शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
टी-२० क्रिकेट

रोमाञ्चक खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २१ रनले हरायो

शुक्रबार, १६ चैत २०८०, १६ : ३५
शुक्रबार, १६ चैत २०८०

काठमाडौँ । नेपाल भ्रमणमा रहेको आयरल्यान्ड ‘ए’ ले शुक्रबार खेलिएको पहिलो टी–२० क्रिकेटमा घरेलु टोली नेपाल ‘ए’ माथि २१ रनको रोमाञ्चक जित हासिल गरेको छ । लोकेश बम र आरिफ शेखवाहेक अन्य ब्याट्सम्यान चल्न नसक्दा जितको अन्यन्तै नजिक पुगेर पनि नेपाली टोलीले लक्ष्य चुम्न सकेन ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी ब्याटिङको निम्तो पाएको आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय २२ रन बनाएको थियो । विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपाली टोलीले भने १९.३ ओभरमा अलआउट हुनुअघि दुई सय एक रनमात्र बनाउन सक्यो ।

नेपालका लागि ओपनर लोकेश बमले उत्कृष्ट शतकीय पाली खेले । उनले टोलीको जितमा एक सय ६ रनको योगदान गरे । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका लोकेशले यसका क्रममा ५६ बलको सामना गरी आठ छक्का र नौ चौका हिर्काएका थिए ।

त्यसअघि उनले केवल ५२ बलमा आफ्नो शतक पुरा गरेका थिए । त्यसक्रममा उनले आठ छक्का र आठ चौका हिर्काएका थिए । लोकेश बम र पाँचौँ नम्बरका ब्याट्सम्यान आरिफ शेखले टोलीका लागि एक सय २१ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

नेपालले ६८ रनको कुल स्कोरमा आफ्नो तेस्रो विकेट गुमाएको थियो । त्यसपछि लोकेश र आरिफले टोलीको स्कोरलाई एक सय ८९ रनको बलियो स्थितिसम्म डो¥याएका थिए । लोकेश १६औँ ओभरको अन्तिम बलमा र आरिफ १८औँ ओभरको दोस्रो बलमा आउट भएका थिए ।

आरिफ शेख केवल एक रनका कारण अर्धशतक पुरा गर्नबाट चुके । उनले टोलीको खातामा ४९ रन थपे । आरिफ शेखले केवल २६ बलको सामना गरी पाँच छक्का र एक चौका प्रहार गरे । लोकेश र आरिफ आउट भएपछि अन्य ब्याट्सम्यानले आफ्नो जिम्मेवारी पुरा गर्न सकेनन् ।

लोकेश र आरिफ आउट भएपछि किरण ठगुन्ना दुई र बसिर अहमद तीन रनमै आउट भएका थिए । रासिद खान, कमलसिंह ऐरी र हेमन्त धामीले त खातासम्म खोल्न सकेनन् । सागर ढकाल एक रनमा अविजित रहे ।

त्यसअघि कप्तानसमेत रहेका ओपनर विनोद भण्डारी भने १६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । विनोदले पेभेलियन फर्किनुअघि १४ बलमा एक छक्का र दुई चौका पनि हिर्काएका थिए । देव खनाल भने शून्य रनमै पेभेलियन फर्किए । चौथो नम्बरमा क्रिज समाल्न आएका अर्जुन घर्ती पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् ।

नेपाली टोलीले अतिरिक्त रुपमा पनि २१ रन पाएको थियो । आयरल्यान्डका बलर फियोन ह्यान्ड र म्याथ्यू हमफ्रेयसले तीन–तीन विकेट लिए । म्याथ्यू फोष्टरले पनि दुई विकेट हात पारेका थिए । थोमस मायस र गाभिन होएले पनि एक–एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ का लागि ओपनर ब्याट्सम्यान पिटर मुरले सर्वाधिक ४९ रन बनाएका थिए । उनले केवल ३२ बलको सामना गरी तीन छक्का र चार चौका पनि प्रहार गरेका थिए । केड कार्मिकल र कप्तान निल रकले पनि टोलीका लागि ३८–३८ रनको योगदान गरेका थिए । कार्मिकलले २९ बलमा एक छक्का र चार चौका तथा निल रकले २३ बलमा तीन छक्का र एक चौका प्रहार गरेका थिए ।

यसैगरी स्टिफन डोहेनीले पनि टोलीको खातामा ३४ रन थपेका थिए । उनले केवल १६ बलमा दुई छक्का र चार चौका हिर्काएका थिए । गारेथ डेलानी ३० रनमा अविजित रहे । उनले १४ बलमा तीन छक्का र दुई चौका प्रहार गरे । गाभिन होएले पनि अविजित १८ रन जोडे ।

आयरल्यान्ड ‘ए’ ले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । नेपाली टोलीका बलर कमलसिंह ऐरीले तीन विकेट लिए । उनले चार ओभरमा ३९ रन खर्चिए । सागर ढकाल र आरिफ शेखले पनि एक–एक विकेट हात पारेका थिए । जितसँगै आयरल्यान्ड ‘ए’ ले तीन टी–२० खेलको शृंखलामा १–० को अग्रता लिएको छ । दोस्रो खेल शनिबार खेलिने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप