बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

जीवन गुरुङले आफ्नै मोबाइल नम्बरसमेत आफ्नो होइन भनी ढाँटे

समय समयमा फेर्थे मोबाइल सेट र नम्बर
सोमबार, ०५ चैत २०८०, २२ : ०१
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परी काठमाडौँ जिल्ला अदालतबाट धरौटीमा रिहा भएका जीवन कुमार गुरुङले बयानका क्रममा अनौठो जवाफ दिएको पाइएको छ । प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका गुरुङले दिएको बयान अदालतमा बुझाइएको छ ।

रातोपाटीलाई प्राप्त गुरुङसँगको सवाल जवाफमा उनले आफ्नै मोबाइल नम्बरसमेत आफ्नो होइन भनी ढाँटेका मात्रै छैनन्, कुराकानी गर्न पटकपटक मोबाइल सेट र मोबाइल नम्बर परिवर्तन गर्ने गरेको समेत पाइएको छ ।

तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका वैदेशिक मामिला विज्ञसमेत रहेका गुरुङले सुनको तस्करी र कारोबारको प्रमाण नष्ट गर्न छिटोछिटो मोबाइल सेट तथा मोबाइल नम्बरहरू परिवर्तन गर्ने गरेको पाइएको छ ।

२०८० साल मंसिर २१ गते राति करिब ११ः४० बजेको समयमा फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएका गोरखाका चन्द्र घलेलाई ज्याकेटको खल्तीमा राखी ल्याएको १४ किलो सुनसहित समातिएको थियो ।

चन्द्र घलेको बयान पोलकै आधारमा गोरखाकै मीन बहादुर घलेसमेत पक्राउ परेका थिए भने घलेको बयान पोलमा प्लाटिनम कलेजका सीइओ समेत रहेका जीवन कुमार गुरुङको समेत सुन तस्करी प्रकरणमा संलग्नता खुलेको थियो ।

मीन बहादुर घलेको डिजिटल फरेन्सिक रिपोर्ट अर्थात् ‘डीएफएल रिपोर्ट’ र सीडीआर रिपोर्टमा जीवन कुमार गुरुङसँग पटकपटक कुराकानी भएको र सुन सम्बन्धी कारोबारको कुरा भएको तथ्य खुलेको थियो । सोही प्रकरणमा पक्राउ पर्ने भएपछि गुरुङ लामो समय फरार रहेका थिए ।

गुरुङलाई पक्राउ गर्न नपाएपछि प्रहरीले नाम वतन यकिन नखुलेको भनी अदालतमा मुद्दा बुझाउँदा पछि खुलेपछि ल्याउने भनी जनाएको थियो । गुरुङको योजना सोझै अदालतमा हाजिर भएर धरौटीमा छुट्ने योजना रहे पनि प्रहरीले फरार भनी मुद्दा नचलाइ यकिन वतन नखुलेको भनी पठाएपछि उनी बाध्य भएर पक्राउ दिन काठमाडौँ आएका थिए ।

प्रतिवादी मीन बहादुर घलेको बयानमा जीवन कुमार गुरुङको संलग्नता रहेको भनिएको र डिजिटल फरेन्सिक रिपोर्टमा समेत सुनसम्बन्धी कुराकानी भएको पाइएको थियो । आफूले प्रयोग गरेको मोबाइल नम्बर नै आफ्नो होइन भनी बयान दिए

प्रहरीले पक्राउ गरी भन्सार कार्यालयको जिम्मा लगाएपछि प्रतिवादी रहेका जीवन कुमार गुरुङले अनुसन्धान अधिकारीसमक्ष आफूले प्रयोग गरिरहेको मोबाइल नम्बर नै आफ्नो होइन भनी बयान दिएका थिए । मीन बहादुर घलेले जोन नाममा सेभ गरी आफ्नो मोबाइलमा रहेको ९८६९+++२०४ नम्बरको मोबाइल नम्बर जीवन कुमार गुरुङको रहेको भनी बयान दिएका थिए ।

तर जीवनले भन्सार कार्यालयका अनुसन्धान अधिकारीसमक्ष बयान गर्ने क्रममा भने यस्तो भनेका थिए–

‘निज मिनबहादुर घलेसँग मेरो २०/२२ वर्ष अघिदेखिको समान्य चिनजान हो, दोहोरी साँझमा निजसँग भेट भएको थियो । त्यसपछि कहिलेकाहीँ हामी बिचमा भेट हुन्थ्यो । मिनबहादुर घलेले लेखाइ दिएको मोबाइल नम्बर ९८६९+++२०४ मेरो हैन, उनले किन मेरो नम्बर हो भने, मलाई थाहा भएन ।’

गुरुङले उक्त नम्बर आफ्नो नभएको भने तापनि उपराष्ट्रपतिको कार्यालयमा रहेको रेकर्ड, उनले टिकट काट्ने गरेको राजश्री ट्राभल्सको रेकर्ड र उनी आफैँले बनाएको भिजिटिङ कार्डमा समेत ९८६९+++२०४ को मोबाइल नम्बर जीवन कुमार गुरुङकै भनी उल्लेख भएको पाइएको छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले उपराष्ट्रपतिको कार्यालयमा पत्र लेखी त्यहाँको अभिलेखमा रहेको जीवन कुमार गुरुङको मोबाइल नम्बर उपलब्ध गराइदिन आग्रह गर्दा उपराष्ट्रपति कार्यालयले चलानी नम्बर १९३ राखेर २०८० फागुन २७ गते जवाफ पठाउँदै गुरुङ वैदेशिक मामिला विज्ञका रुपमा नियुक्त भएको र कार्यालयको अभिलेख अनुसार गुरुङको मोबाइल नम्वर ९८६९+++२०४ रहेको खुलाइ पठाइदिएको थियो । 

त्यसैगरी गुरुङले टिकट काट्ने गरेको राजश्री ट्राभल्सका सञ्चालक राज कुमार भारतीले गरिदिएको कागजमा समेत गुरुङको मोबाइल नम्बर ९८६९+++२०४ नै रहेको र त्यसबाहेक पनि अन्य तीनवटा मोबाइल नम्बर रहेको भनी खुलाइदिएका थिए ।

राजकुमार भारतीको बयानमा यस्तो भनिएको थियो :

‘का.जि.का.म.न.पा. वडा नं. ०२, लाजिम्पाटस्थित राजश्री ईन्टरनेसनल ट्राभल्स एण्ड टुर्स प्रालि मेरो नाममा दर्ता गरी म आफैँले सञ्चालन गर्दै आएको छु । अवैध सुन भन्सार छली तस्करी गर्ने कार्यमा संलग्न जीवन गुरुङसँग चिनजान छ । जीवन गुरुङसँग मेरो करिब ५/६ वर्षदेखि निजको टिकट काट्ने सिलसिलामा नै चिनजान भएको थियो ।

निजले मेरो ट्राभल्सबाट के कुन मितिमा कतिपटक टिकट काटेका थिए, सो सम्बन्धमा यकिन जानकारी भएन । मेरो ट्राभल्सबाट विभिन्न मितिमा काटेको र मैले जीवन गुरुङको भाइबर, ह्वाट्सएप नम्बरहरू ९८१३+++८३८, ९८४१+++२४७ र ९८६९+++२०४ मा पठाएको टिकटको  विवरण यसै घटना विवरण साथ संलग्न राखी पेस गरेको छु । जीवन गुरुङले मेरो ट्राभल्सबाट काटेको टिकट मलाई नगदै भुक्तानी गर्ने गरेका थिए ।

पहिले पहिले जीवन गुरुङले भिजिट भिसामा दुबई जाने र आउने दुईतर्फी टिकट काट्ने गरेका थिए । केही समयपछि भने निजले रेसिडेन्सियिल पर्मिट छ भनी जाने टिकटमात्र काट्ने गरेका थिए । जीवन गुरुङले मसँग फोनमा सम्पर्क गर्न, ह्वाट्सएप, भाइबर लगायतका सामाजिक सञ्जालमा कुराकानी गर्नका लागि ९८६९+++२०४, ९८०३+++७४५, ९८१३+++८३८, ९८४१+++२४७ का मोबाइल नम्बरहरू प्रयोग गर्ने गरेका थिए ।

उक्त मिति २०८०।०८।२१ को घटना पश्चात जीवन गुरुङले मेरो नाममा दर्ता भएको राजश्री इन्टरनेस्नल ट्राभल एण्ड टुर्सबाट कुनै पनि टिकट काटेका छैनन् र निज मसँग सम्पर्कमा समेत छैनन् ।’

त्यसैगरी जीवन गुरुङ आफैँले तयार पारेको भिजिटिङ कार्डमा पनि उनले ९८६९+++२०४ कै मोबाइल नम्बर प्रयोग गरेका थिए । यद्यपि गुरुङले सुरुदेखि नै उक्त मोबाइल नम्बर आफ्नो होइन भनिरहे ।

मोबाइल सेटसमेत परिवर्तन गरेर आए

प्रहरीले पक्राउ गरी त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाउँदा गुरुङले त्यसअघि प्रयोग गरेको मोबाइल सेटसमेत परिवर्तन गरेर आएका थिए । मोबाइलको डिजिटल फरेन्सिक ल्याबमा परीक्षण हुँदा प्रमाण खुल्ने डरले उनले मोबाइल सेट नै परिवर्तन गरेर आएका थिए ।

मीन घलेको मोबाइलको डीएफएल रिपोर्टमा भेटिएको थियो सुनसम्बन्धी कुराकानी प्रमाण

यसअघि पक्राउ परी मुद्दा चलाइएका मिन घलेको मोबाइलको डिजिटल फरेन्सिक रिपोर्टमा मीन र जीवन गुरुङबिच सुनसम्बन्धी कारोबारको केही प्रमाण र शंकास्पद कुराकानी भेटिएको थियो । मीन घलेसँगको कुराकानीमा जीवनले ‘आज भाउ कति छ ? कति डाउन भएको छ सोध्नु त नेबीलाई, ३ पिस अरिहन्तलाई आजै दिनू’ लगायतका कुराकानी भएको पाइएको छ । मीन घलेको बयानमा सो कुराकानी सुन सम्बन्धी विषयमा भएको बताएका थिए ।

मीन घलेको डीएफएल रिपोर्टमा आधारित रही त्रिभुवन विमानस्थल भन्सार कार्यालयले तयार पारेको प्रतिवेदन यस्तो छ :

‘प्रतिवादी जीवन कुमार गुरुङ (जोन, +९७७९८६९+++२०४ भनी सेभ रहेको) र मीन बहादुर घलेबिच भएको संवादको विश्लेषण गर्दा जीवन कुमार गुरुङले ‘आज कति भाउ रहेछ र कति डाउन छ सोध्नू त नेबीलाई ?’ ‘अनि ३ पिस अरिहन्तलाई दिनू, बाँकी भन्छु’ लेखेको म्यासेजको रिप्लाई ‘०९००० र २५०० डाउन’, ‘अरिहन्तलाई आजै दिनि ?” लेखेको र जीवन कुमार गुरुङले रिप्लाई मा ‘आजै दिनु हो’ भनी विभिन्न अवैध वस्तुको विषयमा कुराकानी समेत गर्ने गरेको पाइयो ।

त्यसैगरी प्रतिवादी जीवन कुमार गुरुङ र मीन बहादुर घलेबिच फेसबुक म्यासेन्जरमा समेत यस्तै किसिमको शंकास्पद र कोड भाषाको प्रयोग गरी कारोबारका विषयमा छलफल र सूचना आदान प्रदान भएको’ भनी प्रतिवेदन तयार पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप