सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

होली शालीनता, मेलमिलाप र आत्मीयता अभिवृद्धिको पर्व हो : उपराष्ट्रपति

आइतबार, ११ चैत २०८०, ०७ : ०८
आइतबार, ११ चैत २०८०

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागु पूर्णिमाको अवसरमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने महान् अवसरका रूपमा सबैले यसलाई उपयोग गर्न आह्वान गरेका छन् । 

स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उनले आपसी समझदारी, सद्भाव, समरसता, मैत्रीभाव, अपनत्वभाव र समानताको प्रतीकका रूपमा रहेको होली पर्व शालीनता, परस्पर मेलमिलाप र आत्मीयता अभिवृद्धि गर्ने अवसर भएको समेत बताए । 

“सबैले आपसी मनोमालिन्यता, रिस, राग, द्वेष, क्लेश, मतभेद बिर्सेर एकअर्कालाई रङ अबिर लगाउँदै फागु पूर्णिमा  (होली पर्व) मनाउनुले हामीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव, सौहार्दता र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै होलीपर्वको हार्दिक शुभकामना व्यक्त गर्दछु”, उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भनेका छन् । 

बहुआयामिक महत्व बोकेको यस पर्वका ऐतिहासिक, धार्मिक, सामाजिक र सांस्कृतिक पक्षलाई नयाँ पिँढीमा हस्तान्तरण गर्ने र यसका सकारात्मकतालाई अङ्गीकार गर्दै यसलाई जीवन्त बनाउन आवश्यक रहेको उनको भनाइ छ ।

उपराष्ट्रपति यादवले होलीको सांस्कृतिक महत्वबारे उल्लेख गर्दै पछिल्लो समय यो परम्पराले विकृत स्वरुप ग्रहण गर्नु चिन्ताको विषय भएको बताए । “अपरिचित, जोसुकै बटुवा, आफूभन्दा जेठो, ज्येष्ठ नागरिकलगायतमाथि फोहर पानी छ्याप्ने, लोला हान्ने र हुलहुज्जत गर्नेजस्ता कुसंस्कृतिले होलीलाई अमर्यादित बनाउनु हुँदैन । यसप्रति सम्बन्धित सबै सचेत र सावधान हुन अतिआवश्यक छ”, शुभकामना सन्देशमा उनले भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप