गृह जिल्लामै ओलीको निर्देशन पालना भएन, सहमतिको नाममा निर्वाचन कार्यतालिका सारियो
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला एमालेमा नयाँ नेतृत्व छनौटको विषयमा विवाद देखिएको छ । अध्यक्ष ओलीले एमाले झापाका अहिलेका कार्यबाहक अध्यक्ष प्रेम गिरीलाई नै अगाडि सारेपछि विवाद सिर्जना भएको हो ।
अहिलेका सचिव शिव ढुङ्गेलले आफू अध्यक्ष बन्ने दाबी गरिरहेका छन् । सहमति नभएको खण्डमा निर्वाचनमा प्रतिस्पर्धा गर्न पाउनु पर्ने उनको भनाइ छ ।
दुवै जनाबिच सहमति हुन नसकेको कारण आजका लागि तोकिएको उम्मेदवार मनोनयनको कार्यतालिका प्रभावित भएको छ । निर्वाचन समितिले आज दिउँसो २ बजेदेखि ३ बजेसम्मका लागि उम्मेदवारको दरखास्त फारम वितरण गर्ने र साढे ३ बजेदेखि बेलुका ७ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ताको समयावधि तोकेको थियो । तर, सहमतिको आधारमा मात्रै उम्मेदवारी दरखास्त फारम दर्ता गर्ने अध्यक्ष ओलीकै चाहना बमोजिम आजको लागि उक्त प्रक्रिया रद्द गरिएको हो ।
निर्वाचन समितिले शनिबार बिहान ९ बजेदेखि उम्मेदवारी दर्ताको समयावधि तोकिएको जनाइएको छ । नेतृत्वले सर्वसम्मत ढङ्गले पार्टी समिति घोषणा गरेको भन्ने विषयमा आफूलाई थाहा नभएको ढुङ्गेलले बताए । ‘म पनि अध्यक्षको उम्मेदवार हुँ । प्रतिस्पर्धाको लागि तयार भएर बसेको छु,’ ढुङ्गेलले भने ।
यसअघि झापा जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष केपी ओलीले बिहीबार नेतृत्व सर्वसम्मत चयन गर्न आग्रह गरेका थिए भने गिरीको नेतृत्वमा उपाध्यक्षमा असारु राजवंशी र सचिवमा तुलसी कार्कीको नामै लिएका थिए ।
तर, दुई आकांक्षीबीच सहमति जुट्न नसकेपछि निर्वाचन हुने अवस्थामा पुगेको एमालेका जिल्ला नेताहरूको भनाइ छ । प्रमुख निर्वाचन अधिकृत टंकप्रसाद दंगालले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार १८ गते बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदान हुने उल्लेख थियो । एमाले झापाको अधिवेशनमा ८ सय ३२ जना प्रतिनिधिहरू सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण