शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा १ वर्षमा ६३ जना नयाँ कुष्ठ रोगी, मधेस प्रदेशका ८ जिल्लामा सर्लाही पहिलो नम्बरमा

बिहीबार, ०१ चैत २०८०, ०७ : २०
बिहीबार, ०१ चैत २०८०

बारा । बारा जिल्लामा १ वर्षको अवधिमा ६३ जना नयाँ कुष्ठ रोगी फेला परेका छन् ।  २०७९ साउनदेखि २०८० असारसम्ममा जिल्लाको १६ वटा पालिकामा ६३ जना नयाँ कुष्ठ रोगी फेला परेका हुन् । 

जसमध्ये पचरौता नगरपालिकामा ९ जना, कलैया उपमहानगर र कोल्हवी नगरपालिकामा ८-८ जना, आदर्श कोतवाल गाउँपालिकामा ६ जना, जीतपुर सिमरामा ५ जना रहेका छन् । जिल्लाका अन्य पालिकामा भने नयाँ थपिएका बिरामी सङ्ख्या ५ जना भन्दा कम रहेको छ । 

यो तथ्यांक मधेस प्रदेशका ८ जिल्ला मध्ये चौथो स्थानमा पर्दछ  ।  प्रति १० हजारमा रौतहटमा १ दशमलव ७५ जना, पर्सा जिल्लामा १ दशमलव ७१ जना, धनुषामा १ दशमलव ५५ जना, बारामा १ दशमलव ४६ जना, सिराहामा १ दशमलव ४१ जना, महोत्तरीमा १ दशमलव २० जना, सर्लाहीमा १ दशमलव १३ जना रहेका छन् । सबैभन्दा कम सप्तरी जिल्लामा प्रति १० हजार जनसङ्ख्यामा १ जना भन्दा कम अर्थात  ० दशमलव ७५ जनामा कुष्ठरोगको सङ्क्रमण देखिएको छ । 

‘द लिप्रोसी मिसन नेपाल’ ले सिमरामा आयोजना गरेको एक कार्यक्रममा सो तथ्यांक सार्वजनिक गरेको हो । द लिप्रोसी मिसनले सार्वजनिक गरेको तथ्यांकमा देशभरका ७ वटा प्रदेश मध्ये मधेस प्रदेश पहिलो नम्बरमा रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेश दोस्रो र तेस्रो स्थानमा रहेका छन् ।आर्थिक वर्ष २०७९–०८० का तथ्यांक अनुसार देशभर कुष्ठ रोगीको सङ्ख्या २ हजार ५ सय २२ रहेको छ । 

k4

विगतमा कुष्ठ रोगी भन्ने बित्तिकै तराईतिर जङ्गलमा लगेर छोड्दिने प्रचलन भए पनि पछिल्लो समय सरकारले यो रोगको सम्पूर्ण उपचार निःशुल्क गर्न थालेपछि कुष्ठरोगका सङ्क्रमितहरू अस्पतालसम्म आउने गरेको लेप्रोसी मिसन नेपालका प्राविधिक डाक्टर प्रकाश पौडेलले बताएका छन् । 

‘पहिला भन्दा अहिले धेरै सुधारोन्मुख छ, यो रोग बिशेषगरी तराईतिर पिछडिएर रहेका मुसहर, माझी र दलित बस्तीहरूमा बढी देखिएको छ’ डा. पौडेलले भने । कुष्ठरोग रोगीले सास फेर्दा, बोल्दा, हाच्छिउँ गर्दा वा खोक्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्दछ । 

श्वासप्रश्वासको माध्यमबाट सर्ने यो रोग लागेमा मानिसलाई अङ्गभङ्ग बनाइदिन्छ । शरीरका विभिन्न भागमा नचिलाउने खालका लाटा फुस्रा दाग, धब्बा देखिएमा तुरुन्त स्वास्थ्य संस्था जाँच गर्न डाक्टर पौडेलले सबैमा अनुरोध गरेका छन् ।

छालामा रातो वा फुस्रो रङ्गको दाग देखा परेमा , अनुहारको छाला र कानको लोती बाक्लो र चम्किलो देखिएमा, शरीरका विभिन्न भागमा गिर्खा देखिएमा कुष्ठरोग शङ्का गर्न सकिन्छ । 

यस्तै आँखी भौँ झरेमा वा पातलो भएमा, हात खुट्टाका औँलाहरू बाङ्गो भएमा, हात खुट्टा लत्रिएमा , हत्केला वा पैतालामा नदुख्ने घाउ देखा परेमा, हत्केलाका मांसपेशीहरू सुकेर गएमा र नाक थेप्चो भएको आधारमा कुष्ठरोग लागेको भनी शङ्का गर्नुपर्ने डा. पौडेलले बताए ।

यो रोग एकव्यक्तिबाट अर्को व्यक्तिमा सरेको २ देखी ५ वर्षपछि मात्रै लक्षण देखा पर्दछ । यसको परीक्षण गरी  नियमित औषधी सेवन गर्दा अङ्गभङ्ग हुनबाट मानिसलाई जोगाउन सकिन्छ ।

माइकोब्याक्टेरियम लेप्रे र माइक्रोब्याक्टेरियम लेप्रोम्याटोसिस जीवाणु (ब्याक्टेरिया) को कारणले मानिसमा कुष्टरोग लाग्ने गर्दछ । सङ्क्रमण हुँदा सुरुसुरुमा कुनै लक्षण देखा पर्दैन तर यसको लक्षणहरूमा स्नायुहरू, श्वासप्रश्वास मार्ग, छाला, र आँखामा समस्या हुने गर्दछ । 

यो रोगको प्रारम्भिक वा जटिल अवस्था के छ चेकजाँच पश्चात् मात्रै ६ देखि २४ महिना औषधी सेवन गर्नु पर्ने डा. पौडेलको भनाई छ । कुष्ठरोगको औषधी सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । 

द लेप्रोसी मिसनले सञ्चारकर्मीहरूका लागि आयोजना गरेको अभिमुखी कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाराका अध्यक्ष रेशम तिवारी, पूर्व अध्यक्ष गुरु प्रसाद गौतम् , जिल्ला जनस्वास्थ्य कार्यालय बाराका कुष्ठरोग अधिकृत शम्भुलाल कर्ण र दि लेप्रोसी मिसन नेपालका जिल्ला सहजकर्ता रामहरि रेग्मी लगायतको सहभागिता थियो ।

k5

k11k3

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप