शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमतीका ५१९ विद्यालयमा नर्सिङ सेवा, थप ४५७ मा नर्स भर्ना प्रक्रिया सुरु

बिहीबार, ०८ चैत २०८०, १२ : ०७
बिहीबार, ०८ चैत २०८०

मकवानपुर । बागमती प्रदेशको ५०० भन्दा बढी माध्यमिक विद्यालयमा नर्सिङ सेवाको पहुँच पुगेको छ । विद्यालय तहबाटै बालबालिकालाई सन्तुलित र पोषिलो खानेकुराका साथै स्वास्थ्य सजगता अपनाउन उत्प्रेरित गर्दै स्वास्थ्य, सरसफाइ र पोषण प्रवर्द्धन गर्न विद्यालयमा नर्स राखिएको हो ।

बागमती प्रदेशका ५१९ माध्यमिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध छ । प्रदेशको स्वास्थ्य मन्त्रालयका अनुसार बागमती प्रदेशका १३ जिल्लाका ११९ वटै पालिकालाई विद्यालय नर्स कार्यक्रमले समेटेको छ । सहरी क्षेत्रदेखि ग्रामीण भेगका माध्यमिक विद्यालयमा करार सेवामा नर्स नियुक्त गरी खटाइएको मन्त्रालयले जनाएको छ ।

किशोर–किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारलाई मध्यनजर गर्दै तत्कालीन सरकारले २०७५ बाट ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सञ्चालनमा ल्याएको हो । पहिलो चरणमा छनौट गरिएका १३ जिल्लाका २० विद्यालयमा यो कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारको तत्कालीन सामाजिक विकास मन्त्रालयले ‘एक प्रदेश एक नर्स’ कार्यक्रम सञ्चालन कार्यविधि, २०७५ जारी गरेको थियो ।

तत्कालीन समयमा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री युवराज दुलाल ‘शरद’ले सो कार्यक्रमलाई प्रदेश सरकारको प्रमुख कार्यक्रमको रूपमा अघि सारेका थिए । नागरिकमा सकारात्मक र प्रभावकारी नतिजा प्रदान गर्ने उद्देश्य अनुसार सो कार्यक्रम अघि बढाइएको थियो ।

  • कुन जिल्लाका विद्यालयमा कति नर्स ?

qm

  • कुन पालिकाका कति विद्यालयमा छन् नर्स ?

काठमाडौँको ११ स्थानीय तहका ५७ माध्यमिक विद्यालयमा एक÷एक जनाका दरले विद्यालय नर्स खटाइएको छ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिकाको ४ माध्यमिक विद्यालयमा ४ जना नर्स खटाइएको छ भने काठमाडौँ महानगरपालिकामा ११, कीर्तिपुर नगरपालिकामा ४, गोकर्णेश्वर नगरपालिकामा ५, चन्द्रागिरी नगरपालिकामा ५, टोखा नगरपालिकामा ६, तार्केश्वर नगरपालिकामा ५, दक्षिणकाली नगरपालिकामा ४, नागार्जुन नगरपालिकामा ४, बुढानीलकण्ठ नगरपालिकामा ५ र शंखरापुर नगरपालिकामा ४ जना नर्स सेवारत छन् ।

त्यस्तै काभ्रेमा ५५ वटा माध्यमिक विद्यालयमा नर्सको व्यवस्था छ । जस अनुसार काभ्रेको चौरीदेराली गाउँपालिकामा ४, तेमाल गाउँपालिकामा ४, धुलिखेल नगरपालिकामा ५, नमोबुद्ध नगरपालिकामा ४, पनौती नगरपालिकामा ४, पाँचखाल नगरपालिकामा ५, बनेपा नगरपालिकामा ५, बेथानचोक गाउँपालिकामा ४, भुम्लु गाउँपालिकामा ४, मण्डन देउपुर नगरपालिकामा ४, महाभारत गाउँपालिकामा ३, रोशी गाउँपालिकामा ५ र खानीखोला गाउँपालिकामा ४ विद्यालय नर्स खटाइएको छ ।

चितवनको ७ स्थानीय तहमा ३५ विद्यालयमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम कार्यान्वयनमा आएको छ । जस अनुसार चितवनको इच्छाकामना गाउँपालिकामा ४, कालिका नगरपालिकामा ४, खैरहनी नगरपालिकामा ४, भरतपुर महानगरपालिकामा ८, माडी नगरपालिकामा ५, रत्ननगर नगरपालिकामा ५ र राप्ती नगरपालिकामा ५ जना नर्स नियुक्त गरिएको छ ।

दोलखाका ३७ विद्यालयमा नर्सिङ सेवा पुगेको छ । दोलखाको कालिन्चोक गाउँपालिकामा ४, गौरीशंकर गाउँपालिकामा ३, जिरी नगरपालिकामा ३, तामाकोशी गाउँपालिकामा ५, बिगु गाउँपालिकामा ५, बैतेश्वर गाउँपालिकामा ४, भीमेश्वर नगरपालिकामा ५, मेलुङ गाउँपालिकामा ५ र शैलुङ गाउँपालिकामा ३ विद्यालयमा नर्स खटाइएको छ ।

त्यसैगरी धादिङको ५५ माध्यमिक विद्यालयमा नर्स नियुक्त गरिएको छ । धादिङको खानियाबास गाउँपालिकामा ३, गंगाजमुना गाउँपालिकामा ५, गजुरी गाउँपालिकामा ४, गल्छी गाउँपालिकामा ४, ज्वालामुखी गाउँपालिकामा ४, त्रिपुरासुन्दरी गाउँपालिकामा ४, थाक्रे गाउँपालिकामा ६, धुनीबेसी नगरपालिकामा ४, नीलकण्ठ नगरपालिकामा ६, नेत्रावती गाउँपालिकामा ३, बेनी घाट रोराङ्ग गाउँपालिकामा ५, रुबी भ्याली गाउँपालिकामा ३ र सिद्दलेक गाउँपालिकामा ४ विद्यालयमा नर्स खटाइएको छ ।

नुवाकोटको ककनी गाउँपालिकामा ५, किस्पाङ्ग गाउँपालिकामा ३, तादी गाउँपालिकामा ४, तार्केश्वर गाउँपालिकामा ३, दुप्चेश्वर गाउँपालिकामा ४, पञ्चकन्या गाउँपालिकामा ५, विदुर नगरपालिकामा ६, बेलकोटगडी नगरपालिकामा ५, म्यागङ गाउँपालिकामा ३, लिखु गाउँपालिकामा ३, सूर्यगडी गाउँपालिकामा ३ र शिवपुरी गाउँपालिकामा ४ गरी कुल ४८ विद्यालयमा नर्स खटाइएको छ । 

४ स्थानीय तह रहेको बागमती प्रदेशको सानो जिल्ला भक्तपुरको १९ विद्यालयमा नर्स नियुक्त गरिएको छ । भक्तपुरको चाँगुनारायण नगरपालिकामा ५, भक्तपुर नगरपालिकामा ५, मध्यपुर थिमी नगरपालिकामा ४ र सूर्यविनायक नगरपालिकामा ५ जना नर्स नियुक्त गरिएको छ ।

१० स्थानीय तह रहेको मकवानपुरका ४४ विद्यालयमा नर्स नियुक्त गरिएको छ । मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा ३, कैलाश गाउँपालिकामा ३, थाहा नगरपालिकामा ४, बकैया गाउँपालिकामा ५, बागमती गाउँपालिकामा ५, भीमफेदी गाउँपालिकामा ४, मकवानपुरगढी गाउँपालिकामा ५, मनहरी गाउँपालिकामा ५, राक्सिराङ गाउँपालिकामा ३ र हेटौँडा उपमहानगरपालिकामा ७ जना नर्स खटाइएको छ ।  

रसुवाको १६ विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराइएको छ । रसुवाको उत्तरगया गाउँपालिकामा ३, कालिका गाउँपालिकामा ३, गोसाईकुण्ड गाउँपालिकामा ३, आमाछोदिङ गाउँपालिकामा ३ र नौकुण्ड गाउँपालिकामा ४ जना नर्स खटाइएको छ ।

रामेछापको ३४ विद्यालयमा प्रदेश सरकारले नर्स खटाएको छ । रामेछापको उमाकुण्ड गाउँपालिकामा ३, खाँडादेवी गाउँपालिकामा ४, गोकुलगङ्गा गाउँपालिकामा ३, दोरम्बा गाउँपालिकामा ४, मन्थली नगरपालिकामा ४, रामेछाप नगरपालिकामा ५, सुनापती गाउँपालिकामा ६ र लिखु तामाकोशी गाउँपालिकामा ५ विद्यालयमा नर्सिङ सेवा उपलब्ध छ ।

ललितपुरको २९ विद्यालयमा विद्यालय नर्स कार्यक्रम कार्यान्वयन गरिएको छ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा ३, गोदावरी नगरपालिकामा ५, महालक्ष्मी नगरपालिकामा ५, ललितपुर महानगरपालिकामा ८, बागमती गाउँपालिकामा ५ र महाङ्काल गाउँपालिकामा ३ जना नर्स खटाइएको छ ।

सिन्धुपाल्चोकको ५१ विद्यालयमा विद्यालय नर्स खटाइएको छ । सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिकामा ६, चौतारा साँगाचोकगढी नगरपालिकामा ४, जुगल गाउँपालिकामा ५, त्रिपुरासुन्दरी गाउँपालिकामा  ३, पाँचपोखरी थाडपाल गाउँपालिकामा ४, बलेफी गाउँपालिकामा ४, बाह्रबिसे नगरपालिकामा ५, भोटेकोशी गाउँपालिकामा ३, मेलम्ची नगरपालिकामा ५, लिसंखु पाखर गाउँपालिकामा ४, सुनकोशी गाउँपालिकामा ४ र हेलम्बु गाउँपालिकामा ४ जना नर्स खटाइएको छ ।

सिन्धुलीको ३९ विद्यालयमा नर्स सेवा उपलब्ध गराइएको छ । सिन्धुलीको कमलामाई नगरपालिकामा ६, गोलन्जोर गाउँपालिकामा ५, घ्याङलेख गाउँपालिकामा ३, तीनपाटन गाउँपालिकामा ५, दुधौली नगरपालिकामा ४, फिक्कल गाउँपालिकामा ४, मरिण गाउँपालिकामा ४, सुनकोशी गाउँपालिकामा ४ र हरिहरपुरगढी गाउँपालिकामा ४ जना नर्स ‘एक विद्यालय एक नर्स’ कार्यक्रम अन्तर्गत खटाइएको छ ।

  • ११२ विद्यालयमा छैनन् नर्स

प्रदेशका ११२ विद्यालयमा नर्सको पद रिक्त छ । विभिन्न कारणले ती विद्यालयमा नियुक्त गरिएका नर्सहरूले सेवा छाडेपछि ११२ विद्यालय नर्सविहीन बनेको हो ।

प्रदेशको ११९ स्थानीय तहमध्ये ७१ पालिकाका ११२ विद्यालय नर्सविहीन बनेको हो । प्रदेशको १३ जिल्लामध्ये भक्तपुरको ४ वटै स्थानीय तहमा नर्सको पदपूर्ति छ । प्रदेशका १२ जिल्लामध्ये काठमाडौँका ११ विद्यालय नर्सविहीन बनेको हो ।

त्यस्तै काभ्रेका १३ विद्यालयमा नर्स पद रिक्त छ भने चितवनमा ९, दोलखामा ९, धादिङमा १०, नुवाकोटमा १०, मकवानपुरमा ७, रसुवामा ६, रामेछापमा १२, ललितपुरमा ४, सिन्धुपाल्चोकमा १५ र सिन्धुलीमा ६ विद्यालयमा नर्स छैनन् ।

  • कुन स्थानीय तहमा छैनन् नर्स ?

  • थप ४५७ विद्यालय नर्स भर्ना गरिँदै

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षमा थप ४५७ जना विद्यालय नर्स भर्ना प्रक्रिया अघि बढाएको छ । रिक्त रहेका विद्यालय र कार्यक्रमका लागि छनौट भएका नयाँ विद्यालयमा नियुक्तिका लागि प्रदेशको स्वास्थ्य मन्त्रालयले ४५७ विद्यालय नर्सको विज्ञापन खुला गरेको छ ।

मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालय मार्फत गत फागुन २४ मा करारमा विद्यालय नर्स नियुक्तिका लागि विज्ञापन खुला गरिएको थियो । उक्त पदमा प्रक्रियागत रूपमा उत्तीर्ण भई नियुक्त भएका उम्मेदवारहरूलाई रिक्त रहेका विद्यालय र नयाँ विद्यालयहरूमा खटाइने निर्देशनालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप