शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

हाम्रो नेपाली पार्टीका अध्यक्षको आरोप– हाम्रो सांसद अपहरण गरियो

बिहीबार, १५ चैत २०८०, १५ : ४५
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । बागमती प्रदेशमा सत्ता गठबन्धनलाई बहुमतका लागि एक सांसदको समर्थन नपुगेकै समयमा हाम्रो नेपाली पार्टीले सत्ता पक्षबाट आफ्नो सांसद अपहरण गरिएको आशङ्का व्यक्त गरेको छ ।

प्रदेश सभामा हाम्रो नेपाली पार्टीका दुई सांसद छन् । सो पार्टीका अध्यक्ष अनन्तराज घिमिरेले बिहीबार बागमती प्रदेशको राजनीतिक अवस्था र पार्टीको भूमिकालाई लिएर आफ्नो पार्टीका सांसदसँग छलफल गर्ने कार्यक्रम रहेको तर छलफलअघि नै पार्टीका प्रदेशसभा सदस्य शैलेन्द्रमान बज्राचार्य सम्पर्कविहीन भएको बताए ।

सत्ता पक्षले आफ्नो पार्टीका सांसद बज्राचार्यलाई अपहरण गरेको उनको आशङ्का छ । बहुमत पुर्‍याउन आफ्ना सांसदलाई यसरी लुकाइएको हुन सक्ने उनले बताए ।

अध्यक्ष घिमिरेका अनुसार बिहीबार नै मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बज्राचार्यलाई मन्त्री नियुक्त गरी शपथ गराउने कार्यक्रम रहेको सूचना प्राप्त भएको छ । यद्यपि यसबारे पार्टीभित्र कुनै छलफल नभएको र पार्टीले सहमति प्रदान नगरेको पनि उनको भनाइ छ ।

‘हाम्रो पार्टीले सरकारको नेतृत्व गरेरै जाने भन्ने बटमलाइन हो,’ उनले भने, ‘त्यसबाहेक अरु निर्णय पार्टीले गरेको छैन ।’

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हाम्रो नेपाली पार्टीका प्रदेशसभा सदस्य बज्राचार्य आफ्नो सम्पर्कमा रहेको र उनले नै सरकारमा जान इच्छा व्यक्त गरेपछि आफूले प्रक्रिया अघि बढाएको जानकारी दिएका छन् ।

उनले रातोपाटीसँग भने, ‘उहाँ (बज्राचार्य)ले सरकारमा सामेल हुने कुरा गर्नुभयो । सरकारमा सामेल हुन्छु भनेपछि हाम्रोतर्फबाट प्रक्रिया अघि बढाइएको हो । यसमा को तयार हुनुहुन्छ, को हुनुहुन्न भन्ने कुरा मलाई जानकारी भएन ।’

बाहिर कसले के भन्छ भन्नेबारे आफूलाई जानकारी नहुने भन्दै उनले बागमती प्रदेशसभामा प्रतिनिधित्व गर्ने पार्टीको आधिकारिक व्यक्तिले नै प्रस्ताव गरेपछि सरकारमा सहभागी गराउनु स्वाभाविक प्रक्रिया रहेको प्रस्ट पारे ।

उनले बज्राचार्यलाई समेटेर बिहीबार नै सरकार विस्तार गर्ने र साँझ शपथ गराइने पनि जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप