सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
टी -२० क्रिकेट

नेपालले आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हरायो

सोमबार, १२ चैत २०८०, १६ : ०५
सोमबार, १२ चैत २०८०


काठमाडौँ । नेपालले पहिलो टी–२० क्रिकेटमा सोमबार आयरल्यान्ड ‘ए’ लाई ६ विकेटले हराएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय २१ रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.१ ओभरमै केवल चार विकेट गुमाएर विजय लक्ष्य पुरा गर्यो । नेपालको जितमा सन्दीप जोरा, कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले महत्वपूर्ण योगदान गरे । सन्दीप जोराले ३६, कुशल भुर्तेलले अविजित ३७ र दीपेन्द्रसिंह ऐरीले अविजित २० रन बनाए ।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले ३२ बलको सामना गरी चार चौका हिर्काए । सन्दीप जोराले ३५ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । छैटौँ नम्बरमा क्रिज समाल्न आएका दीपेन्द्रले १२ बलमा एक छक्का दुई चौका हिर्काए ।

नेपालका लागि ओपनर आसिफ शेखले पनि १६ रन जोडे । नेपालले अतिरिक्त रुपमा नौ रन पाएको थियो । आयरल्यान्ड ‘ए’ का बलर गारेथ डेलानीले दुई तथा बेन ह्वाइट र थोमस मायसले एक–एक विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ का लागि भने ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीले सर्वाधिक ४६ रन बनाएका थिए । अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । थोमस मायस र लियाम म्याकार्थीले १६–१६ रन जोडे । फियोन ह्यान्डले ११ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

नेपाली टोलीका बलर कुशल भुर्तेल, गुलसन झा र ललित राजवंशीले दुई–दुई विकेट लिएका थिए । कुशल मल्ल र करण केसीले पनि एक–एक विकेट हात पारे । आयरल्यान्ड ‘ए’ ले अतिरिक्त रुपमा केवल पाँच रन पाएको थियो ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान असिफ शेख पेभेलियन फर्किएका थिए । आउट हुनुअघि उनले ११ बलमा एक छक्का र दुई चौकाको मद्दतले १६ रन बनाएका थिए । उनलाई आयरल्यान्ड ‘ए’ का बलर गारेथ डेलानीले एलबीडब्लूको धरापमा पारेका थिए । ३.२ ओभरमा आसिफ आउट हुँदा नेपालले ३२ रन बनाएको थियो ।

नेपालले दोस्रो विकेटका रुपमा भने कप्तान रोहित पौडेललाई शून्य रनमै गुमाएको थियो । उनलाई आयरल्यान्डका बलर डेलानीले डोहेनीद्वारा क्याच गराएका थिए । ३.४ ओभरमा कप्तान रोहित आउट हुँदा नेपालले ३२ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रुपमा चौथो नम्बरका ब्याट्सम्यान गुलसन झालाई गुमाएको थियो । उनी चार रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई आयरल्यान्डका बलर बेन ह्वाइटले कार्माइकलद्वारा क्याच गराएका थिए । ४.५ ओभरमा गुलसन आउट हुँदा नेपालले ३७ रन बनाएको थियो ।

नेपालले चौथो विकेटका रुपमा सन्दीप जोरालाई गुमाएको थियो । उनी टोलीका लागि उत्कृष्ट पाली खेल्दै पेभेलियन फर्किएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका उनले ३६ रन बनाए । उनले ३५ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काएका थिए । सन्दीपलाई आयरल्यान्डका बलर मायसले डोहेनीद्वारा क्याच गराएका थिए । १३.१ ओभरमा उनी आउट हुँदा नेपालले ९१ रन बनाएको थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ को पहिलो विकेट करण केसीले लिएका थिए । उनले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान मार्क एडिरलाई चार रनको ब्यक्तिग स्कोरमा बोल्ड गरेका थिए । पहिलो ओभरको दोस्रो बलमा मार्क आउट हुँदा आयरल्यान्डले केवल चार रन बनाएको छ ।

आयरल्यान्ड ‘ए’ को दोस्रो विकेट ललित राजवंशीले लिएका थिए । उनले आयरल्यान्ड ‘ए’ का तेस्रो नम्बरका ब्याट्सम्यान केड कार्माइकललाई आठ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । चौथो ओभरको अन्तिम बलमा केड आउट हुँदा आयरल्यान्डले २५ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को तेस्रो विकेट गुलसन झाले लिएका थिए । गुलसनले आयरल्यान्ड ‘ए’ का चौथो नम्बरका ब्याट्सम्यान मोर्गन टपिङलाई खाता खोल्नुअघि नै बोल्ड गरेका थिए । ६.२ ओभरमा मोर्गन आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ३८ रन बनाएको थियो ।  

आयरल्यान्ड ‘ए’ को चौथो विकेट पनि गुलसन झाले नै लिएका थिए । गुलसनले आयरल्यान्ड ‘ए’ का कप्तान निल रकलाई पाँच रनको ब्यक्तिग स्कोरमा कुशल मल्लद्वारा क्याच गराएका थिए । गुलसनले लिएको यो दोस्रो विकेट हो । ८.१ ओभरमा रक आउट हुँदा आयरल्यान्डले ५१ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट कुशल मल्लले लिएका थिए । कुशल मल्लले आयरल्यान्ड ‘ए’ का छैटौँ नम्बरका ब्याट्सम्यान गारेथ डेलानीलाई चार रनको ब्यक्तिग स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । १०.२ ओभरमा डेलानी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ६३ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को छैटौँ विकेट कुशल भुर्तेलले लिएका थिए । कुशल भुर्तेलले आयरल्यान्ड ‘ए’ का ओपनर ब्याट्सम्यान स्टेफन डोहेनीलाई दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । विकेटकिपर ब्याट्सम्यान स्टेफनले पेभेलियन फर्किनुअघि ४६ रन बनाएका थिए । उनले केवल ३९ बलको सामना गरी दुई छक्का र चार चौका पनि हिर्काएका थिए । १३.१ ओभरमा उनी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ७५ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को सातौँ विकेट पनि कुशल भुर्तेलले नै लिएका थिए । उनले आयरल्यान्ड ‘ए’ का सातौँ नम्बरका ब्याट्सम्यान फियोन ह्यान्डलाई ११ रनको ब्यक्तिग स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । कुशल भुर्तेलले लिएको यो दोस्रो विकेट थियो । दीपेन्द्रले लिएको यो तेस्रो क्याच थियो । १५.१ ओभरमा ह्यान्ड आउट हुँदा आयरल्यान्ड ‘ए’ ले ८४ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को आठौँ विकेट ललित राजवंशीले लिएका थिए । ललितले आयरल्यान्ड ‘ए’ का नवौँ नम्बरका ब्याट्सम्यान लियाम म्याकार्थीलाई १६ रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । ललितले लिएको यो दोस्रो विकेट थियो । १६.३ ओभरमा म्याकार्थी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले एक सय दुई रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ को नवौँ विकेटका रुपमा थोमस मायर पेभेलियन फर्किएका थिए । आठौँ नम्बरमा क्रिज समाल्न आएका उनी रन आउट भएका थिए । पेभेलियन फर्किनुअघि थोमसले १६ रन बनाएका थिए । १९ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा आयरल्यान्ड ‘ए’ ले एक सय १८ रन बनाएको थियो ।

आयरल्यान्ड ‘ए’ ले अन्तिम विकेटका रुपमा म्याथ्यु हम्फ्रेजलाई गुमाएका थिए । गुमाएको थियो । उनी रन आउट भई पेभेलियन फर्किएका थिए । अन्तिम ओभरको अन्तिम बलमा आउट हुनुअघि उनले ६ रन बनाएका थिए । बेन ह्वाइट भने शून्य रनमा अविजित रहे ।

नेपालको राष्ट्रिय टोली र आयरल्यान्ड ‘ए’ बिचको दोस्रो खेल मंगलबार खेलिने छ । आयरल्यान्ड ‘ए’ सँग दुईवटा टी–२० खेलेर नेपाली राष्ट्रिय टोली भारतमा त्यहाँको घरेलु क्लबसँग त्रिकोणात्मक शृंखला खेल्न त्यसतर्फ प्रस्थान गर्नेछ ।

भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय टोलीले गुजरात र बरोडाको टोलीसँग त्रिकोणात्मक शृंखला खेल्नेछ । त्यसपछि नेपालको ‘ए’ टोलीले घरेलु मैदानमा आयरल्यान्ड ‘ए’ सँग टी–२० र एकदिवसीय प्रतियोगिता खेल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप