बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

चैत्र २४ गतेदेखि जीतपुर सिमरा गोल्डकप

आइतबार, १८ चैत २०८०, २२ : १४
आइतबार, १८ चैत २०८०

बारा । मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिता जीतपुर सिमरा गोल्ड कपको १४ औँ संस्करण चैत्र २४ गतेदेखि सुरु हुने भएको छ । आज आयोजक नव जनजागृति युवा क्लबले पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बारे जानकारी गराएको हो ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठद्वारा उद्घाटन हुने प्रतियोगितामा यसपटक ए डिभिजनका ५ सहित १० टिमले सहभागी हुने जनाइएको छ । आयोजकका अनुसार प्रतियोगितामा साविक विजेता चर्च ब्वाईज युनाइटेड, मच्छिन्द्र फुटबल क्लब, फ्रेण्ड्स क्लब, विभागीय त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, मोफसलका वीरगन्ज युनाइटेड क्लब, रिगल रिसोर्ट एन्फा मकवानपुर, सलहेश युवा क्लब सिराहा र आयोजक सहभागी हुनेछन् ।

गत वर्ष जस्तै फ्लड लाइटमुनि हुने प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद प्राप्त गर्नेछन् । वैशाख ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल वा स्कुटर प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिएका छन् ।

प्रतियोगितामा यसपटक विधागत पुरस्कारतर्फ उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ताको पुरस्कार मात्रै दिइने भएको छ । एन्फाको सुझाव अनुसार विधागत पुरस्कार कटौती गरिएको बताउँदै अध्यक्ष लामाले विधागततर्फ उत्कृष्ट भएका खेलाडीले २५ हजार नगद पाउने जानकारी दिए । प्रतियोगिताको उदयीमान खेलाडीले १५ हजार नगद हात पार्नेछन् भने प्लेयर अफ दि म्याचले १० हजार नगद पाउनेछन् । प्लेयर अफ दि म्याचको पुरस्कार शुभारम्भ कलेजले प्रायोजन गर्ने भएको छ ।

जीतपुर सिमरा उपमहानगरपालिकाको मुख्य सहयोग र जगदम्बा स्टिल्स् प्रालिको मुख्य प्रायोजनमा हुने प्रतियोगितालाई नेपोभिट टायल्स, हुलास स्टील्स्, सूर्य नेपाल, यती एयरलाइन्स, सगरमाथा इन्स्योरेन्स, युआर अटोमेटिक लण्ड्री, एलएस न्युरो, स्टार अस्पताल, सुसप्त मेडिकल, बोटलर्स नेपाल, होटल तथा पर्यटन व्यवसायी संघले सहयोग गर्नेछन् ।

यसैगरी राष्ट्रिय खेलकुद परिषद्, अखिल नेपाल फुटबल संघ, बारा जिल्ला फुटबल संघले प्रतियोगितालाई प्राविधिक सहयोग गर्ने महासचिव शम्भुसिंह ठकुरीले जानकारी दिए । एक करोड तीन लाख अनुमानित बजेट रहेको प्रतियोगिता खेल हेर्न आउने विद्यार्थीलाई टिकटमा ५० प्रतिशत छुट र अपांगता तथा ७० वर्षमाथिका बृद्धबद्धालाई निःशुल्क प्रवेश गराइने महासचिव ठकुरीले पत्रकार सम्मेलनमा जानकारी दिए । अघिल्लो वर्षजस्तै यस वर्ष पनि सिमरा रङ्गशालामा फुड स्टल रहने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप