एडिबीका कन्ट्री डाइरेक्टरले भेटे अर्थमन्त्री, दुई जलविद्युत आयोजना अघि बढाउन पहल
काठमाडौँ । एसियाली विकास बैंक (एडिबी) का कन्ट्री डाइरेक्टर आर्नो कोशवाले अर्थमन्त्री वर्षमान पुनसँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा मंगलबार भएको भेटमा कोशवाले पुनको कार्यकालमा साझेदारी थप मजबुत हुने विश्वास व्यक्त गरे ।
त्यस क्रममा उनले एडिबीको लगानीमा निर्माण भएर पहिरोका कारण भत्किएको मेलम्ची खानेपानी आयोजनाको सुरुङको पुनः डिजाइनको काम करिब अन्तिम चरणमा पुगेको जानकारी दिए । यस्तै उनले विश्व बैंकसँगको वित्तीय साझेदारीमा एडिबीले निर्माण गर्न चाहेको जलासययुक्त दूधकोशी जलविद्युत आयोजना र माथिल्लो अरुण जलविद्युत आयोजनाको काम थाल्ने वातावरण बनाउने विश्वास व्यक्त गरे ।
जवाफमा मन्त्री पुनले प्रमुख विकास साझेदार एडिबीले नेपालका महत्त्वपूर्ण विकास आयोजनामा गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा समेत समझदारीपूर्ण सहकार्य हुने आशा व्यक्त गरे । आफू ऊर्जामन्त्री भएका बेला अघि बढेका दूधकोशी र माथिल्लो अरुण जलविद्युत आयोजनाको काम सकेसम्म छिटो अघि बढाउने प्रतिबद्धता उनले जनाए ।
२० वर्षपछि विश्व बैंक र एसियाली विकास बैंकले एकै आयोजनामा लगानी साझेदारी गर्ने गरी काम गर्न थालेकामा मन्त्री पुनले खुसी व्यक्त गरे । पुनले नेपालमा विकास बजेट कम खर्च हुने समस्या रहेको भन्दै त्यसमा सुधार गर्न खर्च गर्ने क्षमता र विकास खर्च गर्न सक्ने जनशक्ति विकास गर्ने गरी कार्ययोजना बनाएर काम गर्न लागेको जानकारी दिए ।
यस्तै मन्त्री पुनले युवा वर्ग लक्षित रोजगारीका कार्यक्रम तथा निजी क्षेत्र र आमजनतामा आशा जगाउने गरी काम गर्ने उल्लेख गरे । मन्त्री पुनले नेपालमा लगानी बढाउन पनि एडिबीलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घुमुवा प्रहरी हुँ भन्दै रकम असुल्ने एक जना व्यक्ति पक्राउ
-
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
-
'बेहुली'को पहिलो गीत 'दिलमा ठाउँ छ'मा पारस र दिव्याको नृत्य
-
हुथीको धम्कीबिच साउदी तेल बोकेका ट्याङ्करले गरे बाब अल–मन्देब स्ट्रेट पार
-
यी हुन् उच्च कोलेस्ट्रोलका ७ लक्षण
-
सुन्न र बोल्न नसके पनि बनाउँछन् सुन्दर गहना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण