सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वकप छनोट फुटबल : आज बहराइनसँग दोस्रो खेल खेल्दै नेपाल

मङ्गलबार, १३ चैत २०८०, १२ : २९
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । नेपालले मंगलबार बहराइनसँग उसैको घरेलु मैदानमा फिफा विश्वकपअन्तर्गत एसियाली क्षेत्रको दोस्रो चरणको छनोटमा दोस्रो लेग खेल खेल्दैछ । विश्वकप छनोट खेल्न नेपाली टोली बहराइनमै छ । खेल नेपाली समयअनुसार, राति १२ः४५ बजे सुरु हुनेछ ।

यसअघि गत बिहीबार खेलिएको बहराइनविरुद्धको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाली टोली ०–५ गोलको ठूलोअन्तरले पराजित भएको थियो । बहराइनविरुद्धको पहिलो खेलमा प्रारम्भदेखि नै नेपाली टोली निरीह बनेको थियो ।

दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिचको एउटा खेल नेपालमा खेलिनु पर्ने थियो । तर, दशरथ रङ्गशालाको अवस्था सन्तोषजनक नरहेको कारण देखाउँदै अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुईवटै खेल बहराइनमै खेल्ने सहमति जनाएको हो ।

यसअघि नेपालले विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेल खेलेको थियो । उक्त खेलमा पनि नेपाली टोली १–५ गोलले पराजित भएको थियो । विश्व फुटबल महासंघ (फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा बहराइन निकै नै अगाडि छ ।

फिफाको पछिल्लो वरीयतामा बहराइन ८२औँ स्थानमा आसिन छ । नेपाल भने पछिल्लो फिफा वरीयताको एक सय ७५औं स्थानमा छ । नेपाल र बहराइनबिचको खेल विश्वकप छनोटसँगै एएफसी एसियन कपको छनोट खेल पनि हो ।

एसियाली क्षेत्रको दोस्रो चरणको विश्वकप छनोटमा नेपाल समूह ‘एच’ मा रहेको छ । उक्त समूहमा नेपाल र बहराइनका अतिरिक्त संयुक्त अरब इमिरेट्स (यूएई) र यमन पनि छन् । सबै टोलीले तीन–तीन खेल खेलिसकेका छन् ।

यूएई नौ अंकसहित तालिकाको पहिलो स्थानमा आसिन छ । दोस्रो स्थानमा आसिन बहराइनको ६ अंक छ । तीन अंकसहित यमन तेस्रो स्थानमा छ । नेपालले भने हालसम्म खेलिएको तीनवटै खेलमा पराजय भोगेको छ ।

उक्त खेलका लागि घोषित नेपाली टोलीमा गोलरक्षकका रुपमा किरण चेम्जोङ, विशाल सुनार र अभिषेक बराल रहेका छन् । रक्षापँक्तिमा अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ रहेका छन् ।

यसैगरी मध्यपँक्तिमा भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई रहेका छन् । अग्रपँक्तिमा अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जिव विष्ट छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप