शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
विद्युत् व्यापार

निरन्तर पानी पर्दा बढ्यो बिजुली उत्पादन, भारततर्फ २५० मेगावाटसम्म निर्यात

मङ्गलबार, १३ चैत २०८०, १६ : ३९
मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । मौसम परिवर्तन भएसँगै लगातार पानी पर्न थालेपछि बिजुली उत्पादन बढेको छ । ४–५ दिनयता लगातार पानी पर्दा सुख्खायाममा नै भारतमा बिजुली निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा (होली)को समयमा २५० मेगावाटसम्म बिजुली भारत बेचिएको हो ।

बिजुली उत्पादनमा नेपालको जडित क्षमता करिब ३ हजार मेगावाट छ । तर सबैजसो उत्पादन नदी प्रवाहमा आधारित (आरओआर) आयोजनाबाट हुन्छ । यसको अर्थ सुख्खायामको तुलनामा अत्यधिक बिजुली उत्पादन वर्षायाममा हुन्छ । जब सुख्खायाम सुरु हुन्छ, तब उत्पादन घटेर न्यून अवस्थामा आइपुग्छ ।

चालू आर्थिक वर्षमा विद्युत् प्राधिकरणले वर्षायाममा साढे १५ अर्बको बिजुली भारत बेच्यो । यो साउनदेखि कात्तिक अन्तिम वा मङ्सिर पहिलो सातासम्मको तथ्याङ्क हो । सो अवधिमा नेपालबाट साढे ६०० मेगावाटसम्म बिजुली भारतलाई बेचिएको थियो । तर मङ्सिरसँगै नदीको बहाव घट्न थालेसँगै भारतले दैनिक साढे ५०० मेगावाटसम्म आयात गरिरहेको छ ।

निरन्तर पानी पर्न थालेसँगै र दुई दिन (पहाडमा एक दिन र तराईमा दुई दिन) होलीको सार्वजनिक बिदा पनि पर्‍यो । यो अवधिमा पूर्वी क्षेत्रका आयोजनाबाट क्षमताको ४० प्रतिशतसम्म उत्पादन भयो । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोसका अनुसार काबेली करिडोर र सोलु करिडोरको उत्पादन ४० प्रतिशतसम्म बढेको छ । यससँगै, होलीको समयमा (२४ घण्टा) को अवधिमा साढे २ सय मेगावाटसम्म बिजुली भारत बेचिएको छ ।

काबेली करिडोरमा हालको जडित क्षमता २ सय मेगावाट छ । यो करिडोरबाट औसतमा १० प्रतिशतसम्मको उत्पादन आइरहेको थियो । मौसममा आएको बदलीसँगै पूर्वी क्षेत्रमा अत्यधिक पानी पर्दा उत्पादन क्षमता ४० प्रतिशत पुगेको घोस बताउँछन् । उनका अनुसार पानी पर्न थालेपछि यो करिडोरबाट ९० मेगावाटसम्म उत्पादन भएको छ ।

यस्तै १४० मेगावाटका आयोजना जडान भएको सोलु करिडोरबाट ४० मेगावाटसम्म बिजुली उत्पादन भएको छ । यसबाहेक, सुख्खायाममा ६० मेगावाटमा झरेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको उत्पादन क्षमता ८० मेगावाट पुगेको छ । यता बागमतीमा आधारित आयोजनाको क्षमता समेत औसतमा ४० प्रतिशतभन्दा धेरैले बढेको छ ।

पूर्वी क्षेत्रका सबैजसो आयोजनाको क्षमता बढेको समयमा दुई दिन सार्वजनिक बिदा पर्दा अधिकांश कार्यालय बन्द भयो । जसबाट आन्तरिक खपत घट्दा भारत बिजुली बेचेको प्राधिकरण बताउँछ । यसबाहेकको समयमा प्राधिकरणले भारतबाट साढे ६०० मेगावाटभन्दा बढी बिजुली ल्याइरहेको स्थिति छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप