शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आज बागमतीका किशोरीहरूलाई एचपीभी भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिइँदै

बिहीबार, ०८ चैत २०८०, ०९ : ११
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । बागमती प्रदेशका तेह्र जिल्लाका किशोरीहरूलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी)को दोस्रो मात्रा दिइँदै छ ।  गएको भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सातै प्रदेशका किशोरीहरुलाई लगाइएको पहिलो ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोपको दोस्रो मात्रा ६ महिनापछि आज दिन लागिएको हो ।

जसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका किशोरी बालबालिकालाई काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोपको दोस्रो मात्रा दिइनेछ । खोप सबै प्रदेशका प्रदेशस्तरीय अस्पतालबाट दिइँदै छ । खोपको पहिलो मात्रा लिएकाले कार्ड लिएर दोस्रो मात्रा लिन तोकिएको अस्पतालमा गएर खोप लगाउन सक्नेछन् ।

एचपीभी एक प्रकारको जीवाणु हो जुन पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्त्व भएको विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ ।  पाठेघरको मुखको क्यान्सरमध्ये ९५ प्रतिशत एचपीभी जीवाणुले गराउँछ । 

एचपीभीका जीवाणुका २०० बढी प्रजाति हुने र तीमध्ये १६ र १८ प्रजातिले क्यान्सर गराउने हुनाले सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यही वर्षबाट १४ वर्ष पूरा भएका र १५ वर्ष ननाघेका किशोरीहरूलाई निःशुल्क खोप लगाउने अभियान थालेको छ ।  

दोस्रो मात्राको खोप अभियानमा चैत्र ६ गते लुम्बिनी प्रदेशमा र ७ गते कोशी, गण्डकी,कर्णाली र मधेस गरी एकै दिन चार प्रदेशमा खोप लगाइएको थियो ।  चैत्र ८ गते अर्थात् आज बागमतीमा र चैत १५ गते सुदूरपश्चिम प्रदेशमा खोप दिइँदै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप