बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
नेसपा विभाजन

प्रधानमन्त्री प्रचण्डको फोन बाबुरामले नउठाएको महिन्द्र पक्षको दाबी

बाबुराम पक्ष भन्छ– सरासर झुट
आइतबार, ०४ चैत २०८०, २० : २८
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) गठन भएको एक वर्षमै विभाजन भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र र नेसपाका अध्यक्ष महिन्द्र राय यादव पक्षबिच पार्टी एकता गर्ने सहमति भएसँगै नेसपा विभाजन भएको हो ।

गत वर्ष असारमा जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएपछि साउनमा अध्यक्ष डा. बाबुराम भट्टराईको नेतृत्वमा नेसपा गठन भएको थियो । पार्टीमा महिन्द्र राय यादव पनि अध्यक्षकै हैसियतामा थिए । गत वर्ष मंसिरमा भएको निर्वाचनअघि माओवादी केन्द्रसँग एकता गर्ने सर्तसहित माओवादीकै चुनाव चिह्न लिएर नेसपाले निर्वाचनमा भाग लिएको थियो । तर निर्वाचनपछि पार्टी एकता गर्न बाबुरामले नचाहेको महिन्द्र पक्षको आरोप छ ।

यही मंसिर ६ गते बसेको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गर्दै बाबुरामकै नेतृत्वमा एकता समायोजन समिति गठन गरेको थियो । तर बाबुरामले पार्टी एकता गर्न नचाहेको आरोप लगाउँदै महिन्द्र पक्षले शनिबार एकता सम्बन्धी निर्णयमा हस्ताक्षर गरेको छ ।

बालुवाटारमा ४ बुँदे सहमति हुँदा बाबुराम भने गृहजिल्ला गोरखामा थिए । आफूलाई बाइपास गरेर पार्टी एकता गर्ने निर्णयप्रति उनी थप आक्रोशित भएका छन् । अग्रगामी वैकल्पिक शक्तिको रूपमा उदीयमान नेसपालाई राज्यसत्ताको आडमा दिनदहाडै अपहरण गर्ने दुष्प्रयास भएको बाबुरामको आरोप छ ।

आइतबार केन्द्रीय कार्यालय तीनकुनेमा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकले महिन्द्र पक्षका नेताहरूको जिम्मेवारी खोस्ने निर्णय गरेको छ । माओवादीसँग भएको एकता स्वतः खारेजभागी भएको निष्कर्ष बैठकले निकालेको छ । विद्यमान केन्द्रीय समितिलाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने निर्णयसमेत बैठकले गरेको छ । संगठन सुदृढीकरणका लागि देशभरि संगठन विस्तार गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेलले बताए ।

नेसपाले सांगठनिक सदृढीकरण र महाधिवेशनको तयारी सम्बन्धमा बैठक बोलाएको थियो । यद्यपि महिन्द्र पक्ष माओवादीसँग एकता प्रक्रियामा अगाडि बढेपछि कारबाहीको विषयमा निर्णय भएको पोखरेलले बताए । यता महिन्द्र पक्षका नेताहरू नेसपाको निर्णय हेरेर अगाडि बढ्ने तयारीमा छन् ।

‘अब कसरी अगाडि बढ्ने भन्नेमा आइतबार र सोमबारको निर्णय हेर्छौं । त्यसपछि अगाडि बढ्छौँ’, रातोपाटीसँग कुरा गर्दै अध्यक्ष महिन्द्रले भने ।

अहिले दुवै पक्षले आफूहरूसँग बहुमत रहेको दाबी गरेका छन् । यद्यपि कुन पक्षसँग बहुमत छ भन्ने विषयमा छिनोफानो गर्ने निकाय निर्वाचन आयोग भएकाले त्यहाँ निवेदन नपरेसम्म यकिन हुने अवस्था छैन । नेसपामा अहिले ९ जना पदाधिकारी, २४ जना कार्यकारिणी र १६७ जनाको केन्द्रीय समिति छ । दल गठनको बेला आयोगमा १८९ जना केन्द्रीय सदस्य अद्यावधिक भएको महासचिव एवं महिन्द्र पक्षका नेता रमेशले जानकारी दिए । तीमध्ये २२ जना अन्य पार्टीमा गएकाले अहिले आयोगमा १६७ जनाको अद्यावधिक रहेको उनले बताए ।

यस्तै आफूहरूको सल्लाहबिना बैठक बोलाएकाले बहिस्कार गरेको सहअध्यक्ष गंगा श्रेष्ठले बताए । ‘हामीले बाबुरामसहित एकता गर्ने भनेर मंसिरमै केन्द्रीय समितिबाट निर्णय भएको हो’, उनले भने, ‘बाबुरामजी एकता समायोज समितिका संयोेजक हुनुहुन्छ । तर समितिको बैठक बोलाउनु भएन । बैठकबाट कस्तो निर्णय आउँछ हेर्छौं । त्यसपछि अर्को स्टेप चाल्छौँ ।’

  • बालुवाटारबाट बाबुरामलाई प्रचण्डको फोन गरेको महिन्द्र पक्षको दाबी

१५ दिन पहिले पार्टी एकताको विषयमा छलफल गर्न चैत २ गते माओवादी केन्द्र र नेसपाबिच एकता समायोजन समितिको बैठक बस्ने सहमति भएको अध्यक्ष महिन्द्रको दाबी छ । तर २ गते माओवादीको स्थायी समिति बैठक भएकाले सोही दिन बैठक नबस्ने प्रचण्डले जानकारी गराएको उनले बताए । ३ गते बिहान ७ बजे बालुवाटारबाट प्रधानमन्त्रीको फोन आएपछि आफूहरू बैठकमा गएको उनले जानकारी दिए ।

बाबुरामलाई पनि प्रचण्डले फोन गरेको तर फोन नउठेको उनको दाबी छ । यद्यपि आफूले भने बाबुरामलाई फोन नगरेको उनले बताए । साथै समायोजन समितिको बैठक छल्न बाबुराम गृहजिल्ला गोरखा गएको उनको आरोप छ । तथापि बाबुरामसहितको बैठक बस्न आफूहरूले प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको उनी बताउँछन् ।

‘३ गते बिहान एकता समायोजन समितिको बैठक बस्न प्रधानमन्त्री प्रचण्डज्यूले फोन गरेपछि हामी बालुवाटार गएका हौँ । बैठकमा बाबुरामजीलाई पनि बोलाउन आग्रह गरेका थियौँ । तर उहाँले प्रधानमन्त्रीको फोन उठाउनुभएन । बालुवाटारमा हामीसँगै बसेको बेलासमेत बाबुरामजीलाई फोन गर्नुभयो । तर सम्पर्क भएन ।  एकता गर्ने पार्टीको निर्णय हो । यसमा उहाँको पनि सहमति छ’, महिन्द्रले दाबी गरे ।

सहअध्यक्ष गंगानारायण श्रेष्ठले शनिबार भएको सहमति कुनै गुटको सहमति नभई एकता समायोजन समितिबिच सहमति भएको दाबी गरे । बैठकमा आउन प्रचण्डले फोन गर्दासमेत बाबुराम नआएको उनको पनि दाबी छ ।

‘शनिबार बिहान प्रधानमन्त्री प्रचण्डजीले बोलाएपछि हामी बालुवाटार गएका हौँ । बैठकमा बाबुरामलाई पनि बोलाउन आग्रह गरेका थियौँ । प्रधानन्त्रीले फोन गर्दा उहाँले उठाउनुभएन । उहाँ नआएपछि एकता गर्ने सहमति गर्‍यौँ । यो कुनै गुटको नभई नेसपा र माओवादीबिच एकता समायोजन समितिबिच भएको सहमति हो’, श्रेष्ठले भने ।

तर महिन्द्र पक्षले लगाएको आरोप बाबुराम पक्षका नेताहरूले अस्वीकार गरेका छन् । केन्द्रीय कार्याकारिणी सदस्य एवं बाबुरामकी छोरी मानुषि यमिले प्रधानमन्त्रीले फोन गरेको भन्नु सरासर झुट भएको बताइन् ।

‘प्रधानमन्त्रीले फोन गरेको भन्नु उहाँहरूको सरासर झुट कुरा हो । बाबुराम भट्टराईलाई फोन आएको छैन । यसमा कुनै सत्यता छैन । यस्ता झुट कुरा नगर्न म आग्रह गर्छु’, यमिले भनिन् ।

यस विषयमा बैठकमा समेत कुरा उठेको तर प्रधानमन्त्रीले फोन नगरेको अध्यक्ष भट्टराईले जानकारी गराएको अर्का कार्यकारिणी सदस्य कृष्णप्रसाद शर्माले रातोपाटीलाई बताए ।

‘आजको दुनियाँमा ढाँटेर कुरा गर्न सकिन्न । उहाँले गरेको फोन डा. बाबुराम भट्टराईको मोबाइलमा मिसकल आएको वा कल भएको देखिनुपर्‍यो नि । हामीले यस विषयमा बैठकमा पनि कुरा उठाएका थियौँ’, बाबुरामको भनाइ उद्धृत गर्दै शर्माले भने, ‘चितवनमा भरतपुर महोत्सवको समयमा फोन गर्नुभएको थियो । त्यो बाहेक यता कुनै संवाद भएको छैन । यस्ता झुट कुरा गरेर भ्रममा पार्न कति दिन सकिन्छ ?’

महिन्द्र पक्षबाट बैठक बहिस्कार

अध्यक्ष बाबुरामले आफूहरूसँग कुनै सल्लाह नै नगरी कार्यकारिणी र केन्द्रीय समिति बैठक बोलाएको भन्दै महिन्द्र पक्षले बैठक बहिस्कार गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै आइतबार र सोमबार बस्ने बैठक बहिस्कार गर्ने निर्णय गरेको थियो ।

‘एक महिनाअघि केन्द्रीय समिति बैठक बस्यो, केही सरसल्लाह भएन । काम केही नगर्ने खाली बैठक मात्र भनेर हुँदैन । बैठक स्थगित गर्न हामीले आग्रह गर्‍यौँ । यो बैठकको कुनै आधिकारिकता हुँदैन र कुनै औचित्य पनि छैन भनेर हामीले जानकारी गराएका थियौँ । तर उहाँले मान्नुभएन’, अध्यक्ष महिन्द्रले भने ।

उनले पार्टीमा बहुमत आफूसँग भएको दाबी गरे । आफूसँग बहुमत रहेको देखाउनका लागि राजनीतिक रूपमा सङ्ख्या थपिए मान्य नहुने महिन्द्रले बताए । अध्यक्ष बाबुरामलाई ३५ वर्ष साथ दिएका गंगा नारायणले समेत आजित भएर साथ छोडेकाले अन्तिममा श्रीमती, छोरी–ज्वाईँबाहेक कोही साथ नहुने उनको जिकिर छ ।

एकता गर्ने पूर्वसहमतिबाट बाबुराम पछि हटेकाले आफूहरूले ४ बुँदे निर्णय गरेको महिन्द्रको तर्क छ । निर्वाचनको बेला बाबुरामले माओवादीसँग एकता गर्ने बचन दिएर मतदातालाई धोका दिएको उनको आरोप छ ।

‘चुनावताका बाबुरामले एकता हुन्छ, प्रचण्डलाई भोट दिनोस् भनेको भाषण अहिले पनि छ । एकताका कुरा बाबुरामले नै गरेका हुन् । म दिल्लीमा भएको बेला एकताका लागि माओवादीलाई ९ बुँदे पत्र पठाएका हुन् । अहिले पार्टी एकता गर्ने निर्णयबाट भागेर नैतिकता बाबुरामजीले गुमाउनुभयो । एकता समायोजनको संयोजक बन्नुभयो तर एकताका लागि किन पहल गर्नुभएन ?’, उनले प्रश्न गरे ।

समायोजन समिति बैठकमा माओवादीबाट अध्यक्ष प्रचण्डसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङ थिए । नेसपाबाट अध्यक्ष महिन्द्रसहित सहअध्यक्ष गंगा र महासचिव रमेश थिए ।

यस्तै दुवै पार्टीबिच एकता गर्ने सहमति भएको थियो भने एकीकृत पार्टीको नयाँ नाम आगामी एकता महाधिवेशनबाट टुङ्ग्याउने निर्णय भएको थियो । पार्टी  एकताका लागि वैचारिक एकरूपता, संगठनात्मक तयारी गर्न चार सदस्यीय कार्यदल गठन गरेको थियो । जसमा माओवादीबाट महासचिव गुरुङ र उपमहासचिव जनार्दन शर्मा छन् । नेसपाबाट सहअध्यक्ष गंगा र महासचिव रमेश छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप