आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी जाँचबुझ प्रतिवेदन

भेप र ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीको ‘गम्भीर त्रुटि’

एसपीको सामु तयार गरिएको बयान कागज ‘गायब’ बनाइयो
शुक्रबार, ०२ चैत २०८०, १७ : ४४
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । ब्रेक प्याडमा लुकाएर हङकङबाट तस्करी गरिएको ६० किलो ७१६ ग्राम सुनको अनुसन्धानमा प्रहरीको गम्भीर त्रुटि देखिएको छ । यसैगरी  दुबईबाट इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर गरिएको सुन तस्करीको अनुसन्धानमा पनि उस्तै त्रुटि देखिएको 

 पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले निष्कर्ष निकालेको छ । 

 साढे ५ महिना लगाएर गरिएको  ४८५ पृष्ठ लामो जाँचबुझ प्रतिवेदन आयोगले बिहीबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई  बुझाइसकेको छ ।  ६० किलो सुन र  भेप मार्फत गरिएको सुन तस्करीसम्बन्धी दुवै अनुसन्धान  केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले  गरेको थियो । 

‘रेडी ट्रेड प्रालि’ले मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौँ ल्याएको सुन गत साउन ३ मा राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । भेपमा लुकाएर २०७९ पुस १० मा काठमाडौँ ल्याएको सुनबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालयको पत्रको आधारमा सीआईबीले अनुसन्धान गरेको थियो ।

तर अनुसन्धान गर्दा ब्युरो प्रमुख एआईजी किरण बज्राचार्य, एसपी सञ्जय सिंह थापा तथा डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहालले गम्भीर ‘त्रुटि’ गरेका हुन् । आयोगले बज्राचार्यसहित चारै जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ ।

६० किलो सुनमा जोडिएका तिब्बतीयन मूलका बेल्जियन नागरिक दावा छिरिङसँग निकट मानिएका जीवन चलाउनेलाई ब्युरोका ती अधिकारीहरुले संरक्षण गरेको आयोगको निष्कर्ष छ । दावा ठमेलस्थित होटेल भियानाका सञ्चालक पनि हुन् । होटेल भियाना उनकी पत्नी अमला रोकाको नाममा छ ।

दावासँग ‘कनेक्सन’ देखिएपछि जीवन चलाउनेलाई प्रहरीले महाराजगन्जस्थित केन्द्रीय अनुसन्धान ब्युरोको कार्यालयमा अनुसन्धानका लागि बोलाएको थियो । तर, ब्युरोका अधिकारीहरुले ‘बयान कागज’ गराएर उनलाई रिहा गरिदिए ।  चलाउनेले गरेको ‘बयान कागज’ नै सीआईबीका अधिकृहरुले गायब बनाएका छन् ।

जीवन चलाउने अछामको तुर्माखात गाउँपालिकाको तोषीका स्थानीय हुन् । ६० किलो सुनको अनुसन्धानको कमान्ड गरेका प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापाको अगाडि अनुसन्धान अधिकृतहरूले चलाउनेलाई बयान गराएका थिए । बयानमा दावालाई पनि अनुसन्धान अधिकृतहरूले सँगै राखेका हुन् । तर, सो ‘कागज’ जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा समावेश नै नगरेको पाइएको आयोगको प्रतिवेदनमा उल्लेख छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले चलाउनेलाई ६० किलोमा प्रतिवादी बनाएर अदालतमा अभियोग पत्र दायर गरेपनि बयान कागज ‘गायब’ हुनुमा आयोगको पदाधिकारीहरूले प्रश्न उठाएका छन् ।

सीआईबी परिसरबाट कागज गरेर हिँडेका चलाउनेबारे एआईजी बज्राचार्य र एसपी संजयसिंह थापाले आयोगसँगको बयानमा ‘अनभिज्ञता’ जनाए । पक्राउ गरेर थुनामा राख्नुपर्ने आरोपीलाई छाडेको र गलत नियत राखेर मिसिलमा बयान कागज संलग्न नगरेको आयोगले आफ्नो निष्कर्षमा उल्लेख गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

अनुसन्धानमा संलग्न डिएसपी दुर्गा दाहालले वाल्डो क्यासिनोका सञ्चालकसँग ‘शङ्कास्पद डिल’ गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद ६० किलो ७ सय १६ ग्राम सुन प्रकरणमा ‘वाल्डो क्यसिनो’ पनि जोडिएको छ । सुन तस्कर चिनियाँ ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ्ग वाल्डोमा खेल्न गइरहन्थे । पुचेङ्गलाई भदौ १ मा सीआईबीले पक्राउ गरेको थियो । सुन तस्करीमा संलग्न मुख्य योजनाकार मध्येका ‘एलेक्स’ ले वाल्डो क्यासिनोमार्फत अनधिकृत रूपमा रकम हङकङ पठाउने गरेको अनुसन्धानबाट थाहा भएको छ ।

छाया सेन्टरमा सञ्चालित वाल्डो मार्फत ‘हुन्डी कारोबार’को शैलीमा एलेक्सले सुनको रकम भुक्तानी गर्ने गरेको भेटिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोले वाल्डोको एकाउन्ट हेर्ने टेरेन्सलाई पनि बयान ‘कागज’ गराएर छाडेका हुन् । आयोगले टेरेन्सलाई मुद्दा चलाउनुपर्ने निष्कर्ष निकालेको छ । कारबाही सिफारिसमा परेकामध्ये डीएसपीद्वय कुँवर र दुर्गा दाहाललाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाएर कारबाही प्रक्रिया अघि बढाइएको छ । यस्तै सञ्जयसिंह थापालाई पनि नुवाकोट प्रहरी प्रमुखबाट हटाइएको छ भने बज्राचार्यको पनि जिम्मेवारी खोसिएको छ । 

७ जनालाई मुद्दा चलाउन सिफारिस

सीआईबीले बुझेका तर, मुद्दा नचलाएका ७ जनालाई आयोगले पूरक अभियोगमार्फत मुद्दा लैजान सिफारिस गरेको छ । पूर्व सभामुख कृष्ण बहादुर महरालाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । भेप प्रकरणमा उनलाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राहुलविरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो ।

आयोगले वाल्डो क्यासिनोको अकाउन्ट हेर्ने हङकङका नागरिक टेरेन्सलाई मुद्दा चलाउन सिफारिस गरेको छ । मन्जील श्रेष्ठ, अविनाश रावत र जीवन गुरुङलाई पनि मुद्दा चलाउन सिफारिस गरिएको छ । अविनाश

विमानस्थल भन्सार कार्यालयका अधिकृत विष्णु पौडेलेका चालक हुन् । उनले भेप मार्फत ल्याएको सुन बेच्न भूमिका खेलेको आरोप छ । जीवन गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् । गुरुङ १४ किलो सुन तस्करीमा संलग्न आरोपमा हाल थुनामा छन् ।

सुबु केसी र भिमकान्त भण्डारीलाई पनि मुद्दा चलाउनुपर्ने आयोगको निष्कर्ष छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन तस्करीमा सुबुको पनि ‘कनेक्सन’ देखिएको ठहर सहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।

केसी पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका साथी हुन् । ६० किलो सुनमा केसीको संलग्नता देखिएको आयोगको निष्कर्ष छ । बेल्जियन नागरिक दावा छिरिङको मोबाइलको फरेन्सिक जाँच गर्दा केसीको संलग्नता पुष्टि भएको आयोगको प्रतिवेदनमा उल्लेख गरिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

मुद्दा चलाउन सिफारिस गरिएका भिमकान्त भण्डारी विध ल्याबका सञ्चालक हुन् ।उनलाई ब्युरोले ‘बयान कागज’ गराएर छाडेको थियो ।भण्डारी र सुन तस्करीमा संलग्न तिब्बतीयन मूलका बेल्जियन नागरिक छिरिङसँग सम्पर्क देखिएको छ ।

 १० उच्च अधिकारीलाई विभागीय कारबाही

 जाँचबुझ आयोगले १० जना उच्च सरकारी अधिकृतहरूलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । सरकारी अधिकृतहरूले सुनको अनुसन्धान र अभियोजनमा ‘गम्भीर त्रुटि’ गरेको आयोगको निष्कर्ष छ ।

सीआईबीकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यलाई विभागीय कारबाहीको सिफारिस गरिएको छ । सहसचिवहरू झलकराम अधिकारी र अरुण पोखरेललाई विभागीय कारबाही गर्न सिफारिस गरिएको छ । अधिकारी हाल नेपाल ट्रस्टको कार्यालयमा कार्यरत छन् । ६० किलो सुन तस्करीमा संलग्न बेल्जियन नागरिक दावा छिरिङसँग सह–सचिव अधिकारीको ‘कनेक्सन’ देखिएको छ ।

अरुण पौडेल विमानस्थल भन्सार कार्यालयका तत्कालीन भन्सार प्रशासक हुन् । विमानस्थल भन्सारका उपसचिव श्रीधर टण्डन र मुक्ति श्रेष्ठलाई कारबाही गर्न भनिएको छ । उपसचिव श्रीधर टण्डन हाल त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा प्रमुख भन्सार अधिकृत पदमा कार्यरत छन् । मुक्ति श्रेष्ठ भन्सार विभागको निर्देशक हुन् । दुबईबाट भेपमा लुकाएर तस्करी गरिएको सुनको अनुसन्धानमा उनीहरूको त्रुटि देखिएको आयोगको ठहर छ । 

त्रुटिपूर्ण अभियोजन गरेको आरोपमा आयोगले दुई जना उपन्यायाधीवक्तालाई पनि विभागीय कारबाही गर्न सिफारिस गरेको छ । सरकारी वकिल कार्यालय काठमाडौँका महान्यायाधिवक्ता वासुदेव शर्मा र जनक घिमिरेलाई कारबाहीको सिफारिस भएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । उपन्यायाधीवक्ता घिमिरे अहिले महान्यायधिवक्ता कार्यालयमा र शर्मा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा कार्यरत छन् । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा उनीहरूले मुद्दा अभियोजन गरेका हुन् ।

गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप