सभामुखले विपक्षी दलहरूको नाडी छाम्ने काम नगरून् : आङ्देम्बे
सारांश
- प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी नभएको आरोप लगाएका छन्।
- नेता आङ्देम्बेले सभामुखले विपक्षी दलहरूको नाडी छाम्ने प्रयास नगर्न चेतावनी दिएका हुन्।
- उनले सत्तापक्षले विपक्षी दलहरूसँग समन्वय नगर्दा सदनमा समस्या सिर्जना भइरहेको बताए।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन्।
सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङ्देम्बेले सभामुख अर्याललाई विपक्षी दलहरूको नाडी छाम्ने प्रयास नगर्न चेतावनी समेत दिएका हुन् ।
सभामुख कुनै पनि दलको सदस्य नभएको स्मरण गराउँदै उनले संसदभित्र आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्ने कुरा बुझ्न आवश्यक रहेको बताए। नेता आङ्देम्बेले संसदमा कुनै पनि विषयलाई लिएर विपक्षी दलहरूले विरोध जनाउँदा सबैको तर्फबाट एक जनाले मात्र विचार राख्नुपर्ने सभामुखको मनसाय हुने गरेको प्रति असन्तुष्टि जनाए।
उनले सबै दलका प्रतिनिधिले संसदमा आफ्नो धारणा राख्न पाउनुपर्ने माग गरे। सत्तापक्षको तर्फबाट सदनमा बारम्बार विवादित अभिव्यक्ति सार्वजनिक हुँदाहुँदै पनि प्रतिपक्षले दैनिक कार्यसूची सञ्चालनमा सहयोग गरेको विषयलाई कमजोरीको रूपमा नलिन उनले चेतावनी दिए।
सञ्चारकर्मीहरूसँग बोल्दै उनले भने, ‘संसदमा विरोध जनाएपछि विपक्षी दलहरू सबैले बोल्न पाउनुपर्छ। संसदभित्र यो नाडी छाम्ने काम गर्नु हुँदैन।’ सदन सञ्चालन गर्ने सभामुखले आफ्नो भूमिका बुझ्नुपर्ने र आफू अहिले कुनै पार्टीको होइन भन्ने कुरा बुझेर अगाडि बढे सहज हुने उनले उल्लेख गरे।
नेता आङ्देम्बेले थपे, ‘संसदमा जे जस्ता अभिव्यक्तिहरू आउने गरेका छन्, त्यसमा पनि प्रतिपक्षले दैनिक कार्यसूची सञ्चालन गर्न सहृदयता देखाएको छ।’ यसलाई कमजोरी नठानी मित्रवत् सम्झिनुपर्ने भन्दै उनले यी सबै कुरा मुलुकलाई केन्द्रमा राखेर गरिएको स्पष्ट पारे। सत्तापक्षले विपक्षी दलहरूसँग समन्वय नगर्दा सदनमा समस्या सिर्जना भइरहेको उनको बुझाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूको सजाय निर्धारण आज नहुने
-
प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठ नियुक्त
-
नेपालमा सार्वजनिक भयो सामसङ ग्यालेक्सी ए२७, किस्तामा खरिद गर्न सकिने
-
इरानमाथि अमेरिकी सैन्य आक्रमणः सोमबार दिउँसोसम्म कम्तीमा दुई जनाको मृत्यु
-
विधि विज्ञान प्रयोगशालाका लागि हरेक वर्ष बजेट थप्दै लैजाने मन्त्री पुनको प्रतिबद्धता
-
बजेट विवादपछि मुख्यमन्त्री काठमाडौँमा, एमाले भन्छ– ‘हाम्रो कुरा बेवास्ता गरियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण