सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

सरकारले आयोगलाई दियो १० करोड, यसरी हुँदैछ उपनिर्वाचनको तयारी

सूक्ष्म रूपमा सुरक्षा संयन्त्र प्रयोग गरी अध्ययन गर्दै आयोग
आइतबार, ११ चैत २०८०, १६ : ०९
आइतबार, ११ चैत २०८०

काठमाडौँ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई १० करोड रुपैयाँ बजेट खर्च गर्न स्वीकृति दिएको छ । आयोगले इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचन र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा हुन लागेको उपनिर्वाचनका लागि अर्थ मन्त्रालयसँग १० करोड रकम मागेको थियो । 

आयोगले मागेअनुसार मन्त्रालयले सो बराबरको रकम खर्च गर्न स्वीकृति प्रदान गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रातोपाटीलाई जानकारी दिए । आयोगले मागेको रकममध्ये झन्डै ८ करोड रुपैयाँ खर्च हुने अनुमान रहेको उनले बताए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘आयोगले मागेको १० करोड स्वीकृत पनि भइसक्यो, हामीलाई त्यति धेरै त चाहिँदैन, सात–आठ करोड रुपैयाँ लाग्छ जस्तो लाग्छ । कर्मचारी घटाउने नै मुख्य खर्च हो । बजेट स्वीकृति भइसक्यो, अख्तियारी गर्ने काम भइरहेको छ, कार्यालय स्थापना हुनासाथ हामी बजेट पठाइहाल्छौँ ।’

उपनिर्वाचनमा मतगणना कार्य मतदानस्थलबाटै गर्न खोजे पनि कानुनी जटिलताका कारण गर्न नसिकिएको थपलियाले जानकारी दिए । 

आयोगले यतिबेला मतदाता नामावली अद्यावधिक गर्ने र निर्वाचन सामग्री व्यवस्थापनको काम गरिरहेको उनले बताए । निर्वाचन हुने जिल्लामा कति सामग्री छ, नपुग्ने भए अर्को जिल्लाबाट कति लैजानुपर्छ भनेर निर्वाचन सामग्री व्यवस्थापन भइरहेको उनको भनाइ छ । 

 मुख्य निर्वाचन अधिकृत तोक्नका लागि नाम माग्ने तथा कार्यालय व्यवस्थापन गर्ने काम भइरहेको प्रमुख आयुक्त थपलियाले बताए । उनले भने, ‘यस्तै हामीले सूक्ष्म रूपमा सुरक्षा संयन्त्र प्रयोग गरेर त्यहाँको अवस्था के छ, मतदातामा कत्तिको उत्साह छ, दलहरूप्रतिको दृष्टिकोण के छ, निर्वाचनमा कुनै अप्ठेरो स्थिति, शान्ति सुरक्षा सम्बन्धी कुनै अप्ठेरो आउँछ कि भनेर सूक्ष्म ढङ्गले अध्ययन गर्ने काम भइरहेको छ । चैत २२ गते जब हामी अन्तिम मतदाता नामावली निकाल्छौँ, २४ गते उम्मेदवारी दर्ता हुन्छ, यसरी फटाफट हामी अगाडि बढ्छौँ ।’

निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत चयनका लागि न्यायाधीशहरूको नाम प्राप्त भएको र चैत २२ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय खोल्ने तयारी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । 

मतदाता नामावली अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको र उपनिर्वाचन भएकाले कामको चाप धेरै नरहेको पौड्यालले बताए । 

उनले भने, ‘यो उपनिर्वाचनमा धेरै खरिदको काम गर्नु नपर्ने, निर्वाचन अधिकृतको कार्यालय पनि २ वटा मात्र हुने भएकोले आयोगलाई त्यति धेरै कामको चाप चाहिँ छैन । कार्यतालिका अनुसार नियमित रूपमा भइरहनुपर्ने कामहरू अघि बढिरहेका छन् ।’

जति उम्मेदवार, त्यतिमात्रै मतपत्रमा चिह्न

यो उपनिर्वाचनमा उम्मेदवारी परे अनुसार मात्र मतपत्रमा चुनाव चिह्न राखिने भएको छ ।  उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि कति उम्मेदवारी परेको छ, त्यतिमात्रै मतपत्रमा चिन्ह राखिने प्रवक्ता पौड्यालले जानकारी दिए । 

उनले भने, ‘उम्मेदवारी जति पर्छ मतपत्रमा त्यतिमात्रै चुनाव चिह्न राख्छौँ । विगतमा आम निर्वाचनका बेला हामीलाई यसरी चुनाव चिह्न राख्न सम्भव थिएन । त्यतिबेला करिब बिस–पच्चिस दिन मतपत्र छपाई गर्नुपर्थ्यो, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिसकेपछि निर्वाचनको समयसम्ममा मतपत्र छपाएर ढुवानी गर्नुपर्ने भएकोले उम्मेदवारको सङ्ख्या अनुसारको चिह्न राखेर मतपत्र छपाई गर्न सम्भव थिएन । दल दर्ता भएको आधारमा मतपत्रमा चिह्न राख्ने काम गर्थ्यौँ । आम निर्वाचनमा असी–नब्बे वटा दल हुन्थे, त्यही अनुसार हामीले निर्वाचन चिन्ह राख्थ्यौँ । यो निर्वाचनमा जति उम्मेदवार त्यतिमात्रै चिन्ह राख्छौँ ।’ 

आगामी चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यसूची रहेको छ भने चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यसूची रहेको छ । अन्तिम नामावली प्रकाशन गरेसँगै राजनीतिक दल तथा स्वतन्त्रबाट के कति उम्मेदवारी प¥यो त्यसका आधारमा निर्वाचन चिह्न रहने गरी मतपत्र छपाइको काम अघि बढ्ने प्रवक्ता पौड्यालले जानकारी दिए । 

निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे बुझ्न स्थलगत भ्रमणमा आयोग 

आयोगले इलाममा निर्वाचनको तयारी र सुरक्षा अवस्थाबारे स्थलगत रूपमा जानकारी लिएको छ । आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्याले इलाम पुगेर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन् ।

औपचारिक रूपमा मुख्य निर्वाचन अधिकृत नतोकिएपनि इलाम जिल्ला अदालतका न्यायाधीशलाई आफूले भेटेको उनले बताए । यस्तै प्रमुख जिल्ला अधिकारीलाई भेटेर सुरक्षाको अवस्था कस्तो भन्नेबारे बुझेको र आयोगको तर्फबाट ‘हाईअर्लट’ हुनुपर्ने कुरा जानकारी गराएको पौड्यालले जानकारी दिए । 

यस्तै जिल्ला निर्वाचन कार्यालयमा निर्वाचन सामग्रीको अवस्था हेर्ने तथा बुझ्ने काम गरेको भन्दै उनले केही मतदान केन्द्रहरुको अवस्था पनि अवलोकन गरेर काठमाडौँ फर्किएको जानकारी दिए । 

इलाम क्षेत्र नम्बर २ मा १४९ वटा मतदान केन्द्र रहेको र नयाँ मतदाता नामावली आएपछि एक दुई वटा थपघट हुन सक्ने पौड्यालले जानकारी दिए ।   

एमालेले छान्यो उम्मेदवार, अन्य दलको बाँकी 

नेकपा एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधन भएपछि खाली रहेको इलाम क्षेत्र नम्बर २ मा हुन लागेको उपनिर्वाचनमा उनकै कान्छा छोरा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । यस्तै बझाङ १(१)प्रदेश निर्वाचन क्षेत्रमा पनि एमालेले दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । 

अन्य दलहरुले भने उम्मेदवारको टुङ्गो लगाइसकेका छैनन् । नेपाली कांग्रेसले उम्मेदवार छनौटका लागि महासमिति सदस्य भेषराज आचार्य, पूर्वराज्यमन्त्री केशव थापा, जिल्ला सभापति डम्बरबहादुर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल, रमेश लिङ्देन, शान्तिकला तामाङ (राई) र चन्द्रमाया लिम्बूको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ । 

यता माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दलले यसबारे कुनै निर्णय लिएका छैनन् । उता राष्ट्रिय स्वतन्त्र पार्टीले चैत १४ गतेसम्मका लागि उम्मेदवार हुन चाहनेहरूबाट आवेदन माग गरेको छ । पार्टी सदस्यहरूबाट प्रारम्भिक मतदान गराएर उम्मेदवार छान्ने नीति लिएको रास्वपाले चैत १७ गते उम्मेदवार सार्वजनिक गर्ने कार्यतालिका बनाएको छ । 

इलाममा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा भाग लिनका लागि २० राजनीतिक दल आयोगमा दर्ता भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप