आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

सत्ताविमुख कांग्रेसभित्र देखिएको ‘एकता’को अन्तर्य

बुधबार, ०७ चैत २०८०, १४ : ११
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । संघीय संसदमा प्रतिपक्षी भूमिकामा रहेको नेपाली कांग्रेसभित्र ‘एकता’ देखिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे सिङ्गो कांग्रेसमा एउटै मत सुनिन्छ । फागुन २१ मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता समीकरण बनाउनुलाई ‘राजनीतिक बेइमानी’ भन्नेमा कांग्रेस एकमत छ । 

गत वर्ष पुस १० मा चुनावी गठबन्धन तोडेर एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्दा सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टी पङ्क्तिको निशानामा परेका थिए । चुनावपछि पहिलो चरण प्रधानमन्त्री हुने देउवाको हठ र महामन्त्रीहरूको बेवास्ताले संसद्को पहिलो दल सत्ताविमुख हुन परेको आवाज उठेको थियो ।

प्रधानमन्त्री प्रचण्डले गत वर्ष पुस २६ मा पहिलो पटक विश्वासको मत माग्दा दिन हुने र नहुनेमा कांग्रेस विभाजित थियो । विपक्षी दले प्रधानमन्त्रीलाई विश्वासको मत दिनु नैतिक रूपमा सही नहुने भन्दै संसदीय दलमा महामन्त्री थापा, सांसद अर्जुननरसिंह केसी, प्रदीप पौडेल लगायतले फरक मत राखेका थिए । पुस २६ मा दिएको विश्वासको मतकै जगमा कांग्रेस दुई महिनामै सत्तामा फर्कियो । तर कांग्रेसमा केन्द्रदेखि प्रदेशसम्म मन्त्रीको भागबण्डाको रडाको लामो समयसम्म चलिरह्यो । सरकारमा सहभागी भए पनि पार्टीकै एउटा पक्ष प्रतिपक्षका रूपमा प्रस्तुत भइरह्यो । प्रचण्ड सरकार र गठबन्धन राजनीतिको कांग्रेस नेता शेखर कोइराला र महामन्त्री थापा 'स्थायी' विरोधी बने । 

गत फागुन पहिलो साता कांग्रेस केन्द्रीय समितिदेखि महासमिति बैठकसम्म कांग्रेसमा वैचारिक र एजेण्डागत मतभेद देखियो । महासमितिबाट पारित भएका नीति, सांगठनिक र राजनीतिक प्रस्तावमा गठबन्धनको राजनीतिबारे एकरूपता थिएन । विगतको चुनावी गठबन्धन पार्टीका लागि लाभदायी नभएको निष्कर्षसहित भविष्यमा एक्लै चुनाव लड्ने महामन्त्री थापाको एजेण्डा थियो । उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री शर्माको एजेण्डा गठबन्धनमुखी थियो । तत्कालीन गठबन्धनप्रति सधैँ विमति राख्दै आएका नेता कोइरालाले कांग्रेसका प्रतिवेदनमा गठबन्धनको छाया देखिएको टिप्पणी गरेका थिए ।  

कोइरालाले कोशी प्रदेशमा त गठबन्धनविरुद्ध विद्रोहसमेत गर्न लगाएका थिए । राष्ट्रियसभा निर्वाचनको टिकट वितरणमा पनि कांग्रेसमा लामो गलफती चल्यो । महामन्त्री थापाले पार्टीका  निर्णयमाथि ‘नोटअफ डिसेन्ट’ लेखे ।  

प्रधानमन्त्री प्रचण्डले पनि कांग्रेसभित्रको विचार समूहको कारण आजित भएको बताएका थिए । नयाँ सत्ता समीकरण बनाउँदा आफूलाई ‘भिलेन’ देखाउन कांग्रेसमा विचार समूहबिच ‘युद्धविराम’ भएको प्रधानमन्त्री प्रचण्डको कटाक्ष थियो । 

पछिल्लो राजनीतिक घटनाक्रमले पार्टी पदाधिकारीमा एकता देखिएको विश्लेषण केन्द्रीय सदस्य नैनसिंह महरले सुनाए । 'पार्टी पदाधिकारी तहमा सहमति भएर गठबन्धन बनेको हो,’ उनी भन्छन्, ‘चुनावदेखि यहाँसम्म गठबन्धन बनेर आउँदा केही हन्डर कांग्रेसले खाएको छ । तर पार्टीले खाएको हन्डरमा पदाधिकारीले प्रचण्ड बेइमान हो भनेर मात्र हुँदैन । पदाधिकारीसँग पनि हामी केन्द्रीय समिति बैठकमा प्रस्टीकरण सोध्छौ ।’

‘गठबन्धन भत्किएको आरोप आफूहरूलाई लाग्छ कि भनेर सभापति, उपसभापति महामन्त्री जम्मै डराएर प्रचण्डलाई बेइमान भनेर पन्छिन एक ठाउँमा उभिने सम्झौता गरेका हुन्,’ उनले दाबी गरे । 

पार्टी प्रतिपक्षमा हुँदा नेतृत्व तहमा लेनदेन कम भएकाले एकता देखिने गरेको महरको बुझाइ छ । ‘सरकारको सुविधाका कारण हो विभाजन हुने । पावर कसले प्रयोग गर्ने भन्ने कुराले द्वन्द्व हुने हो,’ उनले भने, ‘त्यो चिज नै सकिएपछि द्वन्द्व कम हुने नै भयो । सडकमा आएपछि मोर्चा बनाउने कुरा छँदैछ । तर चरित्र ठिक छैन । पदाधिकारीको चरित्रमाथि केन्द्रीय समितिमा प्रश्न उठ्छ ।’

केन्द्रीय सदस्य श्याम घिमिरेले प्रतिपक्षमा हुँदा कांग्रेस एकताबद्ध देखिने परम्परा नै रहेको सुनाए । ‘सत्तामा हुँदा गुटगत समस्या बढी आउने र चर्किने हुन्छ । सत्ताबाट बाहिर रहेपछि पार्टी एक हुने कुरा कांग्रेसको परम्परा नै हो,’ उनले भने 'सरकारमा हुँदा केही इस्य र इन्ट्रेस्टको द्वन्द्व चलिरहँदो रहेछ । सरकारबाट बाहिर भएपछि हामी केबल पार्टी हितमात्रै केन्द्रित हुँदा रहेछौँ ।’ 

पार्टी सत्ताभित्र हुनु र नहुनुको बिचमा विगतदेखि नै अन्तर हुने गरेको घिमिरेको भनाइ छ । पोहोर पुस १० मा सत्ता बाहिर पुग्दा पार्टीमा मतभेद देखिए पनि पछिल्लो घटनाक्रमा प्रधानमन्त्री प्रचण्ड नै दोषी हुँदा कांग्रेसमा एकमत भएको उनको दाबी छ । ‘सबै घटनाक्रममा प्रधानमन्त्री (प्रचण्ड) नै दोषी हुनुहुँदो रहेछ भन्ने कुरा १४ महिनामा तीन पटक गठबन्धन परिवर्तनले पुष्टि गर्‍यो । संसदीय अभ्यासमा यस्ता परिवर्तन हुन्छन् । संसारमा पनि भएका छन्,’ घिमिरेले भने, ‘तर, प्रधानमन्त्रीका कारणबाट नभई सत्ता गठबन्धन सम्बद्ध अन्य दलहरूका कारण हुने गर्छ । यहाँ त्यसको विपरीत सत्ता गठबन्धन दल ठिकै रहने तर प्रधानमन्त्रीका कारण १४ महिनामा तीन चोटि सत्ता समीकरण परिवर्तन भयो ।’

नयाँ सत्ता समीकरण कांग्रेसका कारण उत्पन्न समस्या नभई प्रधानमन्त्रीको अस्थिर चरित्रको कारण उत्पन्न समस्या रहेछ भन्ने कुरा बुझ्न बाँकी नरहेको उनले बताए । ‘त्यसले गर्दा कांग्रेसले एक मत भएर प्रधानमन्त्रीमाथि दोष लगाएको हो । यसले कांग्रेसमा गुटगत द्वन्द्व तत्काल देखिएको छैन । तर, यसले गुटगत समस्या समाप्त भयो त भन्ने कुरा होइन । पार्टीभित्रका द्वन्द्व भिन्न ढंगले प्रहसन होलान्,’ उनले भने । 

केन्द्रीय सदस्य गोविन्द पोखरेलले भने गठबन्धन भत्किएर कांग्रेस प्रतिपक्षमा आउँदा खुसी देखिएको बताए । ‘कांग्रेसमा गठबन्धन गर्नुहुँदैन भन्ने भावना थियो । कांग्रेसको संस्थापन इतर पक्ष (शेखर कोइराला—गगन थापा)ले प्रचण्ड सरकारको विकल्प खोज्नुपर्छ भनेर पटक–पटक भनिराख्नु भएको थियो । त्यो परिवेशमा गठबन्धन परिवर्तन भयो । यसमा कांग्रेसजनहरू खुसी नै हुनुहुन्छ ,’ उनले भने ।

पोखरेलका अनुसार चुनावमा गठबन्धन भएकाले पुस १० मा त्यसविरुद्ध गठबन्धनविरुद्धको सरकार बन्दा कांग्रेसजनमा आक्रोश थियो । ‘तर, पछिल्लो चरणमा गठबन्धन बन्दा स्थायित्व, सुशासन र नागरिकलाई सरकारले राहत दिन्छ भन्ने थियो । सरकारमा बस्दा त्यो हुन सकेन,’ उनले भने, ‘कांग्रेसभित्रको प्रतिपक्षले गठबन्धन र प्रचण्डको सरकारविरुद्ध आवाज उठाइरह्यो । त्यही क्रममा गठबन्धन पनि परिवर्तन भयो । कांग्रेस विपक्षमा आयो । कांग्रेस सरकारमा बस्नुभन्दा विपक्षमा बसेर आफ्नो संगठन बनाउनुपर्‍यो भन्ने मान्छे खुसी छन् ।’

नेताहरूले त्यो जनभावना बुझेकाले पछिल्लो राजनीतिक घटनाक्रमबारे एक ठाउँमा देखिएको पोखरेलको बुझाइ छ । ‘यो भावनाले कांग्रेसलाई जनतामा जान र एक जुट बनाउन सहयोग गर्छ । कांग्रेसमा सरकारमा जाँदा मतभेद र विपक्षमा हुँदा मिल्ने संस्कार जस्तै छ ,’ उनले भने । प्रतिपक्षमा हुँदा कांग्रेसले जनताका समग्र कुरा ल्याएर सरकारका गतिविधिको विरोध गर्ने पोखरेलको भनाइ छ ।

‘देशमा भएका आर्थिक, सामाजिक, सुशासनका समस्या सबैको एजेण्डा हुने भए । सबैलाई आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्न मन लाग्छ । त्यसका लागि हामी जनतामा जानुपर्छ भन्ने कुराले दबाब दिने भयो । नयाँ सत्ता समीकरणले कांग्रेसलाई दीर्घकालीन रूपमा बलियो हुन सहयोग गर्छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप