सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायलमा मेनपावर व्यवसायीले समेत कामदार पठाउन पाउने

मङ्गलबार, २९ फागुन २०८०, १७ : ३९
मङ्गलबार, २९ फागुन २०८०

काठमाडौँ । इजरायलले मेनपावर व्यवसायीमार्फत समेत नेपाली कामदार लैजाने भएको छ । त्यसका लागि प्रक्रिया अगाडि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ ।

इजरालयमा हाल जी–टु–जी मार्फत (सरकार–सरकार) मात्रै नेपाली कामदार जाने गरेका थिए । अब भने मेनपावर व्यवसायीमार्फत समेत नेपाली श्रमिकहरू इजरायल जान पाउने भएका हुन् ।

इजरायलका कृषि, निर्माण, उत्पादनमूलक क्षेत्र लगायतमा मेनपावर व्यवसायीले नेपाली कामदार पठाउन पाउने भएका हुन् । यसअघि केयर गिभरमा सरकारले मार्फत कामदार पठाउँदै आएको थियो ।

कामदारको अभाव देखिएपछि इजरायले नेपालबाट १० हजार भन्दा बढी कामदार लैजाने प्रस्ताव पटक पटक गर्दै आएको थियो । सोही आधारमा पहिलो चरणमा ५ हजार भन्दा बढी नेपाली कामदार लैजान लागेको हो । त्यसका लागि मेनपावर व्यवसायीमार्फत डिमान्ड पठाउनेछ । र वैदेशिक रोजगार विभागले श्रम स्वीकृति दिनेछ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले मेनपावर व्यवसायी (बी–टु–बी) मार्फत कामदार पठाउन खुला गरिएको बताए ।

‘पहिला जी–टु–जी गरेर केयरगिभर पठाइरहेका थियौँ । अहिले इजरायलमा कामदारको अभाव भएर कृषि, उत्पादनमूलक, हस्पिटाटिली लगायतका क्षेत्रमा मान्छे लैजान्छु भन्यो । त्यही आधारमा नयाँ सेक्टरका लागि खुला गरिएको हो,’ प्रवक्ता पोखरेलले भने ।

वैदेशिक रोजगार ऐन, वैदेशिक रोजगार नियमावली अनुसार नै व्यवसायीहरूले इजरायलमा कामदार पठाउन पाउने प्रवक्ता पोखरेलको भनाइ छ ।

‘जि टु जी मार्फत कामदार पठाउन सरकारको प्रक्रिया निकै लामो हुन्छ । हामीलाई तत्कालै विभिन्न क्षेत्रमा कामदार चाहिएको छ । मेनपावर व्यवसायीमार्फत कामदार लैजाने बाटो खुला गरिगरिदिनुपर्‍यो भनेर इजरायलले पटक पटक अनुरोध आएको थियो । सोही आधारमा व्यवसायीलाई खुला गरिदिएका हौँ,’ प्रवक्ता पोखरेलले भने ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले सरकारले  केयरगिभर बाहेक अन्य क्षेत्रमा कामदार पठाउन बाटो खुला गरिदिएको बताए ।

नेपालबाट इजरायलले १० हजार जना लैजाने प्रस्ताव गरेको थियो । जसमा पहिलो चरणमा ५ देखि ६ हजारको हाराहारीमा कामदार पठाउने गरी व्यवसायीहरूले तयारी गरेका छन् ।

व्यवसायीका लागि खुला गरिएसँगै कृषि क्षेत्रमा २०० जनाको डिमान्ड आइसकेको छ । संघका अध्यक्ष राजेन्द्र भण्डारीले २०० जना कामदारका लागि डिमान्ड आइसकेको र वैदेशिक रोजगार विभागबाट पूर्व स्वीकृति समेत दिइसकेको बताए ।

मन्त्रालयले डिमान्ड आएपछि मात्रै खुला गरिने बताएको थियो । सोही आधारमा व्यवसायीहरूले डिमान्ड ल्याएपछि कामदार पठाउन खुला गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप