बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
खेलकुद

आजदेखि आईपीएल : चेन्नईलाई बैंग्लुरुको चुनौती

यस्ता छन् चेन्नई र बैग्लोरका बलियो र कमजोर पक्ष
शुक्रबार, ०९ चैत २०८०, ०६ : २१
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबिच खेलिने छ । 

त्यसअघि चेन्नईस्थित एम. ए. चिदम्बरम क्रिकेट रंगशालामा प्रतियोगिताको भब्य उद्घाटन समारोह आयोजना गरिने छ । उद्घाटन समारोहमा बलिउडका चर्चित हस्तीहरुले पनि आफ्नो प्रस्तुति दिने समाचारमा जनाइएको छ । 

उद्घाटन समारोहमा चर्चित गायक एआर रहमान र सोनु निगमले प्रस्तुति दिने भएका छन् । यसका अतिरिक्त अक्षय कुमार, टाइगर श्राफलगायतका चर्चित बलिउड कलाकारले पनि उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने बताइएको छ । 

प्रतियोगिताको १७औँ संस्करणमा चेन्नई सुपर किङ्स, दिल्ली क्यापिटल्स, गुजरात टाइटन्स, कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, पञ्जाब किङ्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंग्लुरु र सनराइजर्स हैदराबादको सहभागिता रहने छ ।  

भारतमा हुने लोकसभा चुनावका कारण हाल आईपीएलको २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको छ । हाल घोषणा गरिएको तालिका अनुसार, पहिलो चरणको अन्तिम खेल अप्रिल ७ तारिखमा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच खेलिने छ ।

प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलाइने छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १७औँ संस्करणका सबै खेल भारतमै खेलाइने दाबी गरेको छ । तर, लोकसभा निर्वाचनका कारण दोस्रो चरणको खेल संयुक्त अरब इमिरेट्स (यूएई) मा खेलाइने विषयमा पनि छलफल भइरहेको समाचारमा जनाइएको छ । 

यद्दपि, बीसीसीआईका सचिव जय शाहले लोकसभा निर्वाचनले आईपीएलमा कुनै असर नपार्ने दाबी गर्दै आएका छन् । लोकसभा चुनावको मिति घोषणापछि बीसीसीआईले बीसीसीआईले आईपीएलको दोस्रो चरणको खेल तालिका पनि छिट्टै सार्वजनिक गरिने जनाएको छ । 

भारतीय निर्वाचन आयोगले लोकसभा चुनाव सात चरणमा गर्ने घोषणा गत शनिबार गरिसकेको छ । आयोगका अनुसार, लोकसभा चुनाव अप्रिल १९ देखि जुन १ तारिखसम्म हुनेछ । त्यसपछि जुन ४ तारिखदेखि मत गणना सुरु हुनेछ ।

उद्घाटन खेलमा साबिक विजेता चेन्नईलाई रोयल च्यालेन्जर्सको चुनौती
आईपीएलको १७औँ संस्करणको उद्घाटन खेल शुक्रबार साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबिच खेलिँदै छ । प्रतियोगिताको उद्घाटन खेल चेन्नईको घरेलु मैदान एम. ए. चिदम्बरम स्टेडियममा खेलिने छ ।

रोयल च्यालेन्जर्स बैंग्लुरुको बलियो र कमजोर पक्ष
यसपटक बैंग्लुरुको टोलीमा प्रभावशाली ब्याट्सम्यानहरूको बलियो उपस्थिति देखिन्छ । टोलीमा कप्तान फाफ डु प्लेसिस, विराट कोहली, क्यामरुन ग्रिन, ग्लेन म्याक्सवेल, दिनेश कार्तिकजस्ता ब्याट्सम्यानहरूको दबदबा देखिन्छ । 

विश्वस्तरका यी ब्याट्सम्यान कुनै पनि बेला खेलको नतिजा आफ्नो पक्षमा पार्न खप्पिस छन् । म्याक्सवेलले अघिल्लो सिजनको आईपीएलमा पनि १८३.४९ को स्ट्राइकर रेटमा कुल चार सय रन बनाएका थिए ।

banglore 4
यसैगरी क्यामरुन ग्रिनले पनि अघिल्लो सिजनको आईपीएलमा १६०.२८ को स्ट्राइक रेटमा कुल चार सय ५२ रन बनाएका थिए । बैंग्लुरुको टोलीमा प्रभावशाली खेलाडीहरुको कुनै कमी नरहे पनि टोलीलाई आवश्यक पर्दा भने उनीहरू खासै चल्न सकेको देखिँदैन । त्यसैले बैंग्लुरुले हालसम्म एकपटक पनि आईपीएलको उपाधि चुम्न सकेको छैन । 

बैंग्लुरुले आईपीएलको १७औँ संस्करणका लागि २० करोड ४० लाख भारतीय रुपैयाँ खर्च गरेर ६ जना प्रभावशाली खेलाडी भित्राएको छ । बैंग्लुरुको टोलीमा यसपटक मोहम्मद सिराज, अल्जारी जोसेफ, लोकी फर्गुसनजस्ता प्रभावशाली बलर पनि छन् । यसका अतिरिक्त बैंग्लुरुले सौरव चौहान, स्वप्निल सिंह र टम करनलाई टोलीमा भित्राएर आफ्नो ब्याटिङलाई थप मजबुत पनि बनाएको छ । 

rcb 1
बैंग्लुरुको सबैभन्दा बलियो पक्ष ब्याटिङ नै हो । बैंग्लुरुको टोलीमा छैटौँ नम्बरसम्म क्रिज समाल्न आउने ब्याट्सम्यान प्रभावशाली छन् । कप्तान फाफ डु प्लेसिस, विराट कोहली, रजत पाटिदार, ग्लेन म्याक्सवेल, क्यामरुन ग्रिन र दिनेश कार्तिक ति नाम हुन् । खासगरी म्याक्सवेल, ग्रिन र कार्तिकले गतिलो फिनिसरको भूमिका निर्वाह गर्न सक्छन् ।  

यसैगरी अल्जारी जोसेफ र लोकी फर्गुसनको आगमनले बैंग्लुरुको बलिङ पनि बलियो देखिएको छ । बैंग्लुरुले अल्जारी जोसेफ, यश दयाल र लोकी फर्गुसनलाई १९ करोड भारतीय रुपैयाँमा खरिद गरेर आफ्नो बलिङ पक्षलाई बलियो बनाएको हो ।  

अल्जारी जोसेफ आफ्नो तिव्र गतिको बलिङ र बाउन्सरका कारण विपक्षी टोलीको ब्याट्सम्यानका लागि टाउको दुःखाईको विषय बन्न सक्छन् । यो सिजन बैंग्लुरुसँग फाफ डु प्लेसिस, विराट कोहली र ग्लेन म्याक्सवेलजस्ता अनुभवी खेलाडी पनि छन्, जसले टोलीलाई हरेक क्षण बलियो नेतृत्व प्रदान गर्ने क्षमता राख्छन् ।

banglore 2

यति हुँदा हुँदै पनि बैंग्लुरुको टोलीमा खेल जिताउन सक्ने स्पिनरहरूको भने अभाव देखिन्छ । यो बैंग्लुरुको सबैभन्दा कमजोर पक्ष हो । टोलीमा स्पिनरका रूपमा मयंक डागर, राजन कुमार, हिमांशु शर्मा र करण शर्माजस्ता नयाँ खेलाडीमात्र छन् । उनीहरूमा अनुभवको निकै कमी देखिन्छ ।

यसैगरी बैंग्लुरुको टोलीमा माथिल्लो क्रममा एकजना पनि बायाँ हाते खेलाडी सहभागी छैनन् । बैंग्लुरुको अर्को कमजोरी भनेको आवश्यक पर्दा खेलाडीहरूले प्रभावकारी प्रदर्शन गर्न नसक्नु हो । हालसम्म बैंग्लुरु तीनपटक आईपीएलको फाइनलमा पुगिसकेको छ । पाँचपटक प्ले अफ चरणमा पनि पुगेको छ । तर, हालसम्म उपाधिसम्म भने पुग्न सकेको छैन । 

banglore 3
चेन्नई सुपर किङ्सको बलियो र कमजोर पक्ष 
चेन्नई सुपर किङ्स आईपीएलको साबिक विजेता टोली हो । यसपटक पनि चेन्नई कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा मैदानमा ओर्लने आङ्कलन गरे पनि अन्तिम समयमा ऋतुराज गायकवाडलाई कप्तान नियुक्त गरिएको छ । 

chennai 1
धोनी आईपीएलको इतिहासमै सर्वाधिक सफल कप्तान हुन् । उनले हालसम्म चेन्नईलाई पाँचपटक आईपीएलको उपाधि चुमाइसकेका छन् । भारतीय टोलीका पूर्वकप्तानसमेत रहेका धोनीले सन् २०१० मा चेन्नईलाई पहिलो पटक आईपीएलको उपाधि दिलाएका थिए ।

त्यसपछि पनि उनकै कप्तानीमा चेन्नईले सन् २०११, सन् २०१८, सन् २०२१ र सन् २०२३ मा आईपीएलको उपाधि चुमेको थियो । यसपटक पनि धोनीको अनुभवबाट चेन्नईले महत्त्वपूर्ण उपलब्धिको आशा गरेको छ । 

खासगरी हरेक प्रतिद्वन्द्वीविरुद्ध उपयुक्त रणनीति बनाउन पनि धोनी माहिर मानिन्छन् । सन् २०२३ को आईपीएलमा पनि धोनीले १८२.४६ को स्ट्राइक रेटमा रन बनाएका थिए । धोनीका अतिरिक्त नयाँ कप्तान ऋतुराज गायकवाड, रवीन्द्र जडेजाजस्ता प्रभावशाली खेलाडी पनि चेन्नईको भरोसाका केन्द्र हुन् । 

यसपटक टोलीमा केही कमजोरी पनि देखिएको छ । डेभोन कनवे र मथिसा पाथिराना घाइते भएका कारण चेन्नई केही दबाबमा छ । यसका अतिरिक्त चेन्नईमा तीव्र गतिका प्रभावशाली बलरको पनि अभाव देखिन्छ । 

chennai 3
चेन्नई सुपर किङ्सले आईपीएलको १७औँ संस्करणका लागि भएको अक्सनमार्फत ६ जना खेलाडी खरिद गरेको थियो । त्यसमध्ये तीनजना विदेशी र दुईजना भारतीय खेलाडी थिए । दुवै भारतीय खेलाडीले भने यसअघि आईपीएल खेलेका छैनन् । 

चेन्नईले यसपटक खरिद गरेका ६ खेलाडी समिर रिजवी, ड्र्याल मिचेल, शार्दुल ठाकुर, रचिन रवीन्द्र, अवनिश राव अरावेली र मुस्तफिजुर रहमान हुन् । यसपटक चेन्नईको टोलीमा नौजना अलराउन्डर खेलाडी छन् । टोलीमा ड्यारल मिचेल, मिचेल सान्टनर, रचिन रवीन्द्र, मोइन अली, रवीन्द्र जडेजाजस्ता प्रभावशाली खेलाडी छन् भने पाथिराना, शार्दुल ठाकुर, मुस्तफिजुर रहमानजस्ता आक्रामक बलर पनि छन् ।   

chennai 4
चेन्नईले शुक्रबार खेलिने पहिलो खेलमा नयाँ कप्तान ऋतुराज गायकवाड, महेन्द्रसिंह धोनी, रचिन रवीन्द्र, अजिनक्या रहाणे, समिर रिजवी, मोइन अली वा ड्यारल मिचेल, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, दीपक चाहर, महिशा तिक्षणा र पाथिरानालाई मैदानमा ओराल्ने सम्भावना छ । 

बलियो ब्याटिङ चेन्नईको सबैभन्दा बलियो पक्ष हो । लामो समयदेखि ओपनर ऋतुराज गायकवाड लयमा देखिँदै आएका छन् । उनले पछिल्लो तीन सिजनमा टोलीका लागि एक शतक र ११ वटा अर्धशतकको मद्दतले एक हजार पाँच सय ९३ रन बनाइसकेका छन् ।

अघिल्लो सिजनको आईपीएलमा पनि उनको स्ट्राइक रेट १४७.५० रहेको थियो । उनलाई रचिन रवीन्द्रले गतिलो साथ दिने सम्भावना छ । रचिनले केही समयअघि भारतमै सम्पन्न आईसीसी एकदिवसीय विश्वकपमा पनि आफ्नो क्षमता देखाइसकेका छन् । 

chennai 2
यसैगरी तेस्रो नम्बरमा अजिनक्या रहाणे क्रिज समाल्न आउने सम्भावना देखिन्छ । उनले अघिल्लो सिजनको आईपीएलमा पनि १७२.४९ को स्ट्राइक रेटमा कुल तीन सय २६ रन बनाएका थिए । मध्यक्रमको जिम्मेबारी भने मोइन अली, रवीन्द्र जडेजा, ड्यारल मिचेल र धोनीले सफलतापूर्वक वहन गर्नेछन् । 

तल्लोक्रमको ब्याटिङमा पनि चेन्नईले शार्दुल र चाहरबाट उत्कृष्ट प्रदर्शनको आशा गरेको छ । यसका अतिरिक्त शिवम दुबेबाट पनि टोलीले निकै आश गरेको छ । रहमान र शार्दुलको आगमनपछि चेन्नईको बलिङ पनि केही सुदृढ देखिएको छ । हाल पाथिराना घाइते भए पनि उनी छिट्टै टोलीमा फर्किने सम्भावना छ । जडेजा, मोइन अली, सान्टनरसँगै स्पिनर महिश तिक्षणा पनि लयमा देखिएका छन् । 

चेन्नईको सबैभन्दा ठुलो कमजोरी माथिल्लो क्रमको ब्याटिङमा धेरै विकल्प नरहनु हो । हाल चेन्नईसँग पाँचजना प्रभावशाली ब्याट्सम्यान छन् । त्यसमध्ये पनि कनवे हाल घाइते अवस्थामा छन् । उनले आईपीएलको करिब आधा खेल गुमाउने सम्भावना छ । 

चेन्नईको टोलीमा तीव्र गतिका बलरको पनि अभाव देखिन्छ । चेन्नईको यो अर्को कमजोर पक्ष हो । हाल टोलीमा मुस्तफिजुर र शार्दुलका रूपमा दुईजना मध्यमतेज गतिका बलर छन् । तर, तीव्र गतिका प्रभावशाली बलर एकजना पनि छैनन् । 

विपक्षी टोलीहरुसँग मिचेल स्टार्क, जसप्रित बुमराह, कागिसो राबडा, प्याट कमिन्सजस्ता प्रभावशाली तीव्र गतिका बलरहरु रहँदा यो पक्षमा भने चेन्नई केही कमजोर देखिन्छ । प्लेइङ–११ मा चारजना विदेश खेलाडी समावेश गर्न सकिने प्रवधान छ । 

हालको अवस्थामा तिक्षण, रचिन र मुस्तफिजुर वा पाथिराना गरी तीनजना विदेशी खेलाडी खेल्न बलियो सम्भावना देखिन्छ । त्यसदेखि बाहेक मोइन अली र ड्यारेल मिचेलमध्ये एक खेलाडीलाई मात्र मैदानमा ओराल्ने विकल्प चेन्नईसँग बाँकी रहने छ । यही कारणले सान्टनरजस्ता प्रभावशाली खेलाडीले पनि अधिकांश खेलमा बेञ्चमै बस्नु पर्ने अवस्था देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप