मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

‘नाटकीय परिवर्तन’ नभए जम्कट्टेललाई विश्वासको मत नदिने एकीकृत समाजवादीको निर्णय

आइतबार, १८ चैत २०८०, १६ : ४०
आइतबार, १८ चैत २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीले ‘नाटकीय परिवर्तन’ नभए सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । एकीकृत समाजवादी पार्टीको आइतबार बसेको बैठकले ‘नाटकीय परिवर्तन’ नभएको खण्डमा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

संसदीय दलको बैठकमा पार्टी र पार्टीले उठाएका विषयहरू माथि छलफल भएको र सो विषयमा सरकारले सोमबार दिउँसोसम्म नाटकीय ढंगको परिवर्तन भए मात्र विश्वासको मत दिने सांसदहरूको भनाइ थियो । नाटकीय परिवर्तन के हो भन्ने विषयमा एकीकृत समाजवादीले खुलाएको छैन ।

वर्तमान राजनीतिक अवस्थामा मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतको पक्षमा मतदान गर्न सक्ने अवस्था नरहेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । वर्तमान गठबन्धन राजनीतिक समीकरण भन्दा सत्ता प्राप्तिका लागि समीकरण भएको उनले बताए । सत्ता समीकरणमा दलहरू बिच सौहार्द अवस्था नरहेको र गठबन्धन घटक दलहरूबिच समान व्यवहार नभएको उनको भनाइ छ ।

बदलिएको राजनीतिक स्थितिमा मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा रहन सक्ने अवस्था नरहेको उनले बताए । प्रदेश सरकारको व्यवहार, गठबन्धन घटक दल प्रतिको धारणामा गम्भीर छलफल हुन आवश्यक रहेको उनको भनाइ छ । सो विषयमा उचित निर्णय नआएसम्म मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउने अवस्था नरहेको उनले बताए ।

राजनीतिक भागबन्डा, पावर सेयरिङ्ग लगायतका विषयमा समान हकसम्बन्धी सरकारले ठोस निष्कर्ष नआएसम्म अघि बढ्न सक्ने अवस्था नरहेको प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठले बताए । विगतको व्यवहार, हैसियत र दलको पोजिशनका बारेमा छलफल गरेर मात्र विश्वासको मत बारेमा सोच बनाउने संसदीय दलको बैठकमा विषयहरू उठान भएको उनले बताए ।

‘प्रदेश सरकारको नेतृत्व दाबी गरिरहेको सत्ता साझेदार दललाई कम आकलन गरेर सरकार अघि बढिरहेको र केन्द्रमा सरकारको नेतृत्वको विषयमा निर्णय नभएकाले विश्वासको मत सम्बन्धमा अघि बढ्न सकिँदैन । राजनीतिक रूपमा सरकारबाट ठोस सहमतिको प्रस्ताव आएमा भने फरक ढङ्गबाट अघि बढ्न सक्ने तयारी रहेको छ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप