शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गृह जिल्लामै ओलीको निर्देशन पालना भएन, सहमतिको नाममा निर्वाचन कार्यतालिका सारियो

शुक्रबार, १६ चैत २०८०, १६ : ४९
शुक्रबार, १६ चैत २०८०

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला एमालेमा नयाँ नेतृत्व छनौटको विषयमा विवाद देखिएको छ । अध्यक्ष ओलीले एमाले झापाका अहिलेका कार्यबाहक अध्यक्ष प्रेम गिरीलाई नै अगाडि सारेपछि विवाद सिर्जना भएको हो ।

 अहिलेका सचिव शिव ढुङ्गेलले आफू अध्यक्ष बन्ने दाबी गरिरहेका छन् । सहमति नभएको खण्डमा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनु पर्ने उनको भनाइ छ । 

दुवै जनाबिच सहमति हुन नसकेको कारण आजका लागि तोकिएको उम्मेदवार मनोनयनको कार्यतालिका प्रभावित भएको छ । निर्वाचन समितिले आज दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र साढे ३ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ताको समयावधि तोकेको थियो । तर, सहमतिको आधारमा मात्रै उम्मेदवारी दरखास्त फारम दर्ता गर्ने अध्यक्ष ओलीकै चाहना बमोजिम आजको लागि उक्त प्रक्रिया रद्द गरिएको हो । 

निर्वाचन समितिले शनिबार बिहान ९ बजेदेखि उम्मेदवारी दर्ताको समयावधि तोकिएको जनाइएको छ । नेतृत्वले सर्वसम्मत ढङ्गले पार्टी समिति घोषणा गरेको भन्ने विषयमा आफूलाई थाहा नभएको ढुङ्गेलले बताए । ‘म पनि अध्यक्षको उम्मेदवार हुँ । प्रतिस्पर्धाको लागि तयार भएर बसेको छु,’ ढुङ्गेलले भने । 

यसअघि झापा जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष केपी ओलीले बिहीबार नेतृत्व सर्वसम्मत चयन गर्न आग्रह गरेका थिए भने गिरीको नेतृत्वमा उपाध्यक्षमा असारु राजवंशी र सचिवमा तुलसी कार्कीको नामै लिएका थिए । 

तर, दुई आकांक्षीबीच सहमति जुट्न नसकेपछि निर्वाचन हुने अवस्थामा पुगेको एमालेका जिल्ला नेताहरूको भनाइ छ । प्रमुख निर्वाचन अधिकृत टंकप्रसाद दंगालले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार १८ गते बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदान हुने उल्लेख थियो । एमाले झापाको अधिवेशनमा ८ सय ३२ जना प्रतिनिधिहरू सहभागी छन् । 

WhatsApp Image 2024-03-29 at 15.08.08

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप