आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
भेप प्रकरण

कृष्णबहादुर महराको बयान : ‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन’

सीआईबीले लियो दुई दिन बयान
बिहीबार, ०८ चैत २०८०, १७ : १५
बिहीबार, ०८ चैत २०८०

काठमाडौँ । पूर्व सभामुख कृष्णबहादुर महराको बयान पुरा भएको छ । केन्द्रीय अनुसन्धान ब्युरोका अनुसन्धान अधिकृतहरूले सरकारी वकिलको रोहबरमा दुई दिन महरासँग बयान लिएका हुन् । २०७९ पुस १० मा चिनियाँ नागरिक लि हासोङ्गले ७३० थान इलेक्ट्रिक चुरोट ‘भेप’ मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले उनलाई प्रश्न गरेका छन् ।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि सुन तस्करी जाँचबुझ आयोगले उनलाई सङ्गठित तस्करी गरेको कसुरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । अनुसन्धान अधिकृतहरुसँग नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष समेत रहेका महराले चिनियाँ सुन तस्कर वाङसँग चिनजान रहेको स्वीकारेका छन् ।

अनुसन्धानमा संलग्न एक जना अधिकृतका अनुसार बयानमा उनले भनेका छन्– ‘दाओजिन वाङसँग चिनजान हो, कारोबार गरेको छैन ।’ आफू राजनीति गर्ने हुनाले दिनमा धेरै जनाको फोन आउने र कुरा हुने गरेको महराले बताएका छन् ।

उनले भनेका छन्– ‘दिनहुँ धेरै फोन आउँछ कुरा हुन्छ तर, अहिले विस्तृत कुरा मलाई थाहै हुँदैन ।’ सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि चैत ५ मा उनी पक्राउ परेका हुन् ।

महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । चिनियाँ नागरिक वाङ सुन ल्याउने समूहका सदस्य हुन् । सुन छुटाउन चिनियाँ तस्कर  दाओजिन वाङले पूर्व सभामुख कृष्णबहादुर महरालाई गुहारेको सीआईबीले गरेको अनुसन्धानबाट थाहा भएको छ । भेपमा सुन ल्याउने समूहका आसिन पेङ र दाओजिन वाङ ६० किलो सुन तस्करीमा पनि संलग्न देखिएका छन् । सुन ल्याउने समूहका आसिन, दाओजिन वाङ र लि हासोङ्ग तिनैजना फरार छन् ।

भेपमा सुन भएको थाहा पाएपछि विमानस्थलका नासु रेवन्त खड्काले अर्को समूहसँग मिलेर गोदामबाट चोरेर बेचे । भेप प्रकरणबारे महरा र उनका छोराले अनावश्यक चासो राखेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन भन्सार प्रमुख अरुण पोखरेलले त्यसबारे प्रारम्भिक अनुसन्धान गरेर थप अनुसन्धानका लागी सीआईबीलाई पत्राचार गरेका थिए ।

भेप प्रकरणमा सीआईबीले जीवनकुमार गुरुङसँग बयान लिएको थियो । गुरुङ प्लाटिनम कलेजका सीइओ हुन् । दाओजिन वाङ ६० किलो सुन प्रकरणमा पनि संलग्न छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप