आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

११ औँ महाधिवेशनमा १० लाख पार्टी सदस्य बनाउने एमालेको घोषणा

सदस्यता नवीकरणबारे १९ बुँदे निर्देशन जारी
आइतबार, ०४ चैत २०८०, १६ : २३
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । नेकपा एमालेले आगामी ११ औँ महाधिवेशनसम्म १० लाख पार्टी सदस्य बनाउने योजना अघि सारेको छ । हाल साढे पाँच लाख हाराहारी पार्टी सदस्य रहेको जनाएको एमालेले अबको ३ वर्षमा साढे चार लाख पार्टी सदस्य सङ्ख्या बढाउने गरी सदस्यता वितरण र नवीकरण गर्न एमालेले पार्टी कमिटीहरूलाई निर्देशन दिएको छ । तर सदस्यता नवीकरण गर्दा कसैले एकमुष्ट शुल्क लेबी तिरिदिने, सदस्यहरूको सूचीमा हेराफेरी गर्ने लगायतका अनुचित तरिका गरेको पाइए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

त्यसका लागि एमालेले सातै प्रदेश र ७७ वटै जिल्लामा पार्टी सदस्यता नवीकरण, विस्तार र  स्थानीय अधिवेशनहरू सुव्यवस्थित ढङ्गले समयमै गर्न परिपत्र जारी गरेको छ । महासचिव शङ्कर पोखरेलले हस्ताक्षर गरेर फागुन २८ गते सातै प्रदेश र जिल्ला कमिटीहरूलाई पठाएको परिपत्रमा  फागुन–चैतमा गरिने नियमित सदस्यता नवीकरणबारे पार्टीपंक्ति अझै अभ्यस्त नभइसकेको भन्दै तोकिएको प्रक्रिया पुरा गरी तोकिएको समयभित्र सदस्यता नवीकरण गर्न र  योग्यता पुगेकाहरूलाई नयाँ सदस्यता दिने प्रक्रिया अघि बढाउन भनिएको छ । साथै एमालेले आउँदो जेठ मसान्तभित्र सबै स्थानीय पार्टी कमिटीका अधिवेशनहरू सम्पन्न गर्न भनेको छ ।

एमालेको परिपत्रमा सदस्यता नवीकरणबारे १९ बुँदे निर्देशन दिएको छ । ‘सदस्यता नवीकरणको सवालमा अन्य दलमा भन्दा नेकपा (एमाले)मा पृथक् व्यवस्था छ । आउने नयाँ वर्षका लागि निरन्तरता दिन योग्य र सक्रिय पार्टी सदस्यहरूको सदस्यता नवीकरण विधानबमोजिम हरेक वर्ष फागुन–चैत्रमा हुने व्यवस्थामा सबैलाई अभ्यस्त गराउनैपर्छ’, एमालेको परिपत्रमा भनिएको छ ।

432917926_1200263267603277_8443935476291557876_n

431304198_949310670078499_283782530984160965_n

२०८१ सालको निमित्त यही फागुन–चैत महिनामा भइरहेको/हुने पार्टी सदस्यता नवीकरण कार्यमा विगतमा भएका कमीहरू दोहोरिन नदिई चैत मसान्तभित्र जसरी पनि सम्पन्न गर्न  प्रदेश कमिटी र जिल्ला कमिटीले मातहतको पार्टी पंक्तिलाई गम्भीरतापूर्वक निरन्तर सचेत पारिरहनुपर्ने पनि एमालेको परिपत्रमा उल्लेख छ ।

एमालेले सदस्यता नवीकरणका लागि निर्णय गरिएका सदस्यहरूको भौतिक उपस्थितिमा पार्टी नियमावलीको परिच्छेद– २ धारा – ५ को उपधारा (३) बमोजिम २०८१ चैत महिनासम्मको तोकिएको शुल्क लेबी लिएरमात्रै पार्टी सदस्यता नवीकरण गर्न पनि भनेको छ । ‘स्मरणीय छ – यसपटक पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्रत्येक सदस्यले अनिवार्य रूपमा एक सय रुपैयाँ थप सहयोग गर्नुपर्नेछ । पार्टीको केन्द्रीय कार्यालय भवन निर्माणमा थप सहयोग गर्न चाहनेका लागि अलगै व्यवस्था गरिनेछ’, एमालेको परिपत्रमा भनिएको छ ।

सदस्यता नवीकरणका सन्दर्भमा तोकिएको समय र स्थानमा उपस्थित हुन नसकेका योग्यतम सदस्यहरूलाई पुनः आमन्त्रण  गरेर पनि नवीकरण गराउन एमालेले भनेको छ । ‘त्यति गर्दा पनि सम्बन्धित सदस्यको कारणवश उपस्थिति हुनसकेन भने तोकिएका जिम्मेवार कमरेड घरमै पुगेर भौतिक उपस्थितिमै सदस्यता नवीकरण गर्नुपर्नेछ’, महासचिव पोखरेलले जारी गरेको परिपत्रमा भनिएको छ ।

एमालेले कुनै पनि सदस्यले चैत महिनाभित्र सदस्यता नवीकरण नगरेमा सो व्यक्ति आबद्ध पार्टी कमिटीबाट हटेको मान्ने भन्दै तोकिएबमोजिमको शुल्क र लेबी तिरेर प्रत्येक वर्ष नवीकरण गर्ने व्यवस्थालाई अनिवार्य भनेको छ ।

पार्टी सदस्यहरू पार्टी निर्माणका आधारस्तम्भ तथा निर्णायक शक्ति भएकाले सदस्यता वितरणको कामलाई खुकुलो बनाउनु हुँदैन । हाम्रो पार्टी जनाधारित कार्यकर्ता पार्टी भएका कारण पनि सदस्यको सङ्ख्यामा भन्दा गुणस्तरमा जोड दिनु झन् आवश्यक हुन गएको छ । एमालेले सदस्य हुनका लागि पार्टीको सिद्धान्त, कार्यक्रम र नीतिलाई मान्नुपर्ने, कमिटीमा संगठित भएर जिम्मेवारी बहन गर्नुपर्ने र आर्थिक दायित्व पुरा गर्नुपर्ने लेनिनले भनेका तीनवटा सर्त मान्नुपर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप