मङ्गलबार, २९ फागुन २०८०

क्यालिफोर्निया ।  अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको पहिलो मुक्तिनाथ मन्दिर परिसरमा  शिवलिङ्ग स्थापना गरी प्राणप्रतिष्ठा गरिएको छ।

मुक्तिनाथधाम मन्दिर परिसरमा लाख बत्ती बाल्ने, लघु रुद्री एवं रुद्राभिषेक कार्यक्रम सम्पन्न भयो । यस कार्यक्रममा अमेरिकामा रहेका हिन्दु सनातन धर्म मान्ने व्यक्ति र बौद्धमार्गीहरुको हजारौँको सङ्ख्यामा सहभागिता थियो ।

कार्यक्रम अपेक्षा गरिएभन्दा निकै उच्च स्तरमा सम्पन्न भएको विश्लेषण गर्दै मुक्तिनाथधाम संस्थापक समितिका अध्यक्ष अनिल पाण्डेले सहभागी तथा सहयोगी सबैलाई हार्दिक धन्यवाद व्यक्त गरे । ‘यहाँहरूको साथ, सहभागिता एवं अथाह उपस्थिति र यस संस्थाप्रति यहाहरुले देखाउनुभएको मायाको भित्रै दिलदेखि आभार व्यक्त गर्दछु’ एक सातादेखि मौन व्रत बसेर प्राणप्रतिष्ठापछि बोलेका अध्यक्ष पाण्डेले भने– 'हजारौँ  शुभचिन्तकहरूको सहयोग र सहभागिता विना नेपालीको धर्म, संस्कार र पहिचान अभिवृद्धि गर्ने यो पवित्र कार्य सम्भव हुने थिएन ।'  

'सम्पूर्ण बौद्ध तथा हिन्दुहरुको आस्थाको रुपमा स्थापना भएको मुक्तिनाथधाममा सम्पन्न महोत्सवमा सानफ्रान्सिस्को बेएरियाका तमाम नेपाली दाजुभाई दिदी वहिनीहरु लगायत टाढाटाढाबाट समेत सहभागी हुन आएका व्यक्तिको जति प्रशंसा गरे पनि थोरै हुन्छ', अध्यक्ष पाण्डे भन्छन्– 'सहयोग र सहभागिताले मुक्तिनाथधाम निर्माणका लागि हामीलाई थप उत्साही बनाएको छ र यसले हामीलाई अझ थप प्रतिबद्धताका साथ अगाडि बढेर बाँकी कार्यलाई पूर्णता दिन प्रेरणा मिलेको छ । हामीलाई यहाँहरूको यस्तै सहयोग र सद्भावको खाँचो छ ।'

यो सबै हिन्दु तथा बौद्ध धर्ममा विश्वास गर्नेहरूको साझा आस्थाको केन्द्र हो भन्ने कुरालाई हजारौँ व्यक्तिको सहभागिताले प्रस्ट अनुमोदन गरिदिएको अध्यक्ष पाण्डेको धारणा छ ।

MUKTI 9

त्यसैगरी महाशिवरात्रि पर्व, शिवलिंग प्राणप्रटिष्ठा एवं रुद्राभिषेक कार्यक्रमलाई सम्पन्न गर्न एघार दिनसम्म उपवास, जलाहार, निराहार लगायतका कठोर ब्रतगरी हिन्दु वैदिक परम्परा अनुसार भगवानको प्राण प्रतिष्ठा गर्ने महत्त्वपूर्ण कार्यमा सहभागी भएका कर्ताहरु मुक्तिनाथधामको इतिहासमा सदा स्मरणीय हुनुहुने अध्यक्षको धारणा छ ।

MUKTI 8

यसैगरी यस महाउत्सवलाई वैदिक परम्परा अनुसार सम्पन्न गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आफ्नो टिमका सम्पूर्ण सदस्यहरू, यसलाई सफल पार्न दिन रात परिवार नभनी अहोरात्र काम गर्नुहुने सम्पूर्ण गुरुहरूप्रति पनि अध्यक्ष पाण्डेले आभार प्रकट गरे। ‘विदेशी भूमिमा पनि गुरु पदमप्रसाद नेपालको नेतृत्वमा १६ जनाभन्दा बढी पुरोहितहरुको सहभागिता गराई इतिहास रच्न सफल गराई दिनुभएकोमा विनीत भावले धन्यवाद प्रकट गर्दछु’ पाण्डेले भने ।

MUKTI 4

'नर्दन क्यालिफोर्नियामा बसोबास गर्दैआएका आध्यात्मिक चेतनाका प्रतिमूर्तिहरुमा म आयोजक समितिका तर्फबाट सबैमा सप्रेम आभार प्रकट गर्दछु', अध्यक्ष पाण्डे भन्छन्, ‘छोटो समयमै विनापूर्वाधार  र तयारी आयोजना गरिएको प्रवासी भूमिको प्राण प्रतिष्ठाजस्तो गरिमामय कार्यमा पूर्ण दश रात मौन जलाहार र फलाहार उपवास बसी अनवरत जप, तप, ध्यान र योग साधनामा समर्पित हुने अवसरका लागि मेरा सहयात्री व्यवसायी साथीहरू, आत्मीय एवं पारिवारिक जनहरू, शुभेच्छुक सबैप्रति म अनुग्रिहित छु ।’

धार्मिक आस्थाका साथ जोडिएका मनलाई फुट्न नदिने प्रतिबद्धता अध्यक्ष पाण्डेले व्यक्त गरे ।

MUKTI 3MUKTI 2MUKTI  6

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप