मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सत्ता राजनीति

बागमतीका मुख्यमन्त्रीलाई सत्ता टिकाउन सकस : हाम्रो नेपाली पार्टीलाई भित्र्याएपनि थपियो चुनौती

अहिलेकै अवस्थामा विश्वासको मत दिँदैनौँ : मन्त्री डा. श्रेष्ठ
आइतबार, १८ चैत २०८०, १६ : १४
आइतबार, १८ चैत २०८०

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफू नेतृत्वको सरकार टिकाउन हाम्रो नेपाली पार्टीलाई सत्ता साझेदार बनाए पनि राजनीतिक चुनौती कायमै देखिएको छ ।

सोमबारका लागि संसदबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्रीमाथि राजनीतिक खतरा देखिएको हो । सत्ता समीकरण अनुसार बहुमतमा रहेका उनी गठबन्धन दलकै मत नपाउने खतरा सामना गर्दैछन् ।

सरकार टिकाउन सत्ता साझेदार दलहरूसहित मन्त्रिपरिषद् विस्तार गरिरहेका मुख्यमन्त्री जम्कट्टेलका सामु गठबन्धन दलबाटै चुनौती हुने देखिन्छ ।

मुख्यमन्त्री जम्कट्टेलले गत बिहीबार हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री नियुक्त गरेका थिए भने शनिबार सत्ता साझेदार दल एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलियालाई सरकारमा सहभागी गराए । ती दुई दल सरकारमा गएसँगै अङ्कगणितमा मुख्यमन्त्री जम्कट्टेल बलियो देखिएका छन् । तर, व्यावहारिक पक्ष भने त्यसको विपरीत देखिन्छ ।

बागमतीमा सरकारको निरन्तरताका लागि कम्तीमा ५६ सांसदको समर्थन चाहिन्छ । अहिले सत्ता गठबन्धन अङ्कगणितको हिसाबले बलियो देखिए पनि सत्ता साझेदार सबैले विश्वासको मत दिने विश्वासिलो आधार देखिएको छैन ।

एकातर्फ हाम्रो नेपाली पार्टीभित्र सरकारमा सहभागितालाई लिएर विवाद उत्कर्षमा पुगेको छ भने अर्कोतर्फ प्रदेश सरकारको नेतृत्वमा गठबन्धनभित्र एकीकृत समाजवादीको अडान कायमै छ । जसका कारण मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव पारित होला भन्नेमा आशङ्का बढेको हो ।

एकीकृत समाजवादीले प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्दै अहिलेका मुख्यमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा निर्णय नगरेको बताउँदै आएको छ । मन्त्रिमण्डल विस्तार तथा विश्वासको मत लिने मुख्यमन्त्री जम्कट्टेलको स्वतन्त्र अधिकार रहेकाले सो विषयमा आफूहरुले दबाब दिन नमिल्ने तर मुख्यमन्त्रीलाई विश्वासको मत दिनै पर्छ भन्ने बाध्यता नरहेको एकीकृत समाजवादीको भनाइ छ ।

त्यसो त गत बिहीबार सत्ता साझेदार दलहरूले जारी गरेको ५ बुँदे सम्झौता पत्रमा उक्त दलले पनि हस्ताक्षर गरेको छ । एकीकृत समाजवादीका तर्फबाट प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले हस्ताक्षर गरेका थिए । सो हस्ताक्षरपछि मन्त्री डा. श्रेष्ठलाई पार्टीले काठमाडौँ बोलाएको थियो । पार्टीका शीर्ष नेताहरूका माझमा डा. श्रेष्ठले दलको नेताको स्वीकृति बेगर सो सम्झौता गरेकोप्रति गल्ती महसुस गरी क्षमायाचना गरेका थिए । उक्त हस्ताक्षरको विषयमा मन्त्री डा. श्रेष्ठले मुख्यमन्त्री जम्कट्टेललाई समेत विश्वासको मतसँग सम्बन्धित नरहने स्पष्ट पारेका थिए ।

यता नेपाली कांग्रेसले मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । कांग्रेस बागमती प्रदेश समितिले आफ्नो कित्ता क्लियर गरेर मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न निर्देशन समेत जारी गरेको छ भने राप्रपा र नेमकिपा पनि सरकारलाई विश्वासको मत दिने पक्षमा छैनन् ।

११० सदस्यीय बागमती प्रदेशसभामा सत्तारुढ दलहरू माओवादी केन्द्रका २१, एमालेका २७, एकीकृत समाजवादीका ७, हाम्रो नेपाली पार्टीका २ सांसद छन् भने विपक्षी दलमध्ये कांग्रेस ३७, राप्रपा १३ (सभामुख सहित) र नेमकिपाका ३ सांसद छन् ।

अहिलेकै अवस्थामा विश्वासको मत दिँदैनौँ : मन्त्री डा. श्रेष्ठ

मन्त्री डा. श्रेष्ठका अनुसार वर्तमान अवस्थामै प्रदेश मुख्यमन्त्री जम्कट्टेललाई नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने छैन । पार्टीको संसदीय दलको बैठकमा अहिलेको स्थितिलाई मध्यनजर गर्दै मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा रहने अवस्था नरहेको उनले स्पष्ट पारे ।

मन्त्री डा. श्रेष्ठले प्रदेश सरकारको व्यवहार, गठबन्धन घटक दलप्रतिको धारणामा गम्भीर छलफल नभएसम्म विश्वासको मत दिन नहुने सांसदहरूको धारणा रहेको बताए । राजनीतिक भागबण्डा, पावर सेयरिङ्ग लगायतका विषयमा सरकारको ठोस निष्कर्ष नआएसम्म अघि बढ्न सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

विगतको व्यवहार, हैसियत र दलको पोजिसनका बारेमा छलफल गरेरमात्र विश्वासको मतबारे सोच बनाउने कुरा संसदीय दलको बैठकमा उठेको मन्त्री डा. श्रेष्ठले बताए ।

प्रदेश सरकारको नेतृत्व दाबी गरिरहेको सत्ता साझेदार दललाई कम आकलन गरेर सरकार अघि बढिरहेको र केन्द्रमा सरकारको नेतृत्वको विषयमा निर्णय नभएकाले विश्वासको मत सम्बन्धमा अघि बढ्न नसक्ने उनले बताए । राजनीतिक रुपमा सरकारबाट ठोस सहमतिको प्रस्ताव आएमा फरक ढङ्गबाट अघि बढ्न सक्ने उनको भनाइ छ ।

विश्वासको मत पाउँछु : मुख्यमन्त्री जम्कट्टेल

सत्ता गठबन्धनबाट विश्वासको मत पाउनेमा आफू विश्वस्त रहेको मुख्यमन्त्री जम्कट्टेलले बताए । रातोपाटीसँगको कुराकानीमा मुख्मयन्त्री जम्कट्टेलले सत्ता समीकरणमा रहेका दलहरूको बहुमत रहेको र सोही आधारमा आफूले विश्वासको मत पाउने बताए ।

सत्ता गठबन्धन दलभित्र निरन्तर छलफल भइरहेको र दलहरूसँगको सम्वादमा अन्तिम अवस्थामा सहमति जुट्ने उनले बताए । फरकफरक अवधारणामा दलहरूले काम गरिरहेकाले केही विषयमा विमति रहनु स्वाभाविक रहेको उनको भनाइ छ ।

दलहरूको माग र असमझदारीलाई सम्बोधन गर्न कार्यदल निर्माण गरी अघि बढेको मुख्यमन्त्री जम्कट्टेलको भनाइ छ । विगतमा दलहरू बिच भएका सहमति कार्यान्वयन गर्ने र सहमति जुट्न नसकेका विषयमा निरन्तर छलफल गरेर अघि बढ्ने तयारी रहेको उनले बताए ।

सरकार र समीकरणका विषयमा दलहरू बिचको माग, असझदारी र असन्तुष्टि समाधान हुने उनको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप