आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रदेश अध्यक्षलाई घटुवा गरेर अपानि जारी गर्दै एमाले

शुक्रबार, ०९ चैत २०८०, १४ : ३१
शुक्रबार, ०९ चैत २०८०

काठमाडौँ । झन्डै एक वर्षअघि प्रदेश अध्यक्षलाई पोलिटब्युरो सदस्य सरह मान्यता दिने निर्णय गरेको नेकपा एमालेले उक्त निर्णय सच्याउने तयारी गरेको छ ।

प्रदेश अध्यक्षलाई पोलिटब्युरो सदस्य सरह मान्यता दिँदा आफूहरू ओझेलमा परेको भन्दै सम्बन्धित प्रदेशका स्थायी कमिटी सदस्यहरूले विरोध गरेपछि एमालेले उक्त निर्णय सच्याउँदै केन्द्रीय कमिटी सदस्य सरह कायम गर्ने गरी निर्णय सच्याउन लागेको हो ।

गत फागुन पहिलो साता बसेको एमाले केन्द्रीय कमिटी बैठकमा प्रदेश अध्यक्षलाई पोलिटब्युरो सरहको मान्यता दिँदा आफूहरूको भूमिका ओझेलमा परेको र जिल्लादेखि प्रदेशसम्म प्रदेश अध्यक्ष नै हाबी भएको भन्दै अधिकांश स्थायी कमिटी सदस्यहरूले असन्तुष्टि जनाउँदै निर्णय सच्याउनुपर्ने धारणा राखेका थिए । त्यस क्रममा प्रदेश अध्यक्षलाई पोलिटब्युरोको मान्यता दिँदा साङ्गठानिक असन्तुलन हुने र आगामी दिनमा भ्रातृ संस्थाका प्रमुखहरूलाई पनि सोही अनुसारको जिम्मेवारी दिनुपर्ने अवस्था आउने भएकाले अराजकता निम्तन सक्ने स्थायी कमिटी सदस्यहरूले बताएका थिए ।  स्थायी कमिटी सदस्यहरूको धारणा सुनेपछि अध्यक्ष ओलीले अव जारी हुने अन्तर पार्टी निर्देशन (अपानि) मा अघिल्लो निर्णय सच्याउने  प्रतिबद्धता जनाएका थिए ।

‘गत जेठमा बसेको सचिवालय बैठकले प्रदेश अध्यक्षको वरीयता पोलिटब्युरो सदस्य सरह हुने निर्णयमा यही फागुनमा बसेको केन्द्रीय कमिटी बैठकमा अधिकांश स्थायी कमिटी सदस्यले असन्तुष्टि जनाएका थिए’, एक जना पदाधिकारीले भने, ‘उक्त निर्णय सच्चाउनुपर्ने आवाज उठेपछि अध्यक्षले सच्चाउने बचन दिनुभएको हो ।’

ती सदस्यका अनुसार अव बस्ने केन्द्रीय सचिवालय बैठकमा समेत छलफल गरेर प्रदेश अध्यक्षको वरियता केन्द्रीय सदस्य सरह बनाइने छ । ‘निर्णय सच्चाएर अपानि जारी गर्ने तयारी छ’, उनको भनाइ छ ।

केन्द्रीय समिति बैठकमै ओलीले यस्तो प्रतिबद्धता जनाए पनि बैठक सकिएको एक महिनासम्म अपानि जारी भएको छैन ।  अपानि जारी नभएकाले अव बस्ने केन्द्रीय सचिवालय बैठकपछि अपानि जारी गर्ने र प्रदेश अध्यक्षको वरीयता घटाएको निर्णयसहितको सर्कुलर जारी गर्ने तयारी भएको छ । बैठकको निर्णयसम्बन्धी सर्कुलर जारी भएपछि प्रदेश अध्यक्षहरूको वरीयता औपचारिक रूपमै घट्ने बताइएको छ । 

एमाले उपमहासचिव समेत रहेका नेता विष्णु रिमालले प्रदेश अध्यक्षहरूको वरीयता अहिले कायम रहेको भन्दै घटाउने तयारी गरेको सङ्केत गरे । रिमालले रातोपाटीसँग यति मात्र भने, ‘अहिलेसम्म पहिलाको जे छ त्यही नै हो अन्यथा निर्णय नभएसम्म । आवश्यक परे सचिवालयले आफ्नो निर्णय सच्चाउन पनि सक्छ ।’

नेकपा एमालेको प्रदेश अध्यक्षमा क्रमशः कोशीमा घनश्याम खतिवडा, मधेस प्रदेशमा चन्देश्वर मण्डल, बागमतीमा कैलाश ढुङ्गेल, गण्डकीमा नवराज शर्मा, लुम्बिनीमा रामकृष्ण कँडेल, कर्णाली गुलाबजंग शाह, सुदूरपश्चिममा कृष्णप्रसाद जैसी र उपत्यका प्रदेशमा प्रेम पराजुली छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप