मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

जापान र फिलिपिन्ससँग त्रिपक्षीय वार्ता गर्दै राष्ट्रपति बाइडेन

मङ्गलबार, ०६ चैत २०८०, २१ : ४७
मङ्गलबार, ०६ चैत २०८०

वासिङ्टन डिसी । अमेरिकाका राष्ट्रपति जो बाइडेनले जापानी प्रधानमन्त्री फुमियो किसिदा र फलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोससँग वासिङ्टन डिसीमा अप्रिल ११ मा त्रिपक्षीय शिखर सम्मेलन आयोजना गर्ने ह्वाइट हाउसले घोषणा गरेको छ । 

क्योदो न्युजका अनुसार राष्ट्रपति बाइडेनले किसिदासँग भेट गरेको एक दिनपछि सम्मेलनको आयोजना गरिनेछ । नेताहरूको वार्ताको तयारीका लागि बिहीबार टोकियोमा तीन देशका वरिष्ठ कूटनीतिज्ञहरूको बैठक बस्ने जापानी विदेश मन्त्रालयले जनाएको छ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार फिलिपिन्सका राष्ट्रपति मार्कोससँग रात्रिभोज गर्ने कार्यक्रम रहेको छ । “तीन नेताले मित्रताको गहिरो ऐतिहासिक सम्बन्ध, बलियो र बढ्दो आर्थिक सम्बन्ध, साझा लोकतान्त्रिक मूल्यप्रति गर्व र दृढ प्रतिबद्धता तथा स्वतन्त्र र खुला इन्डो–प्यासिफकका लागि साझा दृष्टिकोणमा आधारित त्रिपक्षीय साझेदारीलाई अगाडि बढाउनुहुनेछ”, ह्वाइट हाउसका प्रवक्ता करिन जिन पियरेले भने । 

शिखर सम्मेलनले राष्ट्रपति बाइडेनलाई जापान र फिलिपिन्सको संयुक्त राज्य अमेरिकाको ‘मजबुत गठबन्धन’ लाई पुनः पुष्टि गर्न ठूलो अवसर प्रदान गर्ने उल्लेख गर्दै उनले बैठकमा यस क्षेत्र र त्यसभन्दा बाहिरको सुरक्षा, उदीयमान प्रविधि, आपूर्ति शृङ्खला र जलवायुका विषय समावेश हुने बताए । 

“राष्ट्रपति बाइडेनले शिखर सम्मेलनका दिन ह्वाइट हाउसमा राष्ट्रपति मार्कोससँग छुट्टै भेट गर्नुहुनेछ”, उनले भने । 

जापान सरकारका प्रवक्ता योशिमासा हायाशीले मङ्गलबार टोकियोमा त्रिपक्षीय सम्मेलनबारे जानकारी दिए । “कानूनी शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थाका लागि जापानले संयुक्त राज्य अमेरिका र फिलिपिन्ससँगको त्रिपक्षीय साझेदारीलाई अझ बलियो बनाउनेछ”, उनले पत्रकार सम्मेलनमा भने । 

गत वर्ष जुनमा भएको संयुक्त राज्य अमेरिका, जापान र फिलिपिन्सबीचको त्रिपक्षीय बैठकलाई क्षेत्रीय सुरक्षा अभिवृद्धिमा महत्त्वपूर्ण कदम मान्न सकिन्छ । 

बैठकको करिब एक महिनाअघि राष्ट्रपति बाइडेनले फिलिपिन्सका राष्ट्रपति मार्कोससँग जापानसँग सहयोगको त्रिपक्षीय मोड सुरु गर्न सहमति जनाएका थिए । 

सो बेला दुवै राष्ट्रपतिले आफ्नो भूमि, समुद्र, आकाश र साइबरस्पेस बलहरूको अन्तरसञ्चालनको नयाँ द्विपक्षीय रक्षा दिशानिर्देशमा पनि सहमति जनाएका थिए । -(रासस/एएनआई) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप