मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

कोशीमा नयाँ सरकार गठनबारे चार ठुला दल चारतिर

केदार कार्की नेतृत्वको सरकार विस्थापित गर्न कांग्रेसकै नेताहरूलाई हतार !
मङ्गलबार, २० चैत २०८०, १२ : ००
मङ्गलबार, २० चैत २०८०

विराटनगर । कोशी प्रदेशको वर्तमान सरकारबारे राप्रपाबाहेकका चार ठुला दलको  चार थरी कुराले अन्यौलता बढेको छ । संविधानको धारा १६८ को उपधारा (५) अनुसार बनेको केदार कार्की नेतृत्वको सरकार ढाल्न पनि नसक्ने र टिकाउन पनि नसक्ने दोधारे अवस्थामा दलहरू छन् । उनीहरूको मनोविज्ञान यो सरकार विस्थापित गरेर अर्को सरकार बनाइहालौँ भन्ने देखिन्छ । तर, त्यसको लागि आफ्नो पोल्टामा के पर्ने हो ? भन्ने लेखाजोखामा दलहरू रहेका छन् । 

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसकै नेताहरू वर्तमान सरकारलाई छिटोभन्दा छिटो विस्थापित गर्ने अभियानमा लागिरहेका छन् । कांग्रेस नेता तथा प्रदेशसभा सांसद अमृत अर्यालले केही दिन अगाडि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेरै नयाँ सरकार छिटो बनाउनु पर्ने बताएका थिए । 

काङ्ग्रेसकै कोशी प्रदेशका महामन्त्री तथा प्रदेशसभा सांसद भूपेन्द्र राईले पनि सहमतिको सरकार बनाउने परिस्थिति निर्माण भए विकल्प सोच्न सकिने आशयका अभिव्यक्ति दिएका छन् । ‘यो सरकार अल्पमतमा परिसकेपछि के कसरी जाने भन्ने कुरामा कांग्रेस सोच्न बाध्य हुन्छ । तर, अहिले त्यो परिस्थिति बनेको छैन । यो सरकार प्रति कांग्रेस सन्तुष्ट छैन । नागरिकले र हामीले चाहेजस्तो काम सरकारले गर्न सकेको देखिएको छैन,’उनले भने, ‘यही सरकारलाई सर्वदलीय बनाएर जान पनि सकिन्छ । अर्को कोणबाट पनि छलफल गर्न सकिन्छ । तर, कुनै एउटा दलले, एउटा सांसदले अर्घेल्याई गरेर सङ्कटमा पार्ने छुट पनि छैन र सङ्कटमा पार्नु पनि सक्दैन ।’

उता, नेकपा एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले एक महिनाभित्रै यो सरकार विस्थापित हुने बताएका छन् । तर, त्यसका लागि केन्द्रको निर्णय कुर्नु परेको उनको भनाइ छ । ‘नेपाली कांग्रेस आफूलाई प्रजातन्त्र र संसदीय व्यवस्थाको जननी ठान्छ । अहिलेको परिस्थितिमा कुनै पनि बेला पार्लियामेन्ट आव्हान भयो भने विपक्षमा ५८ सांसद र सत्ता पक्षमा २९ हुन्छ । राप्रपा पनि विपक्षमै होला । अनि २९ जनाएका तिर बसेर त्यसले वैधानिकता पाउँछ ? त्यसले संविधानवादलाई आत्मसाथ गर्छ ?,’ कार्कीले भने, ‘उहाँले (केदार कार्कीले) राजीनामा दिनुपर्छ । उहाँपनि राजनीतिक रूपले अगाडि बढ्न सक्ने मान्छे हो । काँग्रेस त झन् इतिहास संविधान र कानुन पालना गर्ने पार्टी हो । उहाँले राजीनामा दिनुपर्छ ।’

  • केदार कार्की नेतृत्वको सरकार एक महिनाभित्र विस्थापित हुन्छ – हिक्मतकुमार कार्की
  • यो सरकारप्रति कांग्रेस सन्तुष्ट छैन । नागरिकले र हामीले चाहेजस्तो काम सरकारले गर्न सकेको देखिएको छैन –भूपेन्द्र राई 
  • उपधारा ५ मा एमालेले पुर्‍याएको हो । यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्छ– इन्द्रबहादुर आङ्बो
  • केदार कार्की नेतृत्वको सरकारले नै आगामी बजेट ल्याउन पनि सक्छ – राजेन्द्र राई

उता, केन्द्रीय गठबन्धनकै एक घटक माओवादी केन्द्रका नेता इन्द्रबहादुर आङ्बो भने अहिले नै सरकार विस्थापित गर्नुपर्ने हतारो नभएको बताउँछन् । ‘हाम्रो प्रदेशको अरु प्रदेश भन्दा फरक स्थिति छ । हामी अहिले उपधारा ५ को सरकारमा छौँ । यो उपधारा ५ मा कसले पुर्‍याएको हो ? यो त एमालेले पुर्‍याएको हो नि ?माओवादीलाई सरकारको नेतृत्वमा हुन नदिनका लागि यो अवस्था एमालेले पुर्‍याएको हो । यसको वस्तुनिष्ठ समीक्षा हुनुपर्छ,’ उनले एमालेले चालेका विगतका कदम सम्झाउँदै भने, ‘अर्को कुरा यो सरकारलाई विस्थापित गरेर नयाँ सरकार बनाउने संवैधानिक र कानुनी आधार के हुन् ? यो विषयमा दलहरूका साथै संविधानविद् र कानुनका जानकारहरूसँग छलफल हुनुपर्छ । त्यसपछि कसरी अगाडि बढ्ने भन्ने निष्कर्ष निकाल्न सकिन्छ । अहिले उत्ताउलो र उटपट्याङ तरिकाले सरकारको विपक्षमा र माओवादीसहित गठबन्धन दलहरू सरकारबाट फिर्ता हुनुपर्छ भनिरहेको अवस्था छ । यो अधैर्यता हो र यसले राजनीतिक निष्कर्ष निस्कँदैन ।’

केन्द्रीय सत्ता गठबन्धनकै घटक नेकपा एकीकृत समाजवादी भने यही सरकारले बजेट ल्याउन सक्ने जिकिर पनि गर्छन् । सत्ताकै लागि अहिलेको गठबन्धन भएको कारण सत्तामा आफूहरूले पाउने भागबन्डाबारे पनि स्पष्ट हुनुपर्ने उनको अडान छ । ‘यो गठबन्धन सत्ता पाउनै लागिभएको हो । सत्ताको भागबन्डा नमिलेसम्म नयाँ सरकार बन्दैन । उपधारा ५ बाट बनेको सरकारले विश्वासको मत लिने व्यवस्था नै छैन,’उनले भने, ‘नेताले निर्देशन गरे भने हामी त्यसको विपक्षमा विद्रोह गरेर केदार कार्कीले जस्तो गर्दैनौँ । तर, माथि सहमति भइगयो अब लु लु हतार हतार गरौँ भनेर चाहिँ हुँदैन । अबको बजेटलाई चालू आर्थिक वर्षको बजेट जस्तो बनाउनु हुँदैन । त्यसो गर्‍यो भने सत्ता एउटा कुरा होला समग्र प्रदेशलाई चाहिँ घाटा हुन्छ । त्यसकारण यही सरकारले नयाँ बजेट ल्याउन पनि सक्छ ।’

प्रदेशमा रहेका चार दलका चार थरी कुराले प्रदेशको राजनीति भने अन्योल छ । सरकार परिवर्तनको हल्लाले प्रभावकारी काम नभइरहेको सरकारी अधिकारीहरू नै बताउँछन् । ‘कर्मचारीले काम नै गर्न छोडिसके । कति दिनको मन्त्री हुने हो टुङ्गो छैन । यस्तो अस्थिरताले प्रदेशको विकास कसरी हुन्छ,’ प्रदेशकै एक मन्त्रीले भने, ‘यस्तो अवस्था रहिरहनु प्रदेशको लागि घाटा हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप