शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

बुढानीलकण्ठ स्कुलको प्रचार गरेपछि शिक्षामन्त्रीको आलोचना

बिहीबार, १५ चैत २०८०, ११ : २६
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले बुढानीलकण्ठ स्कुलको छात्रवृत्ति कार्यक्रमबारे भिडियो सार्वजनिक गरेकी छन् ।

भिडियोमा उनले जेहेन्दार बालबालिकाहरूलाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत आवासीय रूपमा निःशुल्क वा सहुलियत शुल्कमा बुढानीलकण्ठ स्कुलमा पढ्न चैत्र २९ गते परीक्षा सञ्चालन गर्न लागिएको बताएकी छन् । उक्त जानकारी सबै माझ पुर्‍याइदिन समेत उनले अनुरोध गरेकी छन् ।

उनले भिडियोमा भनेकी छन्, ‘...आज मैले एकदम एक्साइटिङ न्युज ल्याएर आएकी छु । तपाईंहरू सबै जनालाई भन्नै पर्ने छ । मेरो आग्रह छ अनुरोध छ, सबै नेपालीमा पुर्याइदिनुहोला है । बुढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रम अन्तर्गत छात्रवृत्ति परीक्षा सम्बन्धी सूचना छ ।...यो लक्षित वर्गसम्म नपुग्न सक्छ । तपाईंहरू सबैले भनिदिनुहोला...।’

यसरी एउटा विद्यालयमा मात्रै छात्रवृत्ति कार्यक्रमको भिडियो बनाएको मन्त्री श्रेष्ठको आलोचना भएको हो । शिक्षामन्त्रीले विज्ञापन पढिराख्नुपर्छ र भन्दै प्रश्न गरेका एक ट्वीटर प्रयोगकर्ताले लेखेका छन्, ‘शिक्षामन्त्रीले विज्ञापन पढिरहनुपर्छ र भन्या ? त्यो पनि के के न ठुलै प्रगति गरे जसरी ? यतिन्जेल सुमना सुमना भन्दै चिच्याउने लन्ठूहरूले अब त केही बुझे कि बुझेनन् ?’

अर्का प्रयोगकर्ताले देशभरिको शिक्षा सुधार्नुस्, देशैभरको शिक्षा बुढानिलकण्ड जस्तै बनाउन सुरुवात गर्नुहोस्, यो चैँ चटक भएको बताएका छन् । रूपनारायण श्रेष्ठ लेख्छन्, ‘हामीले ४ देखि ५ लाख विद्यार्थीलाई प्रत्येक वर्ष उत्कृष्ट शैक्षिक वातावरणमा भित्र्याउनु छ । हाम्रो शिक्षामन्त्री ज्यु जिल्लाको १ जनालाई बुढानीलकण्ठमा पढाउने भनेर प्रचारबाजीमा हुनुहुन्छ । यति हल्का विषयले आजको जिम्मेवारी पुरा हुन्छ मन्त्री ज्यु ? सरकारले त सबै विद्यालयलाई समान अवसरको बारेमा बोल्नुपर्ने होला नि । नत्र मन्त्री र स्कुलको प्रिन्सिपलमा के फरक ? गम्भीर हुनुहोस् ।’

बुढानिलकण्ड स्कूलले खुला तथा आरक्षणमा ४२ जना विद्यार्थीलाई छात्रवृत्ति दिन लागेको छ । जसमा ५० प्रतिशत छात्रा रहनेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप