सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

अनुदानको लोभमा विवाहित बहिनी र दाइको बिहे

मङ्गलबार, ०६ चैत २०८०, १३ : २८
मङ्गलबार, ०६ चैत २०८०

उत्तर प्रदेश । भारतको उत्तर प्रदेश राज्यको महाराजगन्ज जिल्लामा मुख्यमन्त्री सामूहिक विवाह योजनाबाट अनुदान पाउने लोभमा विवाहित बहिनीले दाइसँग बिहे गरेको खुलासा भएको छ ।  सामूहिक बिहेमा पाइने ३५ हजार भारु र सामानको लोभमा यो काण्ड भएको हो । यो कुरा बाहिर आएपछि समाज कल्याण विभागले वैवाहिक समारोहमा भएको त्रुटिको दोष सबै लाभार्थीहरुमाथि थोपरेर पैसा र सामान असुलीमा व्यस्त भएको भन्दै न्युज १८ ले समाचार छापेको छ । मुख्यमन्त्री सामूहिक विवाह योजनामा यस्तो कुरा बाहिर आएपछि हङ्गामा मच्चिएको छ ।

महाराजगन्ज जिल्लाको लक्ष्मीपुर ब्लकमा मार्च ५ गते मुख्यमन्त्री सामूहिक विवाह कार्यक्रम आयोजना गरिएको थियो । समाज कल्याण तथा विकास विभागको रेखदेखमा आयोजना गरिएको सामूहिक विवाह कार्यक्रममा रीति–रिवाज अनुसार विवाह सम्पन्न भएको हो । लक्ष्मीपुर ब्लक क्षेत्रको एक गाउँकी एक विवाहित युवतीले पनि सामूहिक विवाहमा आवेदन दिएकी थिइन् । मार्च ५ मा भएको सो समारोहमा ती युवति आफ्नो श्रीमानसँग जग्गेमा बस्नेवाला थिइन् ।

तर केही कारणले श्रीमान् बिहे स्थलमा आइपुगेनन् । हतारमा अधिकारी र बिचौलियाहरूले श्रीमानको सट्टा ती युवतिको दाइलाई मण्डपमा बसाइदिए । दाइ र विवाहित बहिनीबिच बिहे गराइयो । यो कुरा बाहिर आएपछि समाज कल्याण तथा विकास विभागको कर्तुत पर्दाफास भएको छ । सामूहिक विवाह योजनामा धोकाधडीको मामिला बाहिर आएपछि सुरुमा त अधिकारीहरूले बचाउ गरेका थिए ।

तर यो मिडियामा सञ्चार माध्यममै आएपछि भने समाज कल्याण विभागले दाइजोको लोभमा यस्तो हर्कत गर्ने लाभार्थीको घरमै पुगेर सामान फिर्ता गर्न भनेको थियो । यति बेला विभागका कर्मचारीहरू विवाहित जोडीलाई दिइएको सामान फिर्ता गर्न र अनुदान रकम रोक्का गर्न जुटेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप