बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नेपाली सिनेकर्मीलाई चाइनिज निर्देशकले दिए यस्ता सुझाव

सोमबार, ०५ चैत २०८०, १६ : ४५
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । चाइनिज फिल्म निर्देशक तथा प्रोफेसर सि फिले विश्व बजारलाई लक्षित गरी नेपाली फिल्म बनाउन नेपाली सिनेकर्मीहरुलाई सुझाव दिएका छन् । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको जुरी समेत रहेका फिले अन्तिम दिनो कुरा बताएका हुन् । 

चाइनिज फिल्म तथा आफ्नो निर्देशन यात्राका बारेमा बताउने क्रममा नेपालमा राम्रा सिनेमा बन्ने गरेको र यसलाई विश्व बजारसँग परिचित गराउनुपर्नेमा उनले जोड दिए । ‘म पहिलो पटक २०१५ नेपाल आएको थिएँ । त्यति बेलै पहिलो पटक फिल्म हेर्ने अवसर पाएँ,’ कालो पोथी, सेतो सूर्य जस्ता फिल्मको उदाहरण दिँदै उनले भने, ‘नेपाली फिल्म उद्योग राम्रो हुँदै छ । अहिले इन्टरनेटबाट सबैले सबै ठाउँको फिल्म हेर्न सक्छन् । यस्तोमा राम्रो फिल्म बनाएर अन्तर्राष्ट्रिय स्तरका राम्रा पुरस्कार पायो भने दर्शक आकर्षित हुन्छन् ।’ साथै फिल्ममार्फत विभिन्न समुदायका सांस्कृतिक पाटोहरू उजागर गर्दा त्यसले संस्कृतिमा पनि टेवा पु-याउने र फिल्मबाटै फरक फरक ठाउँको संस्कृतिका बारेमा थाहा पाउन सकिने भएकाले त्यसमा सर्जकले विचार गर्नुपर्ने उनले जनाए । 

‘नेट्फिल्क्स जस्ता ठूला प्लेटफर्मसम्म पुगेर अझ धेरै दर्शकलाई आकर्षित गर्न सकिन्छ,’ उनले भने, ‘१९८० को दशकसम्म पनि चाइनिज फिल्म विश्वमा चिनिइसकेको थिएन । जब चाइनिज फिल्मले भेनिस, बर्लिन, कान्स जस्ता महोत्सवमा उपस्थिति जनायो त्यसपछि विश्वमा परिचित हुँदै गयो ।’ सन १९८६ मा उनको फिल्म  अ गर्ल फ्रम हुनान कान्स लगायत युरोपका विभिन्न फेस्टिभलमा प्रदर्शन भएको थियो भने अमेरिकामा व्यावसायिक रूपमा प्रदर्शन भएको थियो । त्यस्तै उनको निर्देशनमा १९९० मा बनेको ब्ल्याक स्नो र १९९३ को वुमन सेसेम ओइल मेकरले ४० औँ र ४३ औँ बर्लिन अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा अवार्ड जितेको थियो । 

नेपाली फिल्म उद्योगका लागि चिन पनि एउटा बजार हुन सक्ने सम्भावना देखाउँदै फिले भने, ‘चाइनिज मान्छेलाई आकर्षित गर्नको लागि उनीहरूको रुचिका विषय फिल्ममा समावेश गराउन सकिन्छ । धेरै चाइनिजहरू हिमाल आरोहण जस्ता साहसिक खेलका लागि नेपाल आउने गर्छन् । फिल्ममा त्यस्ता सामग्री समावेश गर्दा उनीहरूको लागि रुचिकर हुन सक्छ ।’ साथै नेपालको उत्तरी भाग तिब्बतसँग जोडिएकाले कथा वस्तु तथा एउटा देशको फिल्म उद्योगले अर्को देशमा छायाङ्कन अभ्यास पनि लाभदायक हुन सक्ने उनले जनाए । व्यावसायिक फिल्म एक दिन पुराना हुने र कलात्मक रूपमा बनाइएका फिल्म सधैँ ताजा रहने बताउँदै राम्रो फिल्म बनाउनका लागि विषयवस्तु छनोट सबैभन्दा महत्त्वपूर्ण रहेको उनले बताए । 

महोत्सवको अन्तिम दिन लक्ष्मण सुनार निर्देशित नेपाली फिचर फिल्म बुलाकीसहित स्पेन, ब्राजिल, अमेरिका, चिन, बङ्गलादेश, जापान, इरान लगायतका देशका डेढ दर्जन फिल्म प्रदर्शन भएका छन् । महोत्सव राष्ट्रिय सभागृह, पर्यटन बोर्ड तथा छाया सेन्टर, लबिम मल, सिभिल मल र भाटभटेनी भक्तपुरमा रहेका क्युएफएक्सका हलमा चैत १ गतेदेखि सुरु थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप