आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

‘विद्यार्थी पलायन गर्ने शिक्षा विधेयक देशको हितमा छैन’

बुधबार, ०७ चैत २०८०, १७ : ४२
बुधबार, ०७ चैत २०८०

काठमाडौँ । सरकारले ल्याउन लागेको शिक्षा विधेयक देशबाट विद्यार्थी खाली गर्ने योजनासहित आएको वक्ताहरूले आरोप लगाएका छन् । अखिल (क्रान्तिकारी)ले राजधानीको संवाद डबलीमा आयोजना गरेको ‘वर्तमान शिक्षा विधेयक र यसको निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले विदेशी रिझाउने विधेयक भएकोसमेत आरोप लगाए । 

क्रान्तिकारी कम्युनिस्ट पार्टीका कार्यालय सदस्य गुणराज लोहनीले सरकारले विधेयक नभएर शिक्षा ऐन ल्याउनु पर्ने धारणा राखेका छन् । सो विधेयक अवैज्ञानिक  र जनविरोधी मात्रै नभएर त्यसले देशबाट व्यापक विद्यार्थी पलायन हुने खतरा बढेकोले त्यसलाई खारेज गर्नु पर्ने धारणा राखेका छन् । लोहनीले शिक्षाविद् विद्यानाथ कोइरालाले पुराना शिक्षकहरूलाई हटाएर प्रविधिसँग भिज्न सक्ने शिक्षक भर्ती गर्नु पर्ने विचारको प्रतिवाद गर्दै भने,‘कोइराला जीको कुराप्रति मेरो असहमति छ, एआई भनेको मानिसद्वारा नै निर्मित भएकाले सिक्ने र सिकाउने वातावरण भए जो पनि अपग्रेट र ट्रेन्ड हुनसक्छ र सकिन्छ ।’

कानुनविद् प्रा.डा.युवराज सङ्ग्रौलाले वर्तमान शिक्षा विधेयक नेपाली मौलिकतालाई अन्त्य गर्न विदेशी योजनामा आएको दाबी गरे ।  सङ्ग्रौलाले उच्च शिक्षा विधेयकको सन्दर्भमा विश्वविद्यालयहरूलाई केन्द्र र प्रदेश भनेर विभाजनको रेखा कोरेर अझ कमजोर बनाउने नीति लिएको बताउँदै भने,‘काठमाडौँ भन्दा बाहिर केन्द्रीय विश्वविद्यालय विस्तार गर्न नपाउने र भएकालाई पनि प्रदेशमा समेट्ने  भन्ने अर्को गम्भीर विषयले दूर दराजका गरिब जनताको छोराछारीले केन्द्रीय विश्वविद्यालयमा पढ्न नपाउने भन्ने मनोविज्ञान बन्नु दुर्भाग्य हो ।’

 सङ्ग्रौलाले पञ्चायती व्यवस्था खराब भए पनि त्यस समयको शिक्षाले राष्ट्रियता, जीवन उपयोगी सीप तथा राष्ट्रको सूचना, ज्ञान र बुद्धि निर्माण गर्ने तीन वटा न्यूनतम व्यवस्था गरेको स्मरण गर्दै वर्तमान शिक्षा विदेशीको सेवा गर्ने किसिमको भएको दाबी गरे । 

प्रा.डा.विद्यानाथ कोइरालाले वर्तमान शिक्षा विधेयक देश र जनताको पक्षमा भन्दा पनि खास कसको पक्षमा हो भन्ने नै प्रस्ट नभएको धारणा राखे । राजनीतिक दलहरूले आफ्ना  घोषणा पत्रहरूमा राम्रा राम्रा शब्दहरू खर्चने,ठुलठुला राजनीतिक तथा दार्शनिक जार्गनहरुको प्रयोग गर्ने तर व्यवहारमा केही पनि नगर्ने भएको आरोप लगाए । 

अखिल(क्रान्तिकारी)का  इन्चार्ज हरिकृष्ण गजुरेलले वर्तमान शिक्षा विधेयकले नेपाली जनताको हितमा भन्दा विदेशी रिझाउने किसिमको भएको धारणा राखे । उनले भने, ‘यो शिक्षा विधेयकले युवाहरुलाई झन् विदेश पलायन हुन बाध्य बनाउने किसिमको छ,यसको विरोध गर्नुपर्छ ।’

क्रान्तिकारीका संयोजक मिलन राईले वर्तमान शिक्षा विधेयक जनमुखी नरहेको र त्यसलाई रोक्न आफूहरूले छिट्टै आन्दोलनको घोषणा गर्ने बताए । 

हिसानका उपाध्यक्ष रामहरी शिलवालले निजी शिक्षालयहरू ब्यापारी भएको आरोप लाग्ने गरेप्रति रोष व्यक्त गरे भने प्रा.डा.जगदिशचन्द्र भण्डारीले शिक्षा विधेयकको मुल जारो नै गलत भएकाले त्यसको जरा नै उखालेर फाल्नु पर्ने धारणा व्यक्त गरे ।

अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष रमेश रुपाखेतिले देशमा वैज्ञानिक समाजवादी शिक्षा लागु नभएसम्म देशको शिक्षामा सोचे अनुसारको परिवर्तन नहुने  ठोकुवा गरे ।

प्याव्सनका वरिष्ठ उपाध्यक्ष टिआर ढकालले देशमा जबसम्म विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने वातावरण बनाइँदैन र देशको शिक्षा नीतिलाई व्यवहारिक बनाइँदैन तबसम्म विद्यार्थी पलायन हुने क्रम बढ्ने धारणा व्यक्त गरे ।

अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विजय रत्न बज्राचार्यले शिक्षा सेवामा लामो अनुभवकोको चर्चा गर्दै, नेपालमा निजी शिक्षालाई सञ्चालन गर्ने नीति  लागु हुँदा ताकाको स्मरण गरे । तरुण माविका प्रधानाध्यापक बाबुराम न्यौपानेले सार्वजनिक शिक्षामा शुधार गरिएको खण्डमा निजी शिक्षा आफै विस्थापन हुने धारणा व्यक्त गरे ।

विश्व निकेतनका प्रधानाध्यापक हेरम्भराज कडेलले अखिल(क्रान्तिकारी)ले वर्तमान शिक्षामा देखिएको समस्याको निकासका लागि कार्यक्रम निकै सान्दर्भिक भएको बताउँदै विगतमा बन्द,हडताल र तालाबन्दी वाला भाष्य परिवर्तनको अनुभूति भएको बताए ।

चामुण्डा माविका प्रधानाध्यापक  गुणराज  आचार्यले सार्वजनिक शिक्षाको सुधारका लागि राज्यको त्यति ध्यान नपुगेको र शिक्षकहरूलाई दोष दिएर कोही पनि उम्कन नमिल्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप